नवराज पोखरेलको बारेमा भन्नुपर्दा नवशिला मुक्तक सङ्ग्रहको समीक्षा गरेको बेलामै मैले भनेको थिएँ । नवराज पोखरेल नवशिला नेपाली साहित्यको आकासमा एउटा गतिलो सम्भावना बोकेका व्यक्ति हुन् । उनको नेपाली साहित्य प्रतिको लगाव र झुकाव मात्र होइन । यो त उनको साहित्यप्रतिको आसक्ति र साहित्य भनेपछि मरिमेट्ने प्रवृत्तिले पनि प्रस्ट पार्दै ल्याएको यथार्थता हो । २०३६ साल साउन १७ बयरबन मोरङमा जन्मिएर हाल बेलबारी नगरपालिका वडा नं.२ नवदेव मार्ग लालभित्ति मोरङमा स्थायी बसोबास गर्दै आएका पोखरेलको हालसालै प्रकाशित शिलाजित दोस्रो मुक्तक सङ्ग्रह यसैको उपज पनि हो । यो उनको मोटामोटी छैटौं प्रकाशित कृति पनि हो । विभिन्न सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध र सम्बद्ध पोखरेल विभिन्न मान, सम्मान र परस्कारले सम्मानित तथा पुरस्कृत पनि भइसकेका छन् ।
मैले धेरै ठाउँमा भनेको छु । लेख्नु ठूलो कुरा होइन । लेखनलाई निरन्तरता दिनु चाहिँ ठूलो कुरा हो । जीवनमा जो पनि एक पटक कवि हुन उसलाई कसैले रोक्दैन । निरन्तरको कवि भइरहन भने बीचमा धेरै बाधा, व्यवधान र छेकबार आउँछन् । तिनलाई निरन्तर पन्छाउँदै आफूलाई अगाडि बढाउन सक्नु चाहिँ महत्वपूर्ण कुरा हो । हाम्रो जीवनमा कसले के भन्यो भन्दा पनि आफूले के गरियो ? भन्ने कुराले बढी महत्व राख्दछ । अक्षरको खेती गर्न गाह्रो छ । अक्षरको खेतीमा धेरै तिरबाट खडेरी लाग्न सक्छ । धेरै तिरबाट आएको राप, ताप, आँधी, बेहरी र घाम, पानी सहनु पर्दछ । यी र यस्ता कुराहरूलाई पचाएर अगाडि बढ्नुलाई मैले चानचुने कुरा ठान्ने गरेका छैन ।
म लेखक बन्छु भन्नेको लागि यो एउटा चुनौती पनि हो रहेछ । साहित्यिक यात्राको क्रममा मैले पनि धेरै कवि, लेखक ठानेका व्यक्तित्वहरू बीच बाटोमै छुटेको देखेको छु । त्यस्ता तिखा काँडारूपी बाध्यता र विवशतालाई पन्छाउँदै अघि बढिरहेको व्यक्तित्व नवराज पोखरेल नवशिलामा नेपाली साहित्यको एउटा पहाड बोकी हिँड्ने ऊर्जा छ । यसलाई मैले पनि मानेको छ । यो ऊर्जा र निरन्तरता उनमा सदैव रहिरहने छ । त्यही सम्झेर म अहिले पनि यी पंक्तिहरू लेखिरहेको छु ।
नवराज पोखरेल नवशिलाकृत उक्त शिलाजित मुक्तक सङ्ग्रहमा जम्माजम्मी चार सय ४४ वटा मुक्तकहरू सङ्ग्रहीत छन् । १३० भित्री पृष्ठमा फैलिएको उक्त शिलाजित मुक्तक सङ्ग्रहको प्रकाशक हामी र हाम्रो कृति समाज रहेको छ । संस्करण २०८१ चैत्र पहिलो, मूल्य रु. ३०० आवरण निर्जल प्रशान्त लेखकको रहेको छ । कृतिको सम्पूर्णतामा विस्तृत समालोचना त यो सानो लेखमा सम्भव छैन । यद्यपि कृतिको संक्षिप्त रूपमा भए पनि यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
