इजरायललाई हान्यो इरानले थप्पड

0
25

यही जुन १३ देखि इजरायल र इरानबीच युद्ध शुरु भएको छ । युद्ध शुरु गर्ने इजरायल हो । इजरायललाई लाग्यो इरान सैन्य मामलामा मध्यपूर्वका अरु देश जस्तै कमजोर होला भनेर । इरानले इजरायलको भन्दा उन्नत किसिमको हाइपरसोनिक मिसाइल बनाइसकेको इजरायललाई पत्तै भएन । इजरायलको आइरन डोमले एक झलक देख्न नपाई इरानको हाइपरसोनिक मिसाइल इजरायलको राजधानी तेलअभिभ र पोर्ट सिटि हाईफामा खसेर बिनाश मच्चाएर मात्तिएको इजरायललाई इरानले दह«ो थप्पड हानेको छ ।

मध्यपूर्वमा शान्त दिनहरू छैनन् । त्यहाँ सशस्त्र संघर्ष सधैँको उपस्थिति भई आएको छ । त्यसमाथि यस पटकको युद्धले ठूलै रुप लिने निश्चित देखिएको छ । किनकि उनीहरु एकले अर्कोलाई तह लगाएरै छाड्ने ध्याउन्नमा छन् । इजरायलले आफ्नो प्रमुख भू–राजनीतिक प्रतिस्पर्धी र सम्भावित भविष्यको आणविक शक्ति हुने ठानेको इरानसँग भिड्दैछ । यी दुई देशले अप्रिल २०२४ देखि नै प्रत्यक्ष आक्रमणहरु साटासाट गरेका थिए । त्यसअघिका दशकहरुदेखि उनीहरुले मुख्यतयाः खुफिया अपरेशन्स, साइबर आक्रमण र क्षेत्रीय प्रतिनिधिहरूको समर्थन मार्फत छायाँ युद्ध लडिरहेकै थिए । यसपालि भने इजरायलले नै पहिला प्रत्यक्ष आक्रमण ग¥यो । इजरायललाई लाग्यो कि, इरान यतिले नै चुप लाग्ला तर इजरायलको अनुमानभन्दा कयौँ गुणा बढी क्षमताले इरानले इजरायलबिरुद्ध मिसाइलले प्रत्याक्रमण गरिदियो ।

वासिङ्टन पोष्टलाई उदृत गर्दै भारतीय एक युटुव सञ्चारमाध्यमले जनाएको छ कि इजरायलमा इरानी मिसाइलहरु रोक्ने इन्टरसेप्टरहरु सकिँदै गएको इजरायल आफैको अध्ययन रहेको जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार इजरायलमा इरानले लगातार मिसाइल आक्रमण गरिरहेको छ र भारी विनाश भइरहेको जनाएको छ । जसले गर्दा इजरायल स्तब्ध भएको छ र सहयोगका लागि अमेरिकालाई गुहारिरहेको छ ।

यो युद्ध शुरु हुनुभन्दा अघिसम्म इजरायल एक अपराजेय देश थियो । ऊ सँग उन्नत प्रविधिका युद्धक उपकरण थिए । आक्रमण र प्रतिरक्षाका लागि विश्वकै उन्नत प्रणाली भएको साबित पनि गरेको थियो । उसका मिसाइलहरु कुनै शहर केहीदिनमै ध्वस्त पार्ने क्षमताका छन् । इजरायलतर्फ आउने मिसाइलहरुलाई आकाशमै पुगेर ध्वस्त पार्ने आइरन डोम प्रणाली छ । विश्वकै कुशल खुफिया संयन्त्र पनि छ । अमेरिका जस्तो विश्वकै सैन्य शक्ति देशको सहयोग पाइआएकै छ । त्यसैले इजरायल आकारमा सानो देश भए पनि अहिलेसम्म पराजित भएको छैन ।

