सर्प वातावरण, पारिस्थितिकीय प्रणाली र खाद्य सृंखलाको एउटा महत्वपूर्ण हिस्सा हो । अन्नबालीमा लाग्ने मुसा, किरा–फट्याङ्ग्रा जस्ता हानिकारक जीवको शिकार गरेर सर्पले किसानहरुलाई पनि सहयोग नै गरेको हुन्छ । कतिपय जीवहरु सर्प खाएर बाँचेका हुन्छन् । मुसाबाट सर्ने प्लेग लगायतका रोगका कारण भनिएको मुसा खाएर आफ्नो पेट पाल्ने र मानिसलाई रोग लाग्न रोक्ने सर्प सधैँ शत्रुजीव होइन । हाम्रो वातावरणमा रहेका प्रत्येक जीवजन्तु एकअर्कामा निर्भर छन् । ती जीवजन्तु वर्गमै पर्ने मानिसको पनि पर्यावरणका दृष्टिले महत्वपूर्ण भूमिका रहन्छ । त्यसो त मानिसको अस्तित्व अन्य थुप्रै जीवजन्तुमा निहीत छ, त्यसैले सबैको उपस्थिति र अस्तित्वलाई सुरक्षित राख्न जरुरी छ ।
मानिस र सर्पका बीच यसकारण पनि सहअस्तित्व जरुरी छ कि यो मानिसको बसोबास भएको ठाउँमै हुन्छ । जसले गर्दा सर्प र मानिसका बीच अन्तरक्रिया भइरहन्छ । अझ वैदिक सनातन हिन्दू धर्ममा सर्पलाई ईश्वरकै अंशका रुपमा पूजा गर्ने चलन पनि छ । त्यसैले सर्पलाई नकारात्मक असर पर्ने किसिमका काम गर्नु बुद्धिमानी हुँदैन । बरु घर आँगनमा भेटिएका सर्पलाई उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नु बुद्धिमानी हुन्छ । यसो गर्न सकिए जीव हत्याको दोषबाट पनि मुक्त भइन्छ र कानूनी तथ्य पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण हुन्छ । समाजमा व्याप्त सर्प सम्बन्धी अन्धविश्वास गतल धारणा बदल्न आवश्यक छ । त्यसका लागि विद्यार्थीदेखि आममानिसमा सचेतना प्रवाह गर्नुपर्छ । यसका साथै सर्पले डस्यो भने गर्नुपर्ने प्राथमिक उपचार र सम्पूर्ण उपचारका लागि सर्पदंश केन्द्रसम्म पु¥याउने कार्यमा समाज र राज्यले सहयोग गर्नुपर्छ ।
नेपालका सन्दर्भमा सर्पदंश ठूलो स्वास्थ्य समस्याका रुपमा रहेको छ । हाम्रो भूगोलको गरम प्रदेश अर्थात् तराई र भित्री मधेशमा सर्पदंशको अवस्था अझैं भयावह छ । त्यसमा पनि गर्मीको मौसममा बाहिर निस्कने सर्पले बैशाखदेखि असोजसम्म डस्ने जोखिम उच्च रहन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा बर्सेनि सर्पदंशबाट बीस हजार जना पीडित हुन्छन् भने एक हजार जनाको सर्पदंशकै कारण मृत्यु हुने गरेको छ । तर, समयमै उपचार सकिए त्यसको विषबाट मुक्त गरी परिवार र समाजमा स्थापित गर्न सकिन्छ । नेपालमा भेटिने मध्ये झण्डै अस्सी प्रतिशत विषालु नभएको अध्ययनले देखाएका छन् । तर, सर्पले डस्दा त्यसको पहिचान नहुने कारणले तत्काल प्राथमिक उपचार गरी सर्पदंश केन्द्रसम्म बिरामीलाई लैजानु पर्दछ । उपचार केन्द्रमा अस्पतालमा मात्रै यसको उपचार हुने कारणले कतिपय पीडितलाई अज्ञानता र सेवाको पहुँच नहुँदा ज्यान गुमाउनु परेको छ । यस्ता बिरामीलाई दिइने एन्टी स्केन भेनमको उत्पादन नहुने कारणले भारतकै भर पर्नु परेको छ । यस्तोमा वातावरण र पारिस्थितिक प्रणालीको सहायक सर्पको संरक्षण साथ सचेतना, सुविधा र औषधि निर्माणमा राज्यको ध्यान जानु पर्दछ ।