
चुनौतिका बाबजुद पत्रकार भइरहन सकिएला, तर छापा पत्रिका प्रकाशन गरिरहन हम्मेहम्मे पर्दछ । त्यसमा पनि म्यागेजिन पत्रिका निकाल्न ठूलै आँट चाहिन्छ । किनकि म्यागेजिन प्रकाशन गर्नु आर्थिक रुपमा निकै खर्चिलो कार्य हो । यस्तै चुनौतीबीच यलम्बर टाइम्स पत्रिका परिवारले १८ वर्षदेखि छापा पत्रिका निरन्तर प्रकाशन गरिरहेका छन् र यसपाली यलम्बर टाइम्स विशेषांक प्रकाशन गरी जनतालाई खास मुद्दाबारे सुसूचित गरेका छन् ।
यस अंक मुक्कुम्लुङ विशेषांकको रुपमा आएको छ । प्रस्तुत अंकमा चर्चामा रहेको ताप्लेजुङ्ग मुक्कुलुङ (पाथीभरा) धामबारे विस्तृतरुपमा चर्चा गरिएका छन् । यस अंकमा लेखक भवानी बराल, देशु बनेम, हिमालय प्रकाश कन्दङ्वा, प्राज्ञ मुनाराज शेर्मा, प्राज्ञ सुमित्रा वाङदेल चेली, युवराज राई, केशव सूर्यवंशी, इन्द्रबहादुर आङ्बो मौसमहरुका लेख प्रकाशन भएका छन् । यी लेखबाट आम पाठकवर्गले मुक्कुम्लुङबारे छर्लङ्ग जानकारी हासिल गर्न सक्नेछन् ।
भवानी बरालको लेख अनुसार मुक्कुम्लुङ लिम्बू समुदायको मुन्दुम दर्शनमा आधारित जीवन प्रणाली हो । मुक्कुम्लुङ प्रकृति, सभ्यता, संस्कृति, आस्था र विश्वास क्षेत्र सम्बन्धित छ । केबलकार निर्माणको अन्तर्य भिन्दै छ । नाङ्गो आँखाले हेरेको सत्यभन्दा कैयौं गुणा हानिकारक तथ्यहरु यसभित्र लुकेको छ । एकै वाक्यमा भन्दा प्रकृति, सभ्यता, संस्कृति आस्था र विश्वासलाई सेबोटेज गर्ने हो । जंगल फडानीले जैविक बिबिधता, जनावर, चराचुरुङ्गगीको बासस्थान नष्ट गर्नेछ । कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक र आध्यात्मिक अवस्था, उन्नतिको सम्पूर्ण प्रतिबिम्ब सभ्यता हो । यस अर्थमा मुक्कुम्लुङ लिम्बू जाति समुदायको मुन्दुम दर्शनमा आधारित जीवन प्रणाली हो । त्यो जीवन प्रणाली माथि यान्त्रिक हमला सोह्रै आना अनुचित हो । संस्कृति आन्तरिक मनोविज्ञान तथा परम्परागत धारणा हो । अहिलेसम्म जे–जसरी आस्था र विश्वास प्रकट गर्ने चलन छ त्यसमा छेडखानी गर्नुहुँदैन ।
देशु बनेमका अनुसार वि.सं. १८३१ अघि यो क्षेत्र लिम्बूवान स्वायत्त शासन क्षेत्र थियो । तत्कालीन गोरखाका राजाहरुले प्रत्यक्ष युद्धबाट यो क्षेत्र अधीन गर्न सम्भव नभएपछि लिम्बूवानसित १८३१ को लालमोहर सन्धी गरी लिम्बूवानलाई स्वायत्त शासनको अधिकार दिएर नेपाल राज्यमा गाभिएको थियो । राज्यका स्रोतहरुलाई निर्मम दोहन गर्न कतिपनि नहिच्किचाउने दलाल पूँजीपतिहरुले मुक्कुम्लुङमा केबलकार निर्माण गरी अकुत नाफा कमाउने योजनाको सुत्रपात गरे । यहाँको पर्यावरणीय, प्राकृतिक अवस्थालाई बिथोल्नु हँुदैन । केबलकार जबरजस्ती निर्माण गरे सामाजिक सद्भाव भड्किनुका साथै द्वन्द्वको बिजारोपण हुनेछ । त्यसलाई खारेज गर्नु नै ताप्लेजुङ्गे आम जनताको हितमा हुनेछ ।