आफ्नो अपराजेय यात्राको मातले इजरायल निकै मात्तिएको थियो । उसले इरानले कस्तो हतियार विकास गरिरहेको छ भनेर सोच्ने फुर्सदै निकालेको थिएन । इरानलाई उसले पत्याउँदै पत्याएको थिएन । यही अति आत्मविश्वास नै इजरायलका लागि घातक भएको छ । किनकि इरानले यस्तो मिसाइ हान्यो कि इजरायलको सामरिक र रणनीतिक केन्द्रहरु ध्वस्त भएको छ । ठूलो भौतिक क्षति भएको छ । यत्रो चोट यसअघि खाएकै थिएन । इजरायल एक प्रकारले रनथनिएर होस गुमाइरहेको छ ।

रोचक युद्ध । यो युद्ध युक्रेन र रुसबीचको युद्ध जस्तो होइन । किनकि इजरायल र इरानबीच सीमाना जोडिँदैन । यी देश हजारौं किलोमिटर टाढा रहेका छन् र बीचमा अरु देशहरु रहेका छन् । त्यसैले यो युद्ध एकअर्काका सैनिकहरु युद्धका सामग्रीसँगै सत्रुदेशमा छिरेर आमनेसामने गरिने परम्परागत युद्ध होइन । यहाँ तोपहरु पड्किदैनन् । ट्यांकहरुले गोलाबारुद हान्दैनन् र ग्रिनेडहरु प्रयोग हुदैनन् । मल्टिपल रकेट लन्चर प्रयोगमा आउँदैनन् । यतिसम्म कि बन्दुहरु पनि पड्कदैनन् । एकप्रकारले यो युद्ध अनौठो लाग्दो छ । दुबै देशले अर्को देशको आकाश माथिबाट आ–आफ्ना युद्धक बिमान र मिसाइलहरुले प्रहार गरिरहेका छन् ।

अनुमानले त इजरायलले नै युद्ध जित्छ जस्तो देखिन्छ किनकि इजरायलले वायुसेना अर्थात् युद्धक विमान प्रयोग गरिरहेको छ, तर इरानले गर्न सकेको छैन । तर, इजरायली जीत चाँडो र सजिलो भने पक्कै हुने छैन । किनकि इरानले हाइपरसोनिक मिसाइलले आक्रमण गरेर इजरायललाई अस्तव्यस्त पारिदिएको छ । अर्कोतिर युद्ध लम्बियो भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बिरुद्ध घरेलु राजनीतिमा गाह्रो हुनेछ । अहिले नै स्वदेश तथा विदेशबाट आलोचनाको सामना गर्नु परिरहेको छ ।

इरानले युद्धको शुरुवातमा बढी लिए जस्तो देखिए पनि पछिल्ला दिनहरुमा कमजोर हुँदै जाने सम्भावना छ । किनकि इरानले युद्धक फाइटर जेटहरु प्रयोग गर्न पाइरहेको छैन । लामो दूरीका कारण इन्धन सकिएर इरानी फाइटर जेटहरु इजरायल पुगेर फर्कन सक्दैनन् । इजरायलले भने इराकमा फाइटर जेट उतारेर इन्धन थपेर इरानमा आक्रमण गरेर उसैगरी फर्किरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसैले हाइपरसोनिक मिसाइलको भरमा मात्र इरानले यो युद्ध जित्न हम्मे–हम्मे पर्नेछ । अर्कोतिर इरानको परमाणु केन्द्रहरु नष्ट पारिन सक्छन् । जसका कारण आणविक रेडिएशन फैलिएर इरानमा अर्को विपद् निम्तिन सक्छ ।

यदि इरानले युद्ध हा¥यो भने ऊ पनि धेरै समयसम्म उठ्न सक्ने छैन । इरानले ठूलो भौतिक र आर्थिक क्षति व्यहोर्नु पर्नेछ साथै आफ्नो हात तलपर्ने गरी सम्झौता गर्नुपर्ने हुनसक्छ । इरानले पहिल्यै धेरै कमजोरी गरिसकेकाले उसलाई इजारायलले हमला गर्ने दुस्साहस गरेको हो । इरानको कमजोर आर्थिक, प्रबिधि, खुफिया, रणनीति, दुरदर्शीता, राजनीति र कमजोर प्रतिरक्षा प्रणालीले गर्दा इरानले आजको कहर व्यहोर्नु परेको हो । इजरायल र अमेरिकालाई बुझ्न नसक्नु इरानको ठूलो कमजोरी रहेको देखिएको छ ।

