विनोद सापकोटा
शिवसताक्षी, शिवसताक्षी नगरपालिका–९ नहरचोक निवासी ५९ वर्षीय जीवन न्यौपाने ११ दिनदेखि बेपत्ता छन्। असार १३ गते शुक्रबार बिहान “औषधि किन्न जान्छु” भन्दै घरबाट निस्किएका उनी त्यसयता सम्पर्कविहीन छन्।
न्यौपानेका बुहारी सबु दाहाल न्यौपानेका अनुसार, उनी बिहान ८ बजे बिर्तामोडस्थित नीलकण्ठ डायग्नोस्टिक सेन्टरमा फलोअप चेकजाँच र औषधि खरिद गर्न जान लागेको भन्दै घरबाट हिँडेका थिए। तर, उनले आफ्नो पर्स र मोबाइल फोन घरमै छोडेर निस्केका थिए। “पर्स र मोबाइल घरमै राखेर हिँड्नु सामान्य कुरा होइन। हामी अनुमान गरिरहेका छौँ— बाबा पूर्व योजना अनुसारै बेपत्ता हुनुभएको हो,” बुहारी सबुले भनिन्।
परिवारका अनुसार न्यौपानेलाई शिवसताक्षीको दुधे बजारबाट पश्चिमतर्फ गाडी चढेर दमक पुगेको सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि उनले उदयपुरको कटारीतर्फ जाने बस चढेको अर्को फुटेज समेत प्राप्त भएको छ। तर, कटारी पुगेपछि भने उनको कुनै अत्तोपत्तो छैन। न्यौपानेको खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेसहित विभिन्न निकायमा परिवारले जानकारी गराएको छ।
सिसी फुटेजका आधारमा खोटाङ र उदयपुर आसपासका सम्भावित क्षेत्रमा आफन्त तथा चिनजानका व्यक्तिहरू परिचालन गरिएको परिवार स्रोतले जनाएको छ। “बुबा जहाँ हुनुहुन्छ, कृपया एकचोटि सम्पर्कमा आइदिनुहोस्। हामी सबै अत्यन्तै चिन्तित छौँ,” सबुले सञ्चारकर्मीमार्फत आग्रह गरिन्।
न्यौपाने सामान्य जीवनशैली भएका नागरिक हुन्। घरमा श्रीमती सरला न्यौपानेसँग बस्दै आएका उनी दुई छोराका पिता हुन्। जेठो छोरा दुबई र कान्छो दक्षिण कोरियामा वैदेशिक रोजगारीमा छन्। बुहारी सबु छोरीको शिक्षाका लागि दमकमा बस्छिन्। परिवारमा कुनै आर्थिक वा पारिवारिक तनाव नरहेको बताइएको छ। तर, बेपत्ताको घटनापछि सार्वजनिक भएको एक आर्थिक विवाद भने न्यौपाने बेपत्ता हुनुको पृष्ठभूमिमा रहनसक्ने देखिएको छ। पारिवारिक स्रोतका अनुसार, उनले दुधे बजारस्थित एक सुनचाँदी पसलमा २२ लाख रुपैयाँ जम्मा गरेका थिए। ब्याज जोड्दा रकम ३५ लाख रुपैयाँभन्दा बढी पुगेको बताइएको छ।
तर, सो रकम फिर्ता माग्दा पसल सञ्चालकले दिन नसकेको परिवारको भनाइ छ। “बाबाको एउटै मात्र चिन्ता थियो— आफ्नो रगतपसिनाले कमाएको पैसा डुब्यो कि भन्ने। पसल अहिले बन्द छ, व्यावसायिक अवस्था पनि डामाडोल छ,” बुहारी सबु दाहालले भनिन्। बेपत्ता भएको ११ दिन बितिसक्दा पनि कुनै सुराक नपाएपछि परिवारले प्रशासन, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरूलाई खोजीमा सहयोग गरिदिन अपिल गरेको छ।