प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’को विचार, आदिबासी जनजातिहरुले संविधानमा उल्लेख भए जसरी सम्प्रभु सत्ता सम्पन्न नागरिक भएर बाँच्न नपाइरहेको वास्तविक यथार्थ मुक्कुम्लुङको घटनाले छर्लङ्ग पारिदिएको छ । आदिबासी जनजातिसँग सम्बन्धित ऐतिहासिक पृष्टभूमि रहेको भूमि सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि आई.एल.ओ. १६९ लाई नेपालले २०६४ भदौ ५ गते अनुमोदन गरिसकेको हुँदा यसका प्रावधानहरुलाई परिपालन गर्नु अनिवार्य छ । धारा १३.१ महासन्धिको यस भागको प्रावधानलाई लागू गर्दा, सरकारले सम्बन्धित समूहको सांस्कृतिक, आधात्मिक मूल्य र मान्यताका लागि विशेष महत्व राख्ने उनीहरुले बसोबास गरेको या अन्य किसिमले प्रयोग गरेको भूमि वा दुबैसँगको सम्बन्धलाई सम्मान गर्नुपर्छ ।
वीरेन्द्र थोक्लिङको अस्तित्वको लडाई सधैँ इतिहास बन्छ । शीर्षकको लामो लेखमा, प्रकृति पुजक स्थानीय किराँतहरुका लागि मुक्कुम्लुङ युमा माङ हो । स्थानीय आदीबासी खासगरी किराँतीहरुले मुक्कुम्लुङलाई साक्षत माङको रुपमा मान्दछन् । आफूले पवित्र मानेको माङलाई केबलबार बनाएर डेटिङ स्पट बनाइ माङको धज्जी उडाएको उनीहरु कुनै पनि मूल्यमा स्वीकार गर्न तयार छैनन् । थोक्लिङले थुप्रै महत्वपूर्ण सवालहरुबारे पनि लेखमा लेखेका छन् ।
सन्तोष नेम्वाङको पवित्र धार्मिक स्थल मुक्कुम्लुङ शीर्षकको मुक्कुम्लुङ क्षेत्रको यात्रा संस्मरणमा, मुक्कुम्लुङ क्षेत्रमा गुराँस फूलेका, मुक्कुम्लुङ धार्मिक स्थलबाट हिमालहरु देखिने, सेवासावाका अनुसार मुक्कुम्लुङ दुईवटा शब्दबाट बनेको, मुक्कुमको अर्थ शक्ति भएको अग्निपुञ्ज र लुङको अर्थ ढुंगा हो । युमा माङले प्राण शक्ति भरेर जगाएको शक्तिपुञ्ज शिला मानव कल्याणका खातिर डाँडामाथि मुक्कुम्लुङ भएर खडा भयो, यही शक्तिपुञ्ज शिलाको नामबाट सिंगो डाँडाको नाम मुक्कुम्लुङ रहन गयो, पाथीभरा या मुक्कुम्लुङ धार्मिक स्थल हो न कि पर्यटकीय स्थल, उल्लेख गरिएको ।
हिमालयप्रकाश कन्दङ्वाको विचार, मुक्कुम्लुङ पहाड धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो । केबलकार सञ्चालन गरिएको खण्डमा परम्परागत मौलिक पूजा बिधिलाई ध्वस्त पार्दछ । जसले त्यहाँ सयौं स्थानीयलाई रोजगारी प्रदान गरेको छ, त्यो पूर्ण रुपले समाप्त हुनेछ । स्थानीय कृषिजन्य उत्पादनको बजार समाप्त हुनेछ । मुक्कुम्लुङ पवित्र धार्मिक स्थल नरहेर मनोरञ्जन स्थलमा रुपान्तरित हुनेछ । स्थानीय जनताको सांस्कृतिक र आर्थिक जीवनमा गम्भीर नकारात्मक असर पर्नेछ । मुक्कुम्लुङको भर्जिनिटीलाई जसरी पनि सुरक्षित राख्नु नै बुद्धिमानी ठहरीने छ ।