त्यो भन्दा पहिले यस कृतिका बारेमा विभिन्न कवि, लेखक तथा विद्वान वर्गले आफ्ना विचारहरू राखेका छन् । ती विचारहरूलाई पनि यहाँ संक्षिप्त रूपमा भए पनि उल्लेख गर्नुलाई समिचिननै ठानिएको छ । शुभकामना शिर्षकको लेखमा कुलपति भूपाल राई लेख्छन् आफ्ना मुक्तक मार्फत् सामाजिक र राजनीतिक विकृति, विसङ्गति प्रति व्यङ्ग्य एवम् रोष प्रकट गर्न पनि उहाँ सफल देखिनुभएको छ । वास्तवमै उहाँका मुक्तक निक्कै सुन्दर, सरल र चोटिला छन् ।
त्यस्तैगरी शिलाजितको शक्ति देखेपछि शिर्षकको लेखमा अमृतप्रसाद आचार्य लेख्छन्– मुक्तककार पोखरेल समाज र राष्ट्रप्रति विषेश जिम्मेवार रहेका छन् । प्रेमलाई जीवनको अभिन्न अङ्ग मान्ने पोखरेलको ध्यान प्रेमेत्तर विषय वस्तुमा पनि यति गहिरोसँग जानु निश्चय नै गौरव गर्नुपर्ने विषय हो । त्यस्तै गरि ज्ञानुवाकर पौडेल आफ्नो नवराजको शिलाजितलाई चाखेर हेर्दा शिर्षकको लेखमा लेख्छन् अरूले सामान्य ठानेको दैनिकजसो घटित विभिन्न घटना र भेटिने सन्दर्भलाई टपक्क टिपेर मुक्तकको विषय बनाउन यिनलाई कठिन पर्दो रहेनछ । यो पनि यिनको खुबी हो । मुक्तक लेखनकै बहानामा जीवन र समाजबारे सोच्न र मनन गर्न अभ्यस्त नभई यस स्तरको मुक्तक लेख्न सकिन्न ।
त्यसैगरी मानव जीवनको चित्रण शिलाजित मुक्तक सङ्ग्रह शिर्षकको लेखमा बाबुराम पोखरेल लेख्छन्– यो पुस्तक एकताको प्रतीक,मातृशक्ति प्रतिको सम्मान र पारिवारिक मेलको धोतक हो । नवराजले आफ्नो जीवनको प्रतिविम्बनको रूपमा आफ्ना मुक्तकहरूलाई सङ्गालेर शिलाजितको रूपमा पाठक सामु ल्याएका छन् । त्यस्तै मैले भन्नुपर्ने शिर्षकको लेखमा लेखक स्वयम् लेख्छन् यस कृतिभित्र मैले पस्किएका शब्दहरू साँच्चै कठोर अनि कठिन अन्तरहृदयका चट्टानहरू पग्लिएर निस्किएका हुन् ।
त्यस्तै प्रकाशकीयमा मदन नेपाल लेख्छन्–समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति गतिलो झटारो हान्न उनी निक्कै सिपालु देखिएका छन् । अधिकांश मुक्तकहरू प्रेम भावमा लेखिएका भए पनि उनले आफ्ना सिर्जना मार्फत प्रेमका साथै आशावादी स्वर पनि सुसेलेका छन् । साहित्यलाई समाजको ऐना मानिन्छ । सायद समाजकै कुरालाई यसमा प्रस्तुत गरिने भएकोले नै यसो भनिएको हुनुपर्छ । साहित्यकार पनि समाजकै एउटा चेतनशील प्राणी भएकोले उसले समाजमा घट्ने घटना र परिघटनालाई नै आफ्नो सिर्जनाको विषय वस्तु बनाउँछ । त्यो चेतनामूलक, सन्देश मूलक र परिवर्तनकारी हुन्छ । सर्जक नवराज पोखरेल नवशिला पनि यसबाट टाढा नरहेको कुरा उनका मुक्तकहरूबाट प्रस्ट हुन्छ । समाजमा रहेका विकृति र विसङ्गतिका साथै मानवीय जीवनका आरोह–अवरोह, माया–प्रेम, दुःख–सुख, आँशु–हाँसो, कथा–व्यथा यी र यस्तै यावत पक्षहरूको उद्घाटन र यथार्थ चित्रण गर्नु पोखरेलका मुक्तकहरूको विशेषता रहेको पाइन्छ ।
