भ्रष्टाचारविरोधी अभियन्ता हेम पाठकको “अब जाग्नु पर्छ” देशभक्ति भावनाको नयाँ गीत सार्वजनिक हुँदै

0
31

काठमाडौं ।

वरिष्ठ समाजसेवी, गीतकार तथा भ्रष्टाचारविरोधी अभियन्ता हेम पाठकले फेरि एकपटक आफ्नो कलम र स्वरमार्फत् समाजलाई जागृत गर्ने प्रयास गरेका छन्।

उनको नयाँ गीत “अब जाग्नु पर्छ” देशभक्ति भावना, भ्रष्टाचारविरोधी सन्देश र हालै नेपालमा सम्पन्न जेन्जी आन्दोलनको भावना तथा मागलाई समेट्दै सार्वजनिक हुने तयारीमा छ।

यो गीत हेम सरिता पाठक फाउण्डेशनको प्रस्तुतिमा तयार भएको हो। गीतका शब्द हेम पाठकले लेखेका हुन् भने संगीत, एरेञ्ज, मिक्सिङ र मास्टरिङ बीबी अनुरागीले गरेका छन्। गीतमा शिशिर योगी र बीबी अनुरागीको स्वर सुन्न सकिन्छ। रेकर्डिङ प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो, जहाँ कमल थापा सिङजाली र गोविन्द अनिकले रेकर्डिस्टको भूमिका निभाएका छन्।

गीतमा समिर जैरूको पञ्चेबाजा सेट र रत्न बीकेको बाँसुरीले मौलिकता थपेका छन्। यसले गीतलाई नेपालीपनको स्वाद दिँदै राष्ट्रियता र जनभावनासँग जोड्ने प्रयास गरेको छ।

हेम पाठक लामो समयदेखि भ्रष्टाचारविरोधी अभियानमा सक्रिय छन्। उनी केवल अभियानकर्ता मात्र होइन, समाजमा चेतना फैलाउने कलात्मक अभियन्ता पनि हुन्। यसअघि उनले “भ्रष्टाचारको चपेटामा देश” र “भरभराउँदो बैंस भरी” जस्ता सन्देशमूलक गीतमार्फत् जनचेतना फैलाएका थिए।

उनको नयाँ गीत “अब जाग्नु पर्छ” ले ती अभियानलाई अझ सशक्त बनाउँदै अहिलेको राजनीतिक र सामाजिक अवस्थाको वास्तविकता उजागर गर्ने उद्देश्य लिएको छ। गीतले देशमा व्याप्त चरम भ्रष्टाचार, अनियमितता र सामाजिक विकृति-व्यवस्थालाई उजागर गरेको छ। साथै, यसले नयाँ समाज निर्माण र देश विकासका लागि युवामा ऊर्जा, आत्मविश्वास र सकारात्मक सन्देश प्रदान गरेको छ।

गीतले हालैको जेन्जी आन्दोलनको भावना, सन्देश र युवाको चेतनालाई समेत समेटेको छ। गीतका शब्द र लयले युवापुस्ताको आत्मसम्मान, देशप्रेम र परिवर्तनको आकांक्षा झल्काउँछन्। यो गीतले केवल विद्रोह होइन, आशा र एकताको नयाँ दृष्टिकोण पनि प्रस्तुत गरेको छ।

गीतको म्युजिक भिडियोमा नेपालको झण्डा, हिमाल र मन्दिरको प्रतीकात्मक प्रस्तुति गरिएको छ। भिडियोको निर्देशन प्रकाश ढितालले गरेका छन् भने क्यामेरा सुबिन गोदार, सम्पादन र कलर टेकेन्द्र शाह, मेकअप सबिना गुरुङ र प्रोडक्सन म्यानेजर सूर्य ओली रहेका छन्।

हेम पाठकले यस गीतमार्फत् पुनः प्रमाणित गरेका छन् कि संगीत पनि समाजपरिवर्तनको सशक्त माध्यम हो। उनले शब्द र स्वरमार्फत् समाजमा नयाँ चेतना, जागरण र जिम्मेवारीको सन्देश दिन खोजेका छन्।

गीत “अब जाग्नु पर्छ” छिट्टै सार्वजनिक हुँदैछ। यसले नेपाली संगीत क्षेत्रमा सन्देशमूलक सिर्जनाको नयाँ अध्याय थप्ने र देशभक्तिपूर्ण भावनालाई पुनर्जीवित गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here