आमाको मुखमात्र नहेरौं, सेवा पनि गरौं

२० बैशाख २०७६, शुक्रबार मा प्रकाशित
आ. सोमनाथ गौतम

बशाख कृष्णपक्षको आमावश्य (औंशी) तिथिलाई मातातीर्थ औंशी अथवा आमाको मुख हेर्ने दिनका रुपमा हेरिन्छ । वैदिक सनातन धर्ममा प्रत्येक महिना, तिथि, बार नक्षत्र आदिको आफ्नै महत्व रहेको हुन्छ । त्यसमा पनि उपर्युक्त औंशी आमाको मुख हेर्ने पर्वका रुपमा विकास भएको छ ।

यसदिन आमा हुनेहरुले आफ्नी आमाको सेवा गर्ने, मीठो खाना खुवाउने, एवम् आमा नहुनेले संसारकी आमा जगजननी दुर्गादेवीका मन्दिरमा जाने, आफ्नी आमालाई स्मरण गर्ने पूजन यजन गर्ने समेत प्रचलन रहेको पाइन्छ । त्यसैगरी भाद्रकृष्ण औंशीलाई पिताको मुख हेर्ने दिन मानी मातातीर्थ र पितातीर्थ मान्ने हाम्रो उदात्त संस्कृति छ । मातापिताको सेवा शुश्रुसा सबभन्दा ठूलो कर्म, धर्म, र तीर्थाटन समेत हो भनेर भगवान् गणेशले शिवपुराणमा उल्लेख गरेका छन् । जस्तैः

पित्रोश्च पूजनं कृत्वा प्रक्रान्तिं च करोति यः ।
तस्य वै पृथिवीजन्यं फलं भवति निश्चितम् ।।
अपहाय गृहे यो वै पितरौ तीर्थमाव्रजेत् ।
तस्य पापं तथा प्रोक्तं हनने च तयोर्यथा ।।
पुत्रस्य च महत्तीर्थं पित्रोश्चरणपङ्कजम् ।
अन्यतीर्थं तु दूरे वै गत्वा सम्प्राप्यते पुनः ।।
इदं संनिहितं तीर्थ सुलभं धर्मसाधनम् ।
पुत्रस्य च स्त्रियाश्चैव तीर्थं गेहे सुशोभनम् ।।
–शि.म.पु.रु. अ. १९ श्लो. ३९(४२)

(अर्थः पिता–माताको पूजा गरेर जो परिक्रमा समेत गर्दछ । उसले पृथ्वी परिक्रमा गर्दा जुन तीर्थाटनजन्य फल प्राप्त हुन्छ, त्यही फल प्राप्त गर्दछ । आफ्ना बाबा–आमालाई घरमा अपमान गरेर तीर्थ जाने व्यक्तिले आफ्नै पितामाताको बध गरे समान दूषित एवम् निकृष्ट फल प्राप्त गर्दछ । पितामाताको चरणसेवाभन्दा ठूलो तीर्थ सन्ततीका लागि अरु संसारमा कतै पाइँदैन भनेर गणपतिले पितामाताको मुक्तकण्ठले प्रशस्ती गान गरेका छन् ।

तसर्थ, तीर्थको अर्थ पनि पवित्र भन्ने हुन जान्छ । ‘मातातीर्थ पुनः पुनः’ भन्ने शास्त्रीय कथनले र व्यवहारिक, वैज्ञानिक दृष्टिले समेत जीवन प्राप्तिमा आमाको सबभन्दा ठूलो भूमिका रहेको हुन्छ । त्यसैले मातातीर्थ पर्वमा आमाको मुखमात्र हेर्नु भन्दा सदैव सेवा गर्नु उत्तम हुन्छ । आज हाम्रो समाज कृषियुगबाट औद्यौगिक युगतर्फ र ग्रामीण बसोबासबाट सहरिया बसोबासतर्फ उन्मुख हुँदैछ ।

हिजो सबै छोराछोरीका बीच आनन्दले बस्ने पितामाता विदेशमा मात्र सम्भावना देख्ने सामाजिक पारिवारिक र राष्ट्रिय बाध्यात्मक गलत संस्कारका कारण आज एक्लिनुपर्ने बाध्यता बन्दै गएको छ । कति पहाडका ग्रामीण क्षेत्रमा त ६० वर्षमुनिका मलामी समेत नपाउने तीतो यथार्थ छँदैछ । बल्लतल्ल विदेशमा कमाएका पैसाले बन्दै गरेका अव्यवस्थित शहरहरुमा सात, दश धुर, तीन, चार आना क्षेत्रफलमा घर बनाउने होड नै चलेको छ भने उता पहाडका पाखा, पखेरा, बेसी र तराईका खेतीयोग्य ठाउँहरु दिनानुदिन बाझिँदै नेपाल आमालाई बाँझो तुल्याइँदैछ ।

