अस्तायो हरि

0
22

ओई सुन त
के भयो ? भन न ।
नयाँ कुरा थाहापाइस् ?
के कुरा ? कौतुहुलताका साथ राधा दीपातिर हेर्छे ।
अनि त्यो हरि चिन्छेस नि ?
हरि शर्मा ?

हैन क्या । हामी लम्बे भन्दै बोलाउँथ्यौ नि ? राधा अझ प्रस्ट पार्न खोज्दै भन्छे ।
दीपा एकछिन टोलाउँदै सम्झे जसरी हो मा हो थप्छे–
अ… चिने । के त भन न राधा ।

पधेरो मा पानी भरिएपछि दीपा आफ्नो गाग्री अलि वर सार्छे अनि राधातिर हेर्दै भन्छे– यस्ता नबोल्नेले किन कुरा कोट्याउनु ?
राधा मुख निन्याउरो पार्दै मलिन स्वरमा भन्छे– लम्बे डाँडा घरको आपको बोटमा भेटियो रे ।
लौ के भन्छे यो ? बिहानै केही गतिलो कुरा त सुना न ।
दीपा अलिक सतर्क हुन भन्दै राधालाई भन्छे ।

हो क्या राति नै झुन्डिएछ । राधा विस्वस्त पार्दै उत्तर दिन्छे ।
आमुइ नि । लम्बे हरि अल्पायुमा नै के निर्णय लिएछ । बिचरा कति लगनशिल अनि दयालु थियो ।
त्यही त अब गाउँकै भलो चिताउने मुन्छे के भएर मर्या होला नि ?
खै हिँड जाउँ गाग्री घर पु¥याएर एकछिन त्यहाँ पुगेर आउँ ।

दुबै भरिएको गाग्री कम्मरमा राख्छन् अनि दाहिने हातले गाग्रीको मुख समाएर बिस्तारै उकालो लाग्छन् । उकालो लाग्दै गर्दा अम्बरेको घर अगाडि एकहुल मान्छे भेला भएको देखेर दुबै एकछिन अडिन्छन् अनि कुरा सुन्छन् । भेलामा खत्री बा भन्दै थिए– बिचरा हरि बाबु सबैको गाउँमा भलो चिताउने मान्छे । स्वास्थ्य, शिक्षा अनि समाजमा सधैँ प्रगति देख्न रमाउने मान्छे, सबैलाई जीवन बाच्न सिकाउने मान्छे आज आफै ब्रम्हलिन हुन पर्यो ।
अर्का सुबेदार बाजे खत्री बा बोलिसकेपछि भन्दै थिए– गाउँको सम्पन्न परिवारको छोरो, सामाजिक प्रतिष्ठा बोकेको मान्छे अनि धेरै संस्थामा आबद्ध भएका व्यक्तिको यस्तो अवस्था आउला मैले जीवनमा हरि बाबुले यस्तो गर्लान् भनेर कहिले सोचेको पनि थिइनँ ।

राधा र दीपा एकअर्काको अनुहार हेर्दै त्यहाँबाट निस्किऊ भन्ने आँखाले ईशारा गर्छन् अनि अघि बढ्छन् । अलिक अघि पुग्दा घिमिरेको मिलबाट दीपाको घर जाने दोबाटो आउँछ । म गाग्री राखी घरको थोरै काम सकाएर १५ मिनेटमा तेरा मा आउँछु है राधा –भन्दै घरतर्फ दीपा लम्कन्छे । राधा– म पनि अलिक मेसो मिलाउँछु अनि जाउला । भनी छुट्टिन्छे ।
दीपा राधाको घर आईपुग्छे अनि सँगै निस्किन्छन् हरिलाई हेर्न डाँडा तर्फ । परबाट हेर्दा अंगुरको झुप्पा जस्तै बाक्लो भिड देखिन्छ । उनीहरु बिस्तारै भिड पन्छाउँदै अघि पुग्छन् । होहल्ला अनि गाइँगुइँ धेरै छ । बीचमा भर्खरै हरिलाई तल झारेर सुताएको रहेछ । प्रहरीको निगरानीमा उसलाई तल झारिएको अर्की एक छिमेकीले राधालाई सुनाइन् ।
प्रहरीको वाकीटकीमा आवाज सुनियो– सूर्य साव के रहेछ घटना स्थलको अवस्था । सुसाइड नोट भेटियो ?

पाकेट छाम्दै गरेको वाकिटकी बोकेका प्रहरी वाकिटकिको एक बटन थिच्दै भन्दो भए– रोजर साब… अहिले केही नभेटिएको अवस्था छ साब ।
ओके…। वाकिटकिक अन्य के–के आवाज सुनिन थालियो बुझ्न सकिएन ।
लौ यो शवलाई पोस्टमार्टम गर्न सदरमुकाम पठाउने व्यवस्था गर केटा हो । –सूर्य सर हुकुम दिँदै भन्छन् ।
राधा के भएर यस्तो ग¥या होला नि यो लम्बे ले ?
दीपा हरिको सुकेको मुख आ… भएको हेर्दै राधासँग विलाप गर्दो भई ।

राधा नानी ए आयौ तिमी… खै बिहान बिर्खेले खेतमा गाई किल्लामा गाड्न ल्याउँदा देखेछ । नहुने दुःख पाइन सन्तनु भाउजुले । त्यही भिडमा उपस्थित राधा की गाउँकी दिदी मीरा सुनाउँदै थिइन् ।
सन्तनु भाउजु त्यही मुर्छा परेर अन्य आफन्तको सहारामा रुखको मुनि ओत लाएर प्राण त्याग्ने हरिको छेउमा बसिरहेकी थिइन् । उनलाई झन् कति पीडा भयो होला ? अल्पायुमा हरिको निधनले उनको प्राण माकुराको जालोमा अल्झिए झैं सिमित देखिन्थ्यो । उनीहरुका दुई भाइ छोरा जापानमा छन् । आउन समय लाग्ने नै भयो । एउटी छोरी काठमाडौंमा ऊ आउँदैछे भन्ने खबर पाइयो ।

छोराछोरीहरु उज्ज्वल भविष्यलाई विदेशिन हरिले आफ्नो धेरै पैसा खर्च गरेको थियो । तर, अन्तिममा उसलाई कसैले पानी खुवाउन पनि सकेनन् । उसको शव अब कति समयलाई राख्ने हो अन्योल छाएको छ । देशको भलो चिताउने असल हरिको यो अवस्था किन आयो विवादस्पद बनेको छ उसको मृत्यु ।

किन भयो ? के कारणले भयो ? यस्तो घटना सबै गाउँ नै शोकमा छ । हरि बाबुले कुनै न कुनै किसिमले गाउँमा सबैलाई सहयोग गर्ने गर्थे । सबैले भन्थे उनी जस्तो बुद्धिमान, साहसी, अतुलनीय र न्यायिक अन्य कोही पनि छैन । गाउँमा सबै अवाक परेर सोच्न बाध्य भएका छन् । आखिर हरि बाबुले यो निर्णय किन लिए भनेर !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here