तर, इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले मंगलबार मध्यरात इजरायलबिरुद्ध युद्धको घोषणा गरेका छन् । उनले एक्समा लेखेका छन्, युद्ध शुरु हुन्छ । हामी आतंकवादी इजरायललाई कडा जवाफ दिन्छौँ । उनीहरु बिरुद्ध हामी कुनै दया देखाउने छैनौं । इरानले किन यतिबिधि आँट गरिरहेको छ ? किनकि उसँग उन्नत प्रविधिका हाइपरसोनिक मिसाइलहरुको स्टक रहेको छ भनिन्छ । अर्कोतर्फ, इरानको समर्थनमा चीन र रुस देखिएका छन् ।

एक्काईस मुस्लिम देशहरु पनि इरानको समर्थनमा देखिएका छन्, तर पनि इरानको बचाउ गर्न सजिलो भने छैन । किनकि चीन र रुसले अमेरिकाले जस्तो जताततै सैन्य अखडाहरु तैनाथ गरेका छैनन् । इरानका लागि प्रत्यक्ष सैन्य संलग्नता जनाउन चीन र रुसलाई सजिलो छैन । तसर्थ इरानले सैन्यरुपमा आफ्नै बलबुतामा इजरायलसँग मिसाइल युद्ध लड्नु पर्नेछ, तर यो एक हप्तामा इरानले इजरायललाई जे–जति मिसाइल हान्यो यसलाई इजरायललाई इरानको गतिलो थप्पड मान्न सकिन्छ । किनकि इतिहासमा कसैले पनि इजरायललाई यो स्तरको थप्पड हान्न सकेको थिएन ।

कसरी रोकिएला त यो युद्ध ? प्रायशः युद्धमा हारजित हुन्छ नै तर इजरायल र इरानबीचको युद्धमा दुबै पक्ष गम्भीर घाइते हुने सम्भावना छ । कुनै एकपक्ष थाकेर आक्रमण गर्न नसक्ने हुन्छ तब मात्र युद्ध रोकिएला । अर्कोतर्फ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको संकट समाधान गर्ने दावी गरेका छन् । जी सेभेन सम्मेलनबाट फर्कने क्रममा, ट्रम्पले रिपोर्टरहरूसँग कुरा गरे अनुसार उनले इरानसँग कुरा गर्नका लागि दूतहरू पठाउने संकेत दिएका छन् । उनी केबल युद्धबिराम चाहँदैनन्, तर युद्धको वास्तविक अन्त खोज्ने कुरामा जोड दिएका छन् । उनले थप भने– अस्थायी शान्ति पर्याप्त छैन । केबल स्थायी समाधानले काम गर्नेछ ।

यो दृष्टिकोणले दीर्घकालीन स्थिरता सुनिश्चित गर्नेछ । तर, अहिले अमेरिकाको अवस्था शरमलाग्दो भएको छ । परमाणु हतियार बनाउँदिन भनेर इरानले अमेरिकासँग सम्झौता गर्नुपर्छ भनेर बाध्य पार्न खोजिएको थियो । इरानले अमेरिकालाई सुन्दै सुनेन । पछिल्लो अवस्थामा इरानलाई इजरायलसँग निःशर्त आत्मसमर्पण गर भनेर पनि अमेरिकाले डिक्टेट् ग¥यो । यसलाई पनि इरानले टेरेको छैन । तसर्थ ट्रम्प इरानमाथि हमला गर्न चाहन्छन्, तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानमाथिको हमलाले बिनाशकारी अवस्था ल्याउनेछ भनेका छन् । पुटिनको चेतावनीबाट ट्रम्प हच्किन सक्छन् । इरानको मनोबल बढ्न सक्छ । तसर्थ, युद्ध लम्बिन सक्छ र असर एशीयासम्म फैलन सक्छ । विश्व समुदायको चाहना यही हो कि, मानव कल्याणका लागि मध्यपूर्वमा शान्ति छाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here