झापा, कात्तिक १ । बिर्तामोड, असोज ३०। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले एक महिनामा सवारी नियम उल्लंघन गर्नेहरुबाट २३ लाख २६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्वाहीमा पर्नेमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । एक हजार सात सय ६२ वटा मोटरसाइकललाई कार्वाही गर्दा ट्राफिक प्रहरीले एक महिनाको अवधिमा ११ लाख ६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । गिरीका अनुसार असोज महिनाभरीमा ५ सय ९५ वटा ट्रक कार्वाहीमा परेका छन् । जसबाट तीन लाख ५८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै ५ सय ३० वटा बसलाई कार्वाही गर्दा तीन लाख १२ हजार रुपैयाँ राजश्व संकलन भएको बताइएको छ । कार, जीप र भेन भने ४ सय १८ वटा कार्वाहीमा परेको र जसबाट दुई लाख ४७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै ४ सय ६३ वटा ट्याक्टर कार्वाहीमा परेका छन् । जसबाट दुई लाख ५६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अन्य सवारी साधन ८२ वटा कार्वाहीमा परेको प्रहरी निरीक्षक गिरीले बताए । जसबाट ४६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । एक महिनाको अवधिमा ३ हजार ८ सय ५० वटा सवारी साधन ट्राफिक नियम उल्लंघन गरे वापत कार्वाहीमा परेको बताइएको छ ।
यता ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८७ जनालाई एक महिनाको अवधिमा कार्वाही गरेको छ । सो कार्वाहीबाट ८७ हजार रुपैयाँ राजश्व संकलन भएको बताइएको छ । ट्रक र बस भने असोज महिनाभरी कार्वाहीमा परेका छैनन् । ट्राफिक प्रहरीका अनुसार ५ वटा कार, जीप र भेन कार्वाहीमा परेका छन् । जसबाट ५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी ७५ वटा मोटरसाइकल चालक कार्वाहीमा पर्दा ७५ हजार रुपैयाँ राजश्व संकलन भएको प्रहरीले जनाएको छ । त्यस्तै ५ वटा ट्याक्टर र दुई वटा अन्य सवारी साधन चालकलाई कार्वाही गर्दा सात हजार रुपैयाँ राजश्व संकलन भएको बताइएको छ ।