घैलाडुब्बामा राजयोग मेडिटेशन शिविर

२३ बैशाख २०७५, आईतवार मा प्रकाशित

बिर्तामोड, बैशाख २३। झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा आयोजित एक कार्यक्रमकाबीच ब्रह्माकुमारी राजयोग गीता पाठशाला उद्घाटन गरिएको छ ।
उक्त पाठशालाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । स्थानीय हरिलाल उप्रेतीले निःशुल्क प्रदान गरेको दुई कठ्ठा जग्गामा उक्त पाठशालाको भवन निर्माण गरिएको हो ।
ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र प्रदेश नं. १ कि सञ्चालिका ब्रह्माकुमारी गीता दिदीको अध्यक्षता तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्रह्माकुमारी तारा दिदीले स्वागत गरेकी थिइन् ।
सोही कार्यक्रममा कनकाई नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरु मेयर राजेन्द्रकुमार पोखरेल, उपमेयर मञ्जु प्रसाईं, कनकाई नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशी, वडा सदस्यहरु शान्ता चुडाल, मुना सिवा, राजेन्द्र आङ्बोहाङ, नरमान श्रेष्ठ, वडा कार्यपालिकाका सदस्य चुवालाल राजवंशी, अर्जुन राजवंशी लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा जग्गादाता हरिलाल उप्रेतीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमकै अवसर पारेर स्वास्थ्य र सुखी समाजका लागि राजयोग मेडिटेशन शिविरको समेत उद्घाटन गरिएको थियो । शिविर आगामी वैशाख २८ गतेसम्म प्रत्येक दिन बेलुकी ६ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन गरिने ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडकी सञ्चालिका पूर्णिमा दिदीले जानकारी दिइन् ।
स्वास्थ्य र सुखी समाजका लागि राजयोग मेडिटेशन शिविरमा अन्तर्राष्ट्रिय प्रशिक्षक ब्रह्माकुमार राजु घलेले प्रशिक्षण दिने बताइएको छ । कार्यक्रममा दिक्षा राउत र ममता थापा लगायतले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र प्रदेश नं. १ कि सञ्चालिका ब्रह्माकुमारी गीता दिदीले आर्शिवचन प्रदान गरेकी थिइन् ।
कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, वडा नं. ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडकी सञ्चालिका ब्रह्माकुमारी पूर्णिमा दिदीले गरेकी थिइन् ।
त्यस्तै झापाको अर्जुनधारा नगरपालिका वडा नं. ४ भाङबारीमा समेत शुक्रबारबाट स्वास्थ्य र सुखी समाजका लागि राजयोग मेडिटेशन शिविर सञ्चालन भइरहेको छ । उक्त शिविरको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले गरेका थिए । स्थानीय दोभान युवाक्लवको आयोजनामा शिविर सञ्चालन भएको बताइएको छ । दोभान युवा क्लवका अध्यक्ष टीका शिवाकोटीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तुलसी खतिवडाले स्वागत गरेका थिए ।
सरस्वती सिटौला गोलेले शुभकामना मन्तव्य राखेको कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडकी सञ्चालिका ब्रह्माकुमारी पूर्णिमा दिदीले आर्शिवचन प्रदान गरेकी थिइन् । आगामी बैशाख २८ गतेसम्म प्रत्येक बिहान र दिउँसो सञ्चालन हुने स्वास्थ्य र सुखी समाजका लागि राजयोग मेडिटेशन शिविरमा अन्तर्राष्ट्रिय प्रशिक्षक ब्रह्माकुमार राजु घलेले प्रशिक्षण प्रदान गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन चतुर्भुज काफ्लेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here