युवराज राईसँगको कुराकानी अनुसार, मुक्कुम्लुङलाई प्राकृतिक रुपमै रहन दिनुपर्छ, मुन्दुमी स्थलमा ठूलो पूर्वाधार बनाउनु हुँदैन । आदिबासी भूमिपुत्रहरुको पवित्र मुन्दुमी स्थल परापूर्वकालमा जे जस्तो अवस्थामा थियो उनीहरुको स्वीकृति र सहमति बिना कुनै निर्माण काम गरिनु हुँदैन । पाथीभराको गुरुयोजना बनाउन आएका पुरातत्व विभागको टोलीले मूर्तिहरु राखेर सांस्कृतिक अतिक्रमण भएको र पाथीभरालाई प्राकृतिक रुपमै राख्न यसलाई हटाउनुपर्ने सुझाव दिएका थिए । हामी मुन्दुम आधारित संस्कार संस्कृति अवलम्बन गर्छौं हामी भूमिपुत्र प्रकृतिपूजक हाम्रो प्रदेशमा हामीले जे चाहेको हो त्यही गर्नेछौँ, भनिएको छ ।
यस म्यागजिनमा प्राज्ञ मुनाराज शेर्माको सिर्जना पूँजीवादको अगेनामा सांस्कृतिक डढेलो शीर्षकको तीनपृष्टको लामो कविता प्रकाशन भएको छ । नेपाल बन्नु अघि नै यहाँ लिम्बुवानको राज्य बनेको, यो देशको एकीकरणमा पृथ्वीनारायणसँग समान सन्धि गर्ने माटो हो यो र आफ्नै युमा स्थल कसरी आफ्नो भएन ? ऐतिहासिक सम्बन्ध हुँदाहुँदै पनि अब मुक्कुम्लुङ अरुकै हुने हो ? प्रश्नसँगै कविताका भावहरुले धेरै विषयहरु व्यक्त गर्दछन् ।
त्यसैगरी रविन्द्र लिङ्देनको लेखमा, एउटा समूहको धर्ममाथी जबरजस्ती केबलकार निर्माण गरेर अपमान गर्ने काम भएको छ । त्यो सरकारको गलत नीति हो । एउटा व्यापारिलाई रिझाएर रैथाने याक्थुङहरुलाई रुवाउने काम नीति र संविधान विपरीत छ । कसैले अपमान हुने काम गर्छ भने हामी त्यसको बिरोधमा हुनछौँ ।
लक्ष्मीप्रसाद खोकलिङ र गंगा अनुरागी (अधिकारी)को संयुक्त लेखमा, हरियालीको आनन्द लिँदै विभिन्न प्रकारका फूलहरु, बोट बिरुवाहरुसँग हेलमेल गर्दै चिनापर्ची गर्दै मितेरी लगाउँदै उँभो उँभाको दृश्य अवलोकन गर्दै फूल, बोट बिरुवाहरुका मधुर सुगन्धको आनन्द लिँदै बिस्तारै उकालोओरालो हिँड्दा जुन आनन्द हुन्छ त्यो आनन्द आफ्ना जीवनमा संस्मरण जीवित रहन्छ । तर माथिमाथि केबलकारबाट हिँड्दा कुनै पनि कुराको अनुभव हुदैन, लेखिएको छ । मुक्कुम्लुङमा आक्रमण हुँदा कोचलाई पनि उत्तिकै पीडा हुने विचार पूर्णसिंह राजबंशीको संक्षिप्त लेखमा भनिएको छ, हाम्रो ग्रामथान, साक्षात देवी बसेको मुन्दुमी स्थल र प्रकृतिसँग जोडिएको जातिमाथि अभद्र व्यवहार गर्नु राम्रो होइन । आदिवासी माथि गरेको अवहेलना अर्को आदिवासीले हेर्न त के सुन्न पनि चाहदैनन् । त्यसैले सभ्यतामाथि आक्रमण कोचलाई मन पर्दैन चेतना होस् सरकार ।
पाथीभरा मुक्कुम्लुङ केबलबार विवाद ः विकास र आस्थाबीचको द्वन्द्व शीर्षकमा ईन्द्रबहादुर आङ्बो ‘मौसम’को लेखमा, पाथीभरा मुक्कुम्लुङ क्षेत्र लिम्बु र किराँत समुदायको मुन्दुमी दर्शनसँग गाँसिएको अत्यन्तै पवित्र स्थल हो । मुन्दुम किराँत धर्म संस्कृतिको मूल आधारले पाथीभरालाई केबल एक तीर्थस्थल होइन, सांस्कृतिक अस्तित्वको प्रतीक मान्दछ । राज्यले विकासको नाममा समुदायको आवाज नथुनी बरु सुन्ने, बुझ्ने र समेटने साहस देखाउनुपर्छ । यदि कुनै विकास परियोजनाले समुदायलाई असुरक्षा र अस्वीकारको भावनामा लैजान्छ भने त्यो विकास होइन विनाशतर्फको पाइला हो, लेखिएको छ ।
