आज मूलुक सङ्कटमय अवस्थामा छ । मुलुक परिवर्तनका लागि नेपालीले आजीवन संघर्ष गरिरहनु परेको छ । चाहे त्यो प्रजातन्त्र प्राप्ती (२००७ साल)का लागि वा प्रजातन्त्र पुनः प्राप्ती (२०४६)का लागि वा गणतन्त्र प्राप्ती (२०६२ साल)का लागि होस् । विशेषगरी आवधिक रुपमा भएका उक्त आन्दोलनहरुबाट प्राप्त उपलब्धि जनताकै लागि थिए । कुनै न कुनै रुपमा जनताले शक्ति प्राप्त गरेका थिए । तर, माथि उल्लेखित पहिलो र दोस्रो अवधिका आन्दोलनका उपलब्धिलाई हामीले लामो समयसम्म जोगाउन सकेनौं । जोगाउन नसक्नुको कारकतत्वको तारो हामीले जहिले पनि राजसंस्थालाई नै बनायौं । यसपछि तेस्रो आवधिक कालमा प्राप्त भएको गणतन्त्र जोगाउनका लागि पनि प्रत्यक्ष वा परोक्ष रुपमा हामी राजसंस्थालाई नै एउटा अंशका रुपमा इंगित गरिरहेका छौं । यसको अर्थ गणतन्त्र पनि सङ्कटमा नै परेको हो ? आजको मूलभूत प्रश्न हो ।
२०१७ सालमा राजाबाट ‘कु’ गरियो भनियो । २०१५ सालको संविधानको धज्जी उडाइयो । फलतः २००७ सालको क्रान्तिको उपलब्धि तुहेर गयो । झण्डै ३० वर्ष लाग्यो, २०१९ सालको संविधानलाई विस्थापित गरी २०४७ मा पुन संवैधानिक राजतन्त्रसहितको संविधान लागू गर्न । २०४६ सालको उपलब्धिमा पनि राजाले ‘कु’ गर्ने जमर्को गरे भनेर २०६२÷०६३ मा जनआन्दोलन भयो । आन्दोलनमा जनताले नै साथ दिए । २५० वर्षदेखिको राजतन्त्र नै समाप्त गरियो । २०६३ मा अन्तरिम संविधान लागू भयो । त्यसपछि २०७२ सालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट नेपालको संविधान लागू भयो । तर, पनि अबको बाटो के भन्ने ? तथ्यमा नै आएर आजको राजनीतिक शक्ति वा प्रणाली अल्मलिएको अवस्था छ । सत्ताको लागि छिनाझिम्टी भनौ वा लुछाचुडी भइराखेको छ ।
हामी विकासमा राजनीति गर्दछौं । शिक्षामा, कार्यपालिकामा, व्यवस्थापिकामा, न्यायपालिकामा साथै स्वतन्त्र र निष्पक्ष निकायहरुमा समेत राजनीति गर्दछौं । परिणाम मानमर्दनको त कुरै छाडौ, उस्तै परे एकले अर्काको धोती फुस्काइ दिने प्रयास पनि गर्दछौं । जनतातमासे भएका छन् । लाजले शिर निहु¥याइरहेका छन् । फलतः आज आएर गणतन्त्र माथि नै प्रश्न उठन थालेको छ । प्रश्न किन उठ्यो ? हामी कहाँ चुक्यौ ? यसतर्फ पटक–पटक राज्यशक्तिमा रहेका हामीले सोच बनाएका छैनौं । एकोहोरो रटान छ । राजासंस्था नै आजको पनि बाधक हो । भनिन्छ– राजावादीहरु मुठ्ठीभर छन् । हुनेवाला केही छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । त्यसो त हिजो राणाले पनि यही भने । पञ्चायती युगमा पनि । त्यस्तै माओवादी जनयुद्धका कार्यकालमा पनि । साथै २०६२÷०६३ को आन्दोलमा पनि यही भनियोे । आन्दोलनका शुरुवाती चरणहरु सानो स्वरुपमा नै हुन्छन् । गति लिँदै गएपछि आकार पनि लिँदै जान्छन् । यो परम्परा नेपालमा मात्र होइन । विश्वमा जति पनि क्रान्ति भएका छन् । शुरुमा तिनीहरुको स्वरुप सानै अंशबाट भएको पाइन्छ । हो कतिपय आन्दोलनको आकार र स्वरुप राम्रै भए तापनि देशकाल परिस्थितका कारणले गति लिन सक्दैनन् । बीचमै तुहिनन्छन् । त्यो अर्कै पाटो हो । तर, आन्दोलन भन्ना साथै यो केही होइन भनेर आंकलन गरी हाल्नु चाहिँ अलिक मुर्खता हुन्छ । यस अवस्थामा सम्बन्धित पक्षले विवेक पु¥याउनुपर्छ ।
