बिर्तामोड, वैशाख १३ । दिउँसोको टन्टलापुर घाम, उस्तै गर्मी । खेतभरि नाङ्गै खेल्दै गरेका केटाकेटी । घरको टाटी र चुल्हो लिपपोत गर्दै गरेका महिलाहरुमा पानी छेपुवा (वुइँचा) उड्न थालेपछि खैलाबैला मच्चियो ।
खेतमा खेल्दै गरेका केटाकेटी पानी छेपुवा उडेको देखेपछि घर आए । लिपपोत गर्दै गरेका महिलाहरु सुकाएको सिन्की उठाउन हतारिए । यो दृष्य थियो– बिर्तामोड नगरपालिका–३ मुसहर वस्तीको । नगरपालिकाको कार्यालयबाट एक किलोमिटर पूर्व दक्षिणमा पर्छ यो वस्ती । यो वस्ती अन्धुवा खोलाको वगर छेवैमा छ । सीमान्तकृत सूचीमा रहेको यो समुदाय लामो समयदेखि उपेक्षामा रहेको जानकारी प्राप्त भएपछि पूर्वाञ्चलकर्मी मंगलवार मुसहरबस्ती पुग्दा घरमा कोही पुरुष थिएनन् । थिए त केटाकेटी र महिला मात्र ।
फर्वीलालवारीमा रहेको मुसहर वस्ती प्रत्येक वर्ष वर्षायाम शुरु हुनासाथ डुव्छ । मंगलवार पनि पानी छेपुवा उड्न थालेपछि त्यो समुदायका महिला झस्किए । कारण थियो हावा हुण्डरीले घर उडाउला भन्ने पीर । वर्षामा बाढीको डर तथा अरु बेला हावा हुन्डरीको डरले आक्रान्त उनीहरु पानी छेपुवा किरा उड्न थालेपछि हावा हुण्डरीसँगै पानी आउने चिन्ताले उनीहरु अताल्लिएका थिए ।
अभावै अभावमा रहेको ११ परिवारको मुसहर बस्ती अहिले पनि कष्टपूर्ण जीवन निर्वाह गरिरहेका छन् । छाक टार्नका लागि मजदुरी गर्नु उनीहरुको बाध्यता हो । ग्रामीण प्रशिक्षण केन्द्रको नाममा रहेको ४ बिगाह जमिनमा खेतीपाती गर्दै आएका उनीहरुलाई खेतीबाट आएको अन्नले तीन महिना पनि नपुग्ने भएपछि मजदुरी नगरी हातमुख जोड्नै समस्या हुने गरेको उनीहरुको भनाइ छ । टाटीले घेरावेरा गरेको घरमा सात जनासम्मको परिवार त्यो समुदायमा बसोबास गर्छन् । ११ घरमा ६० जना मुसहर बसोबास गर्दै आएको दिलकुमारी ऋषिदेवले बताइन् ।
आफू बसेको ठाउ पनि थाहा छैन उनीहरुलाई
अशिक्षाका कारण मुसहर वस्तीका वासिन्दा आफूहरु कहाँ बसेका छौं भनेर भन्न समेत सक्दैनन् । आफू बसेको ठाउँको वारेमा एक दुई जना अगुवा महिला वाहेक अरु कसैले आफूहरु बिर्तामोड नगरपालिका–३मा बसेका छौं भन्न सक्दैनन् । दुई छाक खाने अन्न नभएपछि पुरुषहरु मजदुरीका लागि बाहिर जाने गरेका छन् । महिलाहरु बालबच्चा लिएर खेतमै खनिखोस्री गर्छन् । मुसहरवस्तीमा पुग्दा उनीहरुले समस्यै समस्या सुनाए ।
मुसहरवस्तीमा न बिजुली छ न त बस्ती पुग्ने बाटो नै । खानेपानीका लागि ट्युववेल समेत नभएपछि बिर्तामोड नगरपालिकाले उनीहरुलाई चार थान ट्युववेल उपलब्ध गराएको छ । अन्धुवा खोलामा शौच गर्दै आएका उनीहरुलाई खुल्ला दिसामुक्त अभियानका क्रममा चार वटा शौचालय बनाए दिएपछि केही सहज भएको उनीहरु उनीहरु बताउँछन् ।
नागरिकता छैन
मुसहर वस्तीमा बालबालिकासहित ६० जना बसोबास गरे पनि सात जनासँग मात्र नागरिकता छ । नागरिकता बनाउनुपर्छ भन्नेसम्म चेतना नभएकाले उनीहरुले नागरिकता नबनाएको सञ्चारकर्मी तथा स्थानीय इन्द्रसिंह राजवंशीले बताए । उनले भने– यहाँका मुसहर समुदायमा नागरिकता बनाउनुपर्छ भन्ने चेतना नै नभएकाले नागरिकता नबनाएका हुन् ।