
जिन्दगीका उकाली–ओराली, भञ्ज्याङ अनि देउरालीमा अनगिन्ती मानिस भेटिन्छन । अनेक प्रकारका घटना घट्छन् । तर ती सबै मानिस र घटना हाम्रो सम्झनामा रहिरहँदैनन् । तिनै अविस्मरणीय व्यक्तिमध्ये मेरो स्मृति विम्बमा सधैँ रहिरहने व्यक्ति हुनुहुन्छ बरिष्ठ साहित्यकार बहुमुखी प्रतिभाका धनी, स्रष्टा–द्रष्टा आदरणीय पुण्य खरेल सर ।
नेपाली साहित्यका शिखर पुरुष पुण्य खरेलसँग रस्तिवस्ति र थाततलो सँगै भएर पनि कुन संयोगले हो एक–दुई पटकमात्र हाम्रो भेट भएको याद छ । र, पछि अक्षरको नाताले उहाँसँग घनिष्टता भयो । उहाँको लेखाइ प्रति म झुकेँ । अक्षरको पनि बढो ठूलो विशेषता हुँदोरहेछ । बिर्सनै नसकिने । साहित्यिक क्षेत्रमा र अन्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउने पूर्वका तारा पुण्य खरेलज्यू एक सशक्त व्यक्तित्व हुनुहुन्थ्यो । झापा जिल्लाका विद्वत्वर्गमा जस्तैः स्व. घनश्याम खनाल, चूडामणि रेग्मी, द्रोण उपाध्याय, होम सुवेदी, चिन्तामणि दाहाल जस्ता हस्तीहरुको पुण्य खरेलज्यू पनि समकालिन हुनुहुन्थ्यो ।
नेपाली साहित्यिक फाँटमा झापा उर्वर भूमि हो त्यसमा पनि जिल्ला सदरमुकाम तथा मेची क्याम्पस लगायतका उच्चकोटीका शैक्षिक निकायमा समेत योगदान पु¥याउनु हुने बौद्धिक व्यक्तित्व पुण्य खरेलज्यूले मेची बहुमुखी क्याम्पस भद्रपुरमा नेपाली विभागमा विगत २०५६ सालदेखि प्राध्यापनरत् उपप्राध्याक कवि एवम् प्रगतिवादी समीक्षक पुण्य खरेलज्यूका पिता अग्निप्रसाद खरेल र माता मनमाया खरेलका जेठो सन्तानका रूपमा २०१८ साल फागुन ११ गते शनिश्चरे–४ कालिकास्थान हाल अर्जुनधारामा नगरपालिकामा जन्मिनुभएको थियो ।
उहाँको परिवार २०२०÷०२२ सालतिर बसाई सरी गौरादह गएको हुँदा खरेलको बाल्यकाल तथा प्राथमिक र माध्यमिक तहको शिक्षा सोही ठाउँको जनता माध्यमिक विद्यालय गौरादहबाट पूरा भएको थियो । ल क्याम्पस काठमाडौंबाट आइएल र महेन्द्र क्याम्पस इलामबाट बीए तथा डिग्री क्याम्पस विराटनगरबाट नेपालीमा एमए र जनकपुरबाट एकवर्षे बीएड उहाँले उत्तीर्ण गर्नुभएको थियो । जीवनयात्रालाई अघि बढाउने क्रममा २०४७ माघ ७ गते कमला बुढाथोकीसँग विवाह बन्धनमा बाँधिएका खरेलले जीविकोपार्जनका लागि विभिन्न शिक्षण संस्थामा आबद्ध भई शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको सर्वविदितै छ ।
सबैले आफ्नो प्रशंसा गरुन् वा आलोचना, केही पर्वाह नगरी व्यक्तिगत कुराकानी, सामुहिक बहस र औपचारिक कार्यक्रम जहाँ भए पनि कविताको बारेमा साँचो कुरा भन्न सक्ने एकमात्र कवि हुनुहुन्थ्यो– पुण्य खरेल । विद्यार्थी अवस्थाबाटै लेखनमा अभिरूचि राख्नु हुने पुण्य खरेलज्यूका केही कविता र समालोचनात्मक कृतिहरू प्रकाशित छन् । उहाँद्वारा लिखित विचार र विश्लेषण (२०७५) सिर्जनाभित्र नियाल्दा (२०७५), समालोचनात्मक कृतिका अतिरिक्त फुटकर कविता एवम् समीक्षाहरू थुप्रै पत्रपत्रिकामा छापिएका छन् । नेपाली भाषा साहित्यको समृद्धिका लागि गरेको उल्लेखनीय योगदानलाई सबैले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ भन्ने मलाइ लाग्छ ।
ओजपूर्ण आवाजका धनी, नेपाली भाषा र साहित्यको अभिवृद्धिका निम्ति आतुर पुण्य खरेलज्यू कवि, कुशल प्रगतिवादी समीक्षक एवम कुशल प्राध्यापन क्षमता भएका विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रही कार्य सम्पादन गर्ने बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।
मान्छे जस्तै कविता लेख्ने, कविता जस्तै मान्छे देख्ने पुण्य खरेलज्यू कालजयी कविताहरू सिर्जने मात्र होइन, वाचन पनि मज्जाले गर्नुहुन्थ्यो । साथीभाइहरूको निम्तालाई नाइनास्ती गर्न नसक्ने कवि पुण्य खरेलज्यू घुमन्ते कवि जस्तै लाग्नुहुन्थ्यो जो राति घरमा विश्राम गर्नु भए पनि दिनभर कहाँ–कहाँ साहित्य कार्यक्रम छ त्यहाँ–त्यहाँ घुमिरहनु हुन्थ्यो र शुभचिन्तकका कोठाचोटाहरूमा चहार्नु हुन्थ्यो । दार्जीलिङको चौरस्तामा उभिएको भानुभक्तको शालिक होस या काँकरभिट्टा क्याम्पसको प्राङ्गणमा उभिएको शालिक यसरी प्रतीकका रूपमा ठडिएका सबै शालिकहरूलाई श्रद्धा र सबै कविहरूलाई माया गर्नुहुन्थ्यो कवि पुण्य खरेलज्यू । उहाँ हिमाल जस्तै स्वच्छ पवित्र र कञ्चन हुनुहुन्थ्यो ।
२०५० को दशकपछि स्थायीरूपमा बिर्तामोड–५ देवीबस्तीमा बसोबास गर्दै आउनुभएका खरेलको २०८१ असौज १ गते अवसान हुनुभयो । उहाँ चेतना प्रकाशन संस्थाका तत्कालीन सचिव तथा मेची बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुनुहुन्थ्यो । उहाँको सम्झनामा शब्द दौडनु अनन्त यात्रामा निक्लनु जस्तै लाग्छ । उहाँको देहावसान भए पनि पुण्य खरेलज्यूका नाम सदा अमर रहने छ, उच्च रहनेछ । विद्वान एवम् साहित्यिक व्यक्तिप्रति आदर सम्मान बस्, अहिलेका लागि हार्दिक श्रद्धा सुमन ।
बिर्तामोड–२ चारपाने,
हाल :ब्रसेल्स, बेल्जियम



























