हचुमासा सामुदायिक वनको २९औं साधारणसभा सम्पन्न

0
22
अर्जुनधारा ।
 झापाको अर्जुनधारा नगरपालिका–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २९औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष अम्बरबहादुर राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत महेन्द्र पौडेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समूहका अध्यक्ष राईले गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन र कार्यालय सचिव निमेश भण्डारीले आन्तरिक लेखा समितिको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२÷०८३को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा आन्तरिक पर्यापर्यटन दिगो विकास कार्यक्रमका लागि खैरेनी पर्यापर्यटन सञ्चालनार्थ बजेट व्यवस्थापन र कार्यान्वयन गरेको, एक सामुदायिक वन एक संरक्षण कार्यक्रम अन्र्तगत पोखरी निर्माण, समूहको क्षेत्रभित्र बाटो स्तरोन्नती, सिपमुलक कार्यक्रम अन्र्तगत दुना टपरी बनाउने मेसिन खरिद, अति विपन्न उपभोक्ताहरुको पहिचान गरि घर मर्मत गर्न १८ घरधुरीलाई निःशुल्क वन पैदावार वितरण, हात्ती प्रभावित क्षेत्रमा क्षती न्यूनिकरणका लागि निःशुल्क मौरीसहितको घार वितरणलगायतका कार्यहरु गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा ९८ लाख ७१ हजार नौ सय ७१ रुपैयाँ ७४ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षका लागि अनुमानित एक करोड ३८ लाख २८ हजार एक सय ८६ रुपैयाँ ३० पैसा बराबरको वार्षिक कार्यक्रम सभामा पेश गरेको थियो ।
त्यसैगरी कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई जनही नगद पुरस्कार पाँच हजारसहित प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा गाईपालन तथा दूध उत्पादनतर्फ जानुका रिजाल प्रसाईं, बंगरपालनतर्फ हेमबहादुर लम्साल, तरकारी खेतीतर्फ निराजन राई, समूहअन्र्तगतको ३० वटा टोलमध्ये उत्कृष्ट टोलतर्फ टोल नं. ११, जेहेन्दार विद्यार्थीतर्फ स्थानीय सिंहदेवी माध्यमिक विद्यालयबाट स्पन्दन बस्नेत र गणेश आधारभूत विद्यालयबाट अनामिका मगर र पूर्व कर्मचारी त्रिलोचन अधिकारी रहेका छन् ।
सोही कार्यक्रममा परम्परागत प्रणालीबाट खेतीपाती गर्दै आएका २९ जना कृषकलाई निःशुल्क हलुवा र जुवा प्रदान गरिएको थियो । कार्यक्रममा वडा सदस्य दिनेशकुमार घिमिरे, नेकपा एमाले पार्टी वडा कमिटीका अध्यक्ष माधव आचार्य, नेकपा माओवादी केन्द्र पार्टी प्रतिनिधि वेनुकुमार राई, समूहका सल्लाहकार विजेन्द्र एक्तेन, पूर्व अध्यक्ष रामबहादुर निरौलालगायतले मन्तव्य राखेका थिए । समूहका उपाध्यक्ष कमलबहादुर फूँयेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव बिमला बुर्जा मगरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here