यस सन्दर्भमा कति ठाउँमा त बुढो भएपछि बस्न पाइन्छ भन्दै पुराण चन्दा जस्ता अर्थ संकलनका उपाय रच्दै वृद्धाश्रम बनाइँदै छन् । आजको बौद्धिक समाजले वृद्ध भएपछि आश्रमले हुँदैन बरु आश्रय चाहिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । आश्रम र आश्रयको धरातल धेरै फरक भएकाले वृद्धाश्रम खोल्नुभन्दा वृद्ध बाबा–आमाको सेवा गर्नुपर्छ भन्ने शिक्षा बालबालिकाहरुलाई दिनुपर्छ किनकि यो हाम्रो सनातन, सभ्य संस्कार पनि हो । वृद्धाश्रमको विकल्पमा वयोवृद्ध बुबा आमाले दिउँसो एकै ठाउँमा भेला हुन, दुःख सुखका कुराकानी साटासाट गर्न, भजन कीर्तन, सत्सङ्ग गर्न, वृद्धचौतारी, वृद्धसङ्गम जस्ता भवनहरु निर्माण गर्न सकिन्छ ।

संसारमा आमाको जस्तो उदात्त प्रेम (ममता) सन्ततिप्रति कसैको हँुदैन । सन्तति आमाप्रति गलत धारणा भएको कुसन्तति एक आत हुन सक्लान्, तर आमा सन्ततिप्रति कुआमा कहिल्यै बन्न सक्दिनन् भन्ने धारणा आद्यगुरु शङ्गराचार्यको ‘कुपुत्रो जायेत क्वचिदपी कुमाता न भवति’ भन्ने भनाइले प्रष्ट पारेको छ । हरेक व्यक्ति म बन्न आमाको अतुलनीय योगदान हुन्छ । त्यही योगदानको मूल्याङ्कन गर्दै आमाका शरीरमा लुगा, पेटमा भोजन र मनमा शान्ति छ छैन भन्ने कुरालाई नजिकबाट हेर्ने दिनका रुपमा आजको मातातीर्थ पर्व मनाइन आवश्यक छ । यस्ता सामाजिक, व्यवहारिक, महत्व बोकेका पर्वहरुलाई सामाजिक सन्जालमा फोटो लगाइ कमेन्ट र लाइकको संकलन गरिने पर्वका रुपमा मात्र विकास गर्नुहुँदैन । आमासँग टाढा रहने, आमाको दुःख निवारणमा नलाग्ने केवल आदर्श प्रदर्शन गर्न सामाजिक सन्जालमा मात्र फोटो लगाउनु ढोंगी चरित्र मात्र हो ।

वैदिक सनातन धर्ममा माता भनेर धेरै वटा चिजलाई सम्बोधन गरिन्छ । ‘मीयते पूज्यते अस्माभि इति’ अथवा सबैले पूजा गरिने, पूजा गरेर उरिन बन्न नसकिने भन्ने अनेकार्थी शब्दका रुपमा माता शब्दलाई चिनिन्छ । पृथ्वीलाई धेरै वस्तुकी खानी, दात्री समेत भएकीले पृथ्वीमाता , राष्ट्र प्रत्येक व्यक्तिको जीवन, अस्तित्व, संस्कार, सभ्यता र पहिचान समेत प्रदान गर्ने भएकाले राष्ट्रमाता, गाईले कुडा, घाँस खाएर अमृततुल्य दूध प्रदान गर्ने भएकाले गौमाता, गीताले जीवनदर्शन प्रदान गर्ने भएकाले गीतामाता, वेदले संसारमा मानवीय संवेदना मानव सभ्यता, जीवन सम्बन्धी दार्शनिक चिन्तन आदि सुन्दर ज्ञान प्रदान गर्ने भएकाले वेदमाता आदि धेरै माताको व्याख्या विश्लेषण शास्त्रहरुमा पाइए पनि सबै माताहरुलाई चिनाउने, अनुभूति लिन सक्ने जीवन एवम् सर्वस्वदात्री ममताकी खानी माता (आमा) हुन् । त्यसैले आमा पहिलो गुरु पनि हुन् । तिनै आमाको सम्मान सेवा गरिने पर्वका रुपमा यस दिनलाई मातातीर्थ पर्व मानिएको हो । यो पर्वलाई केवल हल्लाको पर्व मात्र नबनाइ सेवा सद्भावको पर्व बनाइनुपर्छ ।

निष्कर्षमा मातातीर्थ पर्वलाई ढोङ्, रवाफ, दवाव आदिका रुपमा नहेरी आ–आफ्नी माता (आमा) प्रति सद्भाव, सेवा शुश्रुषा गर्ने पर्वका रुपमा विकास गर्नुपर्छ । तथाकथित सामाजिक सञ्जालीय शैलीले मात्र आमाको मुख हेर्नुभन्दा व्यवहारिक, मर्यादित, कर्तव्यनिष्ठ ढंगले आ–आफ्नी आमाको सेवा गर्नुपर्छ । कसैका आमा बुबाले वृद्धाश्रममा जानु न परोस्, वृद्धाश्रम बनाउनुभन्दा वृद्धवृद्धालाई सम्मानित देवताका रुपमा सेवा गर्ने हाम्रो उदात्त संस्कृतिको संरक्षण गरौं । हाम्रो उदात्त सांस्कृतिक गरिमालाई गलत शैलीले अपनाएर नेपाल आमाको सांस्कृतिक चीर हरण गर्नुहुँदैन । नेपाल आमा र आ–आफ्नी आमाका आँखामा आँशु नआओस्, सम्बद्ध सबैमा चेतना भया । मातातीर्थ पर्वको सबैलाई शुभाशया ।।

गौतम श्रीसाङ्गवेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रम धाम बिर्तामोड– २ चारपानेका शिक्षक हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here