राष्ट्रियताप्रति गम्भीर होऊ

२० बैशाख २०७६, शुक्रबार मा प्रकाशित

नागरिकता कागजको खोस्टो मात्र होइन । नागरिकताभित्र एउटा व्यक्तिको परिचय, स्वाभिमान, आत्मसम्मान र स्वाधीनता पनि लुकेको हुन्छ । यस अर्थमा नागरिकता प्रत्येक व्यक्तिको जीवन जत्तिकै महत्वको छ भन्न संकोच मान्नु पर्दैन । विश्वमा हरेक देशमा नागरिकताका सम्बन्धमा छुट्टै व्यवस्था गरिएको छ, त्यसलाई प्राप्त गर्न जोसुकैले संविधानमा भएको प्रावधान, शर्त र मापदण्ड पूरा गर्नैपर्छ ।

सम्भवतः नेपाल मात्रै त्यस्तो देश हो जहाँ अनेपाली, गैरनागरिकलाई समेत सम्मानपूर्वक नागरिकता प्रदान गरिन्छ । खासगरी तीनतिर भारतसँग सीमा जोडिएको र विगतको सम्झौताका आधारमा आवागमन, पेशा–व्यवसाय गर्न खुल्ला भएकै कारणले हुनसक्छ हामी कहाँ नागरिकता ज्यादै सस्तो भएको छ । त्यहीकारण हुनसक्छ नागरिकता केवल कागजको खोस्टो भएको छ ।

तराई सबै जिल्ला भारतसँग सोझै जोडिएका छन् । यस आधारमा दुबै छिमेकीका बीच पारिवारिक नाता पनि छ । कामका लागि होस् वा वैवाहिक सम्बन्धले अथवा भाषा, संस्कार, संस्कृति, धर्मले दुबै छिमेकीका बीच अन्तरघुलन भएको छ । जसका कारण हाम्रा क्षमता र योग्यताले चिनी–पानी सरह छुट्याउन सकिएको छैन । तर, त्यतातिरको नागरिकता यहाँका रैथानेका लागि भने आकाशको फल हुन्छ जो कुनै मिहिनेत, सेवा र लगानीले पनि प्राप्त गर्न असम्भव छ । हामीकहाँ राजा महेन्द्रकै शासनकालमा प्रवासमा रहेका उच्चतम् क्षमता, योग्यता र कुशलता भएका व्यक्तिलाई स–सम्मान नागरिकता प्रदान गर्ने कानूनी व्यवस्था थियो, तर सबै क्षमतावानले त्स्तो सुविधाको उपभोग गर्न नपाएको उदाहरणहरु छन् ।

झापा त्यस्तै भारतसँग अन्तरघुलन भएको जिल्ला होभन्दा फरक नपर्ने भएको छ । विगतमा काम र व्यवसायका लागि आएकाहरुले छोटै समयमा नागरिकता प्राप्त गरेका थिए । अझ समय–समय टोली नै खटाएर नागरिकता वितरण गर्दा लाखौं गैह्रनागरिकले नागरिकता प्राप्त गरिसकेका छन् । यसरी वितरण गरेका अङ्गीकृत नागरिकहरुका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने सरकारको निर्णयले वास्तविक र नेपाली मूलका मानिस अल्पमतमा पर्दैछन् । यस्तो अवस्थाले भोलिको नेपालको अस्तित्व, अस्मिता र स्वतन्त्रता सङ्कटमा पर्नेछ । त्यसबेला नेपालीको स्वाभिमान, राष्ट्रियता, सार्वभौमिकता समेत खतरामा पर्ने निश्चित छ ।

विगतमा विभिन्न स्वार्थबस वितरीत नागरिकताको वैधानिकताका सम्बन्धमा विवाद, बहस र आलोचना भइरहेका बेला गृहमन्त्रालयले अङ्गीकृत नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न दिएको निर्देशन अहिले मुलुकको सर्वाधिक चासोको विषय भएको छ । दिनहुँ हजारौं जनाले यसै आधारमा नागरिकता प्राप्त गरिरहेको सन्दर्भमा झापामा एक नेपाली मूलका भारतीय पक्राउ परेका छन् । त्यसले सिफारिस गर्ने, सनाखत र साक्षी बस्नेहरुलाई समेत दण्डित गर्ने अवस्था आएको छ ।

तर, यही समय सीमाना जिल्लाहरुमा यस्तै प्रकृतिका भारतीय नागरिकलाई वितरण गरिएका नागरिकताको प्रमाणपत्रको खोजी कसले गर्ने हो– चिन्ताको विषय छ । त्यसकारण पनि सत्ता, स्वार्थ र राजनीतिक लाभका निम्ति गरिने यस्ता निर्णय, निर्देशनको दूरगामी प्रभावलाई राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अखण्डता र सार्वभौम सत्ताको विषयलाई केन्द्रमा राखिनु पर्दछ । होइन भने नेपालीको पहिचान स्वतन्त्र नागरिकका रुपमा रहने छैनः तयसतर्फ सम्बद्ध सबैको गाम्भीर्य आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here