धार्मिक दृष्टिकोणले ताप्लेजुङको मुक्कुम्लुङ एशीयाकै उत्कृष्ट गन्तब्य मध्ये एक हो । उच्च पहाडमा देवीको बास हुनु धार्मिक दृष्टिकोणले उत्तम र शुभ मानिन्छ । रकम संकलन हुने ठाउँमा व्यापारीहरुको गिद्धेदृष्टी हुनु स्वभाविक नै हो तर सरकार पनि व्यापारी शैलीमा प्रस्तुत हुँदै जनताको भावनाबिरुद्ध एकोहोरो लाग्नुले सरकारप्रति नै शंका उपशंका उब्जाएको छ । मुक्कुम्लुङको शिरमा चढेर पैसा कमाउने सपना बन्द गरिनु पर्दछ । मुक्कुम्लुङबारे यति गहन बहस गरिएको पत्रिका या म्यागजिन अहिलेसम्म प्रकाशन भएको पाइएको छैन । यस म्यागजिनले मुक्कुम्लुङबारे सम्पूर्ण आयाम समेटेको छ । यो म्यागजिन पढेपछि मुक्कुम्लुङबारे समग्र कुरा बुझिन्छ । यस मानेमा यो म्यागजिन ऐतिहासिक र साहसिक मान्न सकिन्छ । खासमा सरकारलाई सही मार्गदर्शन गर्न सक्षम छ । माथि उल्लेखित लेखकहरुले आफ्नो लेखमा मुक्कुम्लुङबारे अरु धेरै विषय विस्तृतमा लेखेका छन् जुन यस छोटो लेखमा समेटिन सम्भव भएन ।
मुक्कुम्लुङबारे बाहेक म्यागजिनमा, दीपसन राईको आइपुग्नुपर्ने एउटा नगर अर्जुनधारा, तीर्थ सिग्देलको कति लेख्न सकेको त्यो वर्गको कथा, अमृताको गाउँमा आइपुगेको पत्रिका, नन्दा चेम्जोङको कति दिन हुन्छौ अपहेलित, सुजता लिम्बुको पहिचानवादी नेतृत्वमा एकताको कमि, लीला राईको किराँत मुन्दुममा महिलाहरुको उच्च स्थान, चित्रा पौड्यालको वैदिककालीन प्रमुख नारी शक्ति र पीठहरु, सञ्जय सिञ्जाली मगरको गणतन्त्रमा आदिवासीको दायित्व र चुनौतिहरु शीर्षकहरुमा लेखहरु प्रकाशन भएका छन् । यी बाहेक, मानव र वन्यजन्तु द्वन्द्व न्यूकिरणमा जुकेखाडी, रैबारे शैलीका नगरप्रमुख थोप्रा, पहिलो बक्सिङ क्लब महिला सञ्चालक जोया, अर्जुनधाराका नगरप्रमुख गोम्देनलाई कालोपत्रे मेयरको उपाधी, मुक्कुम्लुङ शिरमा चढेर पैसा कमाउने सपना बन्द गर, इमान्दारीताको नाम हो चाँदीवाल, धैर्यता र सालिनता हरिकुमार रानाको विशेषता, अर्जुनधारा यायोक्खाः विगत र वर्तमान, घरेलु मदिरा आय आर्जनको मेरुदण्ड, एन्जिला तुम्बापो ढुंगाको काप फोरेर उम्रिएको सुन्दर फूल र सिलाम साक्मा अभियन्ता भीममाया शीर्षकको समसामयिक लेखहरु छापिएका छन् । अभागी थेगुबाको प्रश्न अस्तितत्वको र लेकाली कान्छा मुक्कुमको मुक्कुम्लुङ रोइरहेछ कविता पनि छापिएका छन् । निकै मेहनत र साहस गरी प्रकाशन गरिएको स्तरीय कागज तथा प्रिन्टमा सजिएको यस म्यागजिन मुक्कुम्लुङबारे कम्प्लेट अध्ययन सामग्री हो ।


