लेखकले कहाँबाट लेख्यो ? भन्दा पनि के लेख्यो ? भन्ने कुरा चाहिँ बढी महत्वपूर्ण हुन्छ । संक्षिप्तमा विश्लेषणसहित केही मुक्तकहरू तल उल्लेख गरिएका छन् । नवराज पोखरेल नवशिलाकृत उक्त शिलाजित मुक्तक सङ्ग्रहमा सङ्ग्रहीत पहिलो मुक्तकमा कुनै वस्तुले पनि आफ्नो असली रूप धारण गर्न विविध बाधा–व्यवधान र उत्तारचढाव सहनुपर्ने र यति गरिसकेपछि मात्र यथार्थमा उसमा उसको पन वा निजत्व प्राप्त हुने कुरा उल्लेख गर्दै मुक्तकमा कृतिको रचना गर्भतर्फ सङ्केत गरिएको छ ।
रेटेपछि सारङ्गी र ठोकेपछि मादल सङ्गीत हुन्छ
जलेपछि मात्र बात्ती दियोमा आफू प्रज्वलित हुन्छ
पोलिन्छ पिटिन्छ फलामलाई हतियार बन्नु पहिले
सहेपछि मात्र घामको राप पथ्थर शिलाजित हुन्छ ।
त्यसैगरी ६०औं मुक्तकमा मुक्तककारले आफ्नो जीवनप्रतिको दृष्टिकोण व्यक्त गरेका छन् । मानिसले जिउँदो रहुञ्जेल मात्र तेरो, मेरो, धेर, थोर गर्ने हो । आखिर मरेका दिन यी सारा तेरो, मेरो श्रीसम्पत्ती लोभ–लालच सबै त्यागेर जानुपर्ने ध्रुवसत्य कुरा व्यक्त गरेका छन् ।
बाँचुन्जेल दौडधुप यही रहेछ जिन्दगानी
विस्तारै हुनुपर्ने गुपचुप यही रहेछ जिन्दगानी
बल–बैंश–घमण्ड केही दिनका पाहुना रहेछन्
हाड र छालाको स्वरूप यही रहेछ जिन्दगानी ।
त्यस्तै ८०औं मुक्तकमा मुक्तककारले आफ्नी प्रेयसीलाई आफ्नो सम्पूर्णताको खानीको रूपमा औंल्याएका छन् ।
तिमी नै हौ मैले गाउने मिठो गीत जिन्दगीको
मायाँ गर्ने हृदयभित्र अमर प्रीत जिन्दगीको
सुख–दुःख, आँशु–हाँसो साझा बनाई साथ दिने
तिमी नै हौ सफलता र मेरो जित जिन्दगीको ।
त्यसैगरी १२८औं मुक्तकमा प्रेमीले प्रेमीकालाई दिएको धोका खासगरी प्रेममा प्रेमीकाले पाएको चोटको पीडा उल्लेख गरिएको छ । यहाँ प्रेमको चोटलाई नदीको गहिराइसँग तुलना गर्दै प्रेमी आफू आफ्नो स्वार्थ पूरा गर्न सफल भएको र प्रेमीकालाई चाहिँ उसको मन मुटु चुँडी लथालिङ्ग छोडी दिएको दुखद् घटना तथा परिघटना उल्लेख गरिएको छ ।
विश्वास माथि घात ग¥यो धोका दियो मलाई
नरम कोमल मुटु ह¥यो धोका दियो मलाई
प्रेमको नदी तार्छु भन्थ्यो छोड्यो गहिराइमा
ऊ आफू चाहिँ पारि त¥यो धोका दियो मलाई ।
यस्तै ४१६औं मुक्तक यो जीवनप्रतिको दृष्टिकोण प्रस्तुत भएको मुक्तक हो । यसमा मुक्तककारले विभिन्न आरोह, अवरोहका बीच पनि जीवनलाई अघि बढाउनुपर्ने जीवनप्रतिको आशावादी दृष्टिकोण प्रस्तुत गरेका छन् ।
कहिले सुख्खा बगर अनि कहिले मूल हुनुपर्छ