आजको दिनमा नेपालको शासन प्रणाली सञ्चालनको रुपरेखाले गर्दा जनतामा वितृष्णा जागेको अवस्था छ । यसको जिम्मेवार पक्ष भनेको राज्यशक्ति हाँक्ने राजनीतिक नेतृत्व हुन् । यसैगरी स्थायी सरकारको रुपमा रहेको नोकरशाही वा व्यूरोक्रेसी हुन् । उनीहरुको बीचमा राज्य सञ्चालनका लागि आवश्यक पर्ने आचरण माथि नै प्रश्न उठने गरेको छ । जहाँ आचरणको प्रश्न उठछ । त्यहाँ भ्रष्टाचारको गन्ध आउँछ । आजको मुख्य जड वा जनता प्रताडित भएको पक्ष भनेको निष्पक्षताको अभाव, भ्रष्टाचारको दलदल, विभिन्न प्रकृतिका अपराधिक घटनाहरु, रोजगारीको अभाव, युवा शक्ति विदेश पलायन हुनु हो । आज संसारकै शासन प्रणालीमा जति पनि दुष्कर्म र अपराधहरु भएका छन् । यसका पछाडिको मुख्य कारण भनेको सत्ताधारीमा हुने लोभ हो । ‘लोभः पापस्य कारणम्’ सम्पूर्ण पाप कर्मको कारकतत्व भनेकै लोभ हो । जहाँ लोभ हुन्छ त्यहाँ भ्रष्टाचार हुन्छ । लोभले नै भ्रष्टाचारी बनाउँछ । आज लोभानी पापानी नै एउटा मुख्य जराकोे स्वरुपमा जुन गतिमा फैलिएको छ । त्यसलाई निर्मूल गर्न सितिमिति आँट कसैले पनि नगरे हुन्छ । प्रयास गरी हाल्यो भने एक्लो बृहस्पति झुटो हुन सक्छ ।
भनिन्छ– ‘अशान्तस्य कुतः सुखम्’ जो व्यक्ति लोभी हुन्छ त्योे व्यक्तिको झुकाव इष्र्यालु हुन्छ । सुख तथा दुःख दुबै अवस्थामा ऊ विचलित हुन्छ । विचलित हुन भनेको ऊ सदा अशान्त हुनु हो । अतः जो व्यक्ति अशान्त हुन्छ । उसले अरुको इष्र्या र डाहा मात्र गर्दछ । सम्पूर्ण दृष्टिले ऊ अपवित्र एवम् अशुद्ध पनि हुन्छ । त्यस्तो व्यक्ति स्वयम्ले सुख पाउँदैन । यो सत्य पनि हो । तर, पनि ऊ विश्वास गर्दैन । ऊ दृष्टिविहीन हुन्छ । अन्धबेगमा हुन्छ । उसले कसैलाई देख्दैन र गन्दैन । उसमा माया–मोह पनि हुँदैन । केबलसाम, दान, दण्ड र भेद जुनसुकै नीति अपनाएर भए पनि लुटन पाए भयो । आज काम, क्रोध र मोह तथा लोभका कारणले मानिस धनको लोभ, पदको लोभ, मान–मर्यादाको लोभ, इज्जत र प्रतिष्ठाको लोभ, सुखी जीवनको लोभ गर्दछ । सुख प्राप्तीका लागि सारा विश्व नै विषयोन्मुख भएको छ । त्यही विषयोन्मुखका कारणले नै विश्वका धेरै राष्ट्रले वैज्ञानिक उन्नति गरेका छन् । तर, हामी भने विषयान्तर हुन सकेका छैनौं । तरm यी कुरा सबै अवस्थामा सहजै प्राप्त नहुन सक्छ । हामी प्रयास पनि गर्दैनौं । बरु हामी जस्तोसुकै दुष्कर्म गर्न पनि पछाडि पर्दैनौं ।
