कविता हरायो

0
26

म कतै जुन टाँस्तै थिएँ ।
कतै घाम हाँस्तै थिएँ ।
खुशी जोख्तै थिएँ, पीर पोख्तै थिएँ ।
कविता कोर्ने क्रम जारी थियो ।
अनायसै ‘माटो’ करायो ।
कवितै हरायो ।

माटो– अब कविता नपचाउने भैसक्यो कि कसो !
माटो– अब सिर्जना नरुचाउने भैसक्यो कि– कसो !
माटो– अब सृष्टि नबचाउने भैसक्यो कि कसो ।
समस्या समाधान गर्ने सोचाइ भैरहेको थियो ।
अनायसै ‘रुख’ करायो ।
कवितै हरायो ।

रुख–मान्छेभन्दा निकै माथि थियो– के भयो ?
रुख– मान्छेभन्दा निकै जाति थियो– के भयो ?
रुख– सबैको दुःखसुखको साथी थियो– के भयो ?
रुखको बडप्पन पहिल्याउने उपाय सोचिँदै थियो,
अनायसै ‘घाम’ करायो ।
कवितै हरायो ।

घाम– न्यानो जनजीवन हो भनिन्थ्यो,
तर, किन यसरी भतभती पोलिरहन्छ ?
घाम– परिवर्तनको पहिलो बिहान हो भनिन्थ्यो,
तर किन यसरी मनपरी लुकामारी खेलिरहेछ ?
घामको तामझामबारे, सावधान भएर
अनुसन्धान गरिँदैथियो ।
अनायसै ‘पानी’ करायो ।
कवितै हरायो ।

पानी– आँखाबाट बगेर पीडा बोल्छ ।
पानी– बाढी बहुलाएर छाती पोल्छ ।
पानी– हिउँ जमेर न्यानो बिथोल्छ ।
पानी– हिउँ पग्लेर यात्रा छिचोल्छ ।
पानी–पानी आनि पानी माथि,
कविता कुदिरहेको थियो ।
अनायसै ‘आगो’ करायो ।
कवितै हरायो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here