जीवन हो कहिले काँडा कहिले फूल हुनुपर्छ
परिस्थिति अनुसार चल्नुपर्छ सोचविचार गरि
कहिले नदी झरना कहिले काकाकुल हुनुपर्छ ।
त्यस्तैगरी ४३६औं मुक्तक यो एउटा आफ्ना र आफन्त भनाउँदाहरूप्रति कटाक्ष गरिएको मुक्तक हो । जसले सधैँ आफन्तलाई नै दुःख दिन्छन् । मुक्तकमा यस्ता परपीडकहरूको प्रवृत्ति प्रति व्यङ्ग्य गरिएको छ ।
झगडाको बिऊ रोपेर विचमा पारिदिन्छन्
टुटाई प्रेमील सम्बन्धलाई पर सारिदिन्छन्
पराई भन्दा फसाउन उद्दत हुन्छन् आफ्नै
रुवाएर सधैँ यिनले चोटको भारी दिन्छन् ।
त्यस्तै ४४४औं तथा अन्तिम मुक्तक यो मुक्तकमा धर्म र राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । समाजमा दादागिरी देखाएर मै हुँ भन्नेहरू प्रति पनि कटाक्ष गरिएको छ । समाजमा अझै पनि यी र यस्ता प्रवृत्तिका धार्मिक र राजनीतिक व्यक्तित्वहरू यदाकदा रहेको कुरा उल्लेख छ ।
देखाएर पाखुरी दादागिरी गर्ने टोलेहरू छन्
यहाँ राजनीति नै भजाएर खाने झोलेहरू छन्
बाहिरको रुप सधैँ देखिने सोझासिधा लाग्ने
भित्र पापी कर्ममा डुबेका जय भोलेहरू छन् ।
यसरी हेर्दा नवराज पोखरेल नवशिलाकृत उक्त शिलाजित मुक्तक सङ्ग्रहमा सङ्ग्रहित मुक्तकहरूले मानवीय जीवनकै आरोह, अवरोह, दुःख, सुख, आँशु, हाँसो, उत्तार–चढाव, कथा, व्यथा, चोट, पीडा आदि ओकलेका छन् । यसका अतिरिक्त राष्ट्र, राष्ट्रियता र देश प्रेम, देश भक्तिको भाव तथा सिङ्गो देशको राजनीतिमा देखापरेको उत्तारचढाव, भ्रष्टाचार, घुस खोरी, धर्म, संकृति, संस्कार, जातीयता, अभाव, सामाजिक विसङ्गति र विकृति आदि यावत् कुराहरूलाई कुनै न कुनै रूपमा धेरथोर उठाएकै छन् । मानवीय चेतनाको सन्देश प्रवाह गर्ने पोखरेलका मुक्तक चोटिला र पोटिला पनि छन् ।
मुक्तकलाई सकेसम्म सरल भाषाशैलीमा लेख्दा राम्रो होला भन्ने लाग्छ मलाई । मुक्तक मात्र नभइ सिङ्गो साहित्य लेखनलाई नै सरल भाषाशैलीमा लेख्न र पढ्न रुचाउने म मूलतः यस शिलाजित मुक्तक सङ्ग्रहको भाषाशैलीलाई सरल भाषाशैलीकै कसीमा राखेर हेरिएको छ । यद्यपि ठाउँ–ठाउँमा भने अलि क्लिष्ट शब्दहरू पनि प्रयोग गर्न खोजिएको पाइन्छ । जस्तै १४८औं मुक्तकमा काबिल, १६८औं मुक्तकमा गर्त, १८८औं मुक्तकमा चराचर, त्यस्तै गरी ४२८औं मुक्तकमा जल्लाद आदि त्यस्तै व्याकरणगत त्रुटीहरू पनि खासमा वर्ण विन्यास सम्बन्धी सामान्य त्रुटीहरू यदाकदा रहेको पाइन्छ ।
अन्त्यमा नवराज पोखरेल नवशिलाकृत उक्त मुक्तक सङ्ग्रह शिलाजित नेपाली साहित्यको मुक्तक लेखन परम्परामा एउटा ऊर्जाशील र सशक्त कृतिको रूपमा दरिएको छ । यसका लागि पनि र नेपाली मुक्तकका पाठकहरूका निम्ति पनि यो एउटा नयाँ सङ्ग्रहणीय कृतिको रूपमा आएको छ ।