असल चरित्रवान व्यक्तिहरु जहिले र जुनसुकै अवस्थामा पनि राष्ट्रका गहना हुन् सक्छन् । जसले मुलुकको शासन पद्धति विधि–विधानका आधारमा सञ्चालन गर्दछन् । देशकाल परिस्थिति अनुकूल सुहाउँदो पात्रको चयन गर्दछन् । यस अवस्थामा मात्र मुलुकले असल चरित्र भएका व्यक्तिहरु पाउन सक्छ । अन्यथा असल चरित्र भएका पात्र ओझलमा पर्ने र दुष्कर्म गर्ने व्यक्तिहरु मात्र अग्रपंक्तिमा आउन सक्छन् । दुष्चरित्र भएका व्यक्ति राष्ट्रका लागि अभिशाप बन्न पुग्छन् । यसको प्रमुख कारण भनेको व्यक्ति स्वार्थ परक हुन्छ । जब व्यक्ति स्वार्थ परक हुन्छ । त्यसपछि ऊ आफूमा मात्र आत्मकेन्द्रित हुन्छ । आत्मकेन्द्रित हुनु भनेको अहंकार (आफूमात्र ठीक अरु सबै बेठिक), घमण्ड, क्रोध आदि जस्ता बस्तुबाट अभिप्रेरित हुनु हो । सत्तासिन व्यक्तिहरु अहंकारी भए भने मुलुकमा बारम्बार विद्रोह जन्मिरहन्छ । मानिसले आफू शोषित–पीडित भएको महशुस गरेमा ऊ स्वभावत विद्रोही हुन्छ । पीडा दिने व्यक्ति क्षणिक रुपमा आनन्ददायी देखिए तापनि अन्ततः ऊ एकदिन दुःखदायी बन्न पुग्दछ । यसका ज्वलन्त उदाहरण भनेका विश्वका अनेकौं मुलुुकमा उच्च राजनीतिक वा प्रशासनिक व्यक्ति न्यायको कठघरमा उभिएका घटनाबाट लिन सकिन्छ ।
हाम्रो मुलुकमा पनि अन्य मुलुकका जनता जस्तै अनेकौं व्यक्ति शहीद भएका छन् । ती शहीदहरु चाहे राणाकालमा होस वा पञ्चायती कालमा वा यसपछि भएका प्रजातान्त्रिक आन्दोलनका कालमा होस् । तर, विडम्वना हाम्रो इतिहासमा आजसम्म शहीद जन्माउने पीडक प्रशस्त छन् । तर, आजसम्म कुनै पनि व्यक्तिले न्यायको कठघरमा उभिनु परेको छैन । तर, समयकाल परिस्थिति सधैँ एकै रहँदैन । बुढेसकालमा कतै कालकोठरीमा बस्ने दिन आउँदैन भनेर पनि नसोचौं । कालकोठरीमा पु¥याउने प्रेरकतत्व भनेको जब मानिसमा स्वार्थ बढ्छ । लोभको मात्रा पनि बढ्दै जान्छ । उसका सबै इच्छा र आकांक्षहरु पूरा नहुन सक्छन् । यस अवस्थामा ऊ असन्तुष्ट र रिसाह हुन सक्छ । आखिरीमा रीस खा आफू बुद्धि खा अर्को । हानी त उसैलाइ गर्छ । उसलाई मात्र होइन समाज र राष्ट्रलाई नै दुष्प्रभावमा पार्दछ ।
आज पनि राजा र रैती कुरा हामीबीचमा उठ्ने गरेका छन् । राजाले त जनताको नासो भनेर श्रीपेज नै बुझाइसकेका छन् । हामीले चाहिँ त्यो वस्तुलाई समेटन सकेउ कि सकेनौं । त्यसतर्फ हेरौं । सुध्रिने अवसर होला । सुध्रिनतर्फ लागौं । न कि राजालाई धारे हात देखाएर हामी पानी माथिको ओभानो बन्न नखोजौं । अन्यथा एकदिन जनताले हामीलाई दुत्कार्ने छन् । राज्य शक्तिमा रही सकेका हामीलाई राज्य शक्तिदेखि अलग रहन सामान्यतयाः कठिन नै हुन्छ । तर, राज्य शक्तिमा रहिरहनका लागि हामीमा साधना हुनुपर्छ । साधना भनेको असल चरित्र निर्माण गर्ने हो । लोभानी पापानीबाट मुक्त हुने हो । भ्रष्टाचारमुक्त हुने हो । निष्पक्षतापूर्वक कार्य गर्ने हो । संकुचित दृष्टिकोण त्याग्ने हो । दृष्टिकोण फराकिलो बनाउने हो । पार्टीभन्दा माथि उठ्ने हो । देश पार्टीभन्दा माथि हुन्छ । देश छ र त म छु भन्ने भावना आउनुपर्छ । यस प्रकार विचार र विवेचना गर्दै जाँदा धेरै कुरा आउन सक्छन् । म देशको लागि केही गर्छु भन्ने अठोटका साथ अघि बढ्नु पर्छ ।
