पूर्वमा बालिका बेपत्ता हुने घटना बढ्यो

0
21

झापा ।

झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट बालिका बेपत्ता हुने घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो समय पूर्वका जिल्लाबाट बालिका बेपत्ता हुने क्रम बढेको हो । बालिका तथा किशोरी बेपत्ता हुनुमा सामाजिक सञ्जाल र मोबाइलको प्रयोग नै घटनाका मुख्य कारण भएको प्रहरीको दाबी छ । फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता माध्यमबाट अपरिचितसँग प्रेम, लोभलालच र प्रलोभनमा पर्ने क्रम बढेको छ । यही कारण कतिपय घटनामा बलात्कार र हत्यासमेतका घटना भएका छन् ।

यसैक्रममा मोरङको केराबारी–३, रामपुरकी १४ वर्षीया रुका मगर भाइटीकाको दिनदेखि सम्पर्कविहीन छिन् । परिवारका अनुसार उनले घरमा कसैलाई जानकारी नदिई निस्किएकी थिइन् । आमा लीला माया मगरका अनुसार भाइटीकाकै दिन घरबाट निस्किएकी छोरी अझैसम्म फर्किएकी छैन ।

त्यस्तै सुनसरीको इनरुवा–५ बलाहबात १५ वर्षीया भावना पाण्डे भैलो खेल्न भन्दै निस्किएकी थिइन् । त्यस दिनदेखि उनी अझैसम्म घर नआएको उनको परिवारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको जानकारी दिए । उनले नेपाल र भारत दुवैतिर खोजिरहेको बताए ।

एक साताअघि मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेकी १४ वर्षीया आयुषा धिमाल हराएकी थिइन् । मामाघर कानेपोखरी–५, दुम्रीघाटबाट दिउँसो हिँडेकी उनी साँझसम्म घर फर्किनन् । तर, शनिबार प्रहरीको टोलीले उनलाई विराटनगर बरगाछीस्थित एक होटलबाट उद्धार गरेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिए ।

त्यसअघि २१ असोजमा मोरङकै लेटाङ–२ की १३ वर्षीया अंशु गौतम हराएकी थिइन् । पिङ खेल्न भनी घरबाट निस्किएकी उनी हराएको दुई सातापछि शुक्रबार बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत अवस्थामा फेला परिन् । सुनसरी, मोरङ र झापा जिल्लामा पछिल्ला महिनाहरूमा बालिका बेपत्ता हुने घटना बढिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here