एउटा दृष्टान्त पनि हेरौं । मेरा ‘बा’ सँग ००७ साल, ०१७ साल, ०३६ साल, ०४६ साल, ०६२ सालसम्म विभिन्न कालखण्डमा भएका आन्दोनका अनुभव मात्र होइन, आला घाउ पनि थिए । म सँग पनि ००७ साल बाहेक यसपछिका घटनाका अनुभव ताजै छन् । मेरा छोराछोरीमा ०४६ सालदेखि पछिका घटना ताजै भएर रहेका छन् । ‘बा’ को चौथो पुस्ता मेरा नाति–नातिनाले फेरि कुन कालखण्डमा कुन घटनाको अनुभव गर्नुपर्ने हो ? भन्ने शंका अझै पनि लाग्छ । यसैले लेखको शुरुमा देश आज पनि सङ्कटमय अवस्थामा छ भनेर उल्लेख गरिएको छ । यसको कारण भनेको आज पनि हाम्रा क्षितिजमा काला बादल मडारी रहेका छन् । कारण हामी लोभ र स्वार्थमा फसेका छौं । लोभले नै हामीलाई दुष्चक्रतर्फ डो¥याइरहेको छ । फेरि हामी कतै कुनै शक्तिको चक्रव्यूहमा त फस्ने होइनौं । चक्रब्यूहमा प्रवेश गर्न जान्ने, तर निस्कने कलाको अभावमा अभिमन्यूकै हालत त हाम्रो हुँदैन ।
प्रशिद्ध धार्मिक ग्रन्थ गीतामा भनिएको छ– ‘उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् । आत्मैव हयात्मनो बन्धु रात्मैव रिपुरात्मन ।’ (गीता ६÷५) अर्थात् आफ्नो उद्धार आफै गर । आफूलाई कहिल्यै पनि अधोगतितर्फ नलैजाऊ । तिम्रो मित्र पनि तिमी आफै होऊ । तिमीभित्रै खोज । अनि शत्रू पनि तिमी आफै होऊ । अझ स्पष्ट रुपमा भन्नुपर्दा अब पनि हामीहरु सत्तामा बसेर जिम्मेवारीको दुरुपयोग गर्ने । व्यक्तिगत फाइदाको लागि अनैतिक वा गैरकानूनी कार्य गर्ने । सेवाको दुरुपयोग, ठगी, कमिशन, नातावादमा मात्र सीमित हुने हो भने हामीभित्रै रहेको शत्रूको उदय हुन सक्छ । त्यसैगरी सत्तालिप्सा हुँदै काखा र पाखा गर्दै, आफ्नै आसेपासे, कामदार, आफन्त, हुक्केचिलिमेलाई मात्र सम्बोधन गरिरहने, भष्टचारमा चुर्लुम्म डुब्दैरहने अनि म नै सर्वश्रेष्ठ, मेरो दल नै सर्वश्रैष्ठ हो भन्दै अहंकारी भइरहने हो भने हाम्रो अधोगमन वा पतन निश्चित छ । यदि आमजनमानससँग सम्बन्धित विषयवस्तुलाई अब पनि सम्बोधन नगर्ने हो भने माथि गीतामा उल्लेख गरे झैं हाम्रा शत्रू पनि हामीभित्रै भएकाले शत्रू खोज्न अन्यत्र गइरहनु पर्दैन । मुलक आज कुशासनमा फसेको छ । कानून र नीति–नियमको धज्जी उडाइएको अवस्था छ ।
लामो समयदेखि निरन्तर सत्तामा बसेर नेतृत्व कब्जामा लिने र गठबन्धनाका नाममा भागवण्डा मात्र गरिरहने, आफ्ना आसेपासे, हुक्केचिलिमेमा पनि विशेष धुपौरे वा गणेश प्रवृत्तिलाई मात्र मुलुक सञ्चालका मुख्य मार्गमा स्थापित गराइरहने हो भने आजको राजनीतिक प्रणाली माथि नै प्रश्न उठ्न सक्छ । सरकार पनि अकर्मण्यताको परिणामले आलोचित भइरहने छ । यस अवस्थामा लाचार छायाँको रुपमा स्थापित सरकार माथि विश्वास गुम्दै जाने छ । अधोगतिको यो क्रममा कार्यपालिका, न्यापालिका र व्यवस्थापिकाले आफ्नो आयु आफै निर्धारण गर्ने छन् । हाम्रो कामना भनेको आफ्नो आयु आफै अन्त्य नहोस् भन्ने हो । अन्यथा हाम्रो विकासमा अवरोध आउन सक्छ । हामीबीचमा आर्थिक असमानताका रुपरेखा तयार हुन्छन् । जनताले पाउनुपर्ने सेवामा प्रभाव पर्छ । फलस्वरुप जनताको राज्यप्रति अविश्वास बढ्दछ । यस अवस्थामा भीरबाट खस्दै गरेको वस्तुलाई जनताले राम राम मात्र भन्ने छन् । चेतना भया ।