स्वस्थ समाज निर्माणमा नर्सिङ सेवा

0
639

पुष्पा न्यौपाने

 

आज मे १२ । आज दिनलाई अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका रुपमा मनाइन्छ । नर्सिङ्ग पेशाकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन । विश्वभरका नर्स दिदीबहिनीहरु आजको ल्गचकष्लन स् त्जभ द्यबबिलअभ या mष्लम, दयमथ ७ कउष्चष्त भन्ने नाराका साथ उत्साहका साथ यो दिवस मनाउँदैछन् । तत्काल युरोपको क्रिमियामा भएको युद्धमा घाइतेहरुको उपचारका लागि अहोरात्र खटिएकी फ्लोरेन्स नाइटिङ्गेलको सेवाको सम्मान गर्दै नर्सिङ्ग पेशा सम्मानित पेशा हो भन्ने बुझाउन यो दिवसको प्रारम्भ गरिएको हो । उनैले संसारमा पहिलोपल्ट नर्सिङ्ग स्कुलको स्थापना गरेर औपचारिक शिक्षाको प्रारम्भ गरेकी थिइन् । मानिसको सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य भएकोले स्वास्थ्य प्रदायक संस्था स्वच्छ र प्रदुषण मुक्त हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

सन्दर्भ  – अन्तर्राष्ट्रिय नर्सिड्ड दिवस

आफू सेवारत् अस्पतालको सरसफाई र विरामीलाई खुवाउने खानाको स्वच्छतामा समेत उत्तिकै ध्यान दिएकी नाइटिङ्गेललाई ‘लेडी वीथ द ल्याम्प’बाट समेत चिनिन्छ । आज नर्सिङ्ग सेवालाई सम्मानको दृष्टिले हेरिन्छ र स्वास्थ्य क्षेत्रमा यो पेशाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रस्तुत गरिएका तथ्यांकलाई नियाल्दा, विश्वमा भएका करिब ५० मिलियन स्वाथ्यकर्मीमध्ये करिब २९ मिलियन दर्ता भएका नर्सहरुको संख्या रहेको छ । त्यसमा छिमेकी राष्ट्र भारतमा करिब १.९४ मिलियन दर्ता भएका नर्सहरुको तथ्यांक छ ।
त्यसैगरी नेपालमा २९ मार्च २०१९ सम्ममा ८७ हजार सात सय ४८ नर्सहरु दर्ता भएका देखिन्छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइरहँदा हाम्रा नेपालका नर्स दिदीबहिनीहरुले धेरै खुट्किला पार गर्दै आएका छन् । एकातर्फ नेपालले नर्सिङ्ग शिक्षाको क्षेत्रमा फड्को मार्दैछ भने अर्कोतर्फ गुणस्तरीय नर्सिङ्ग शिक्षाको व्यवस्थापनमा कमी पनि महसुश भइरहेको छ । नेपालका विभिन्न क्षेत्रमा रहेका करिब नौ सय ४४ वटा नर्सिङ्ग कलेजबाट प्रत्येक वर्ष नर्सहरुको उत्पादन हुँदैछ । साथै विषयगत विशेषज्ञ नर्सहरुको उत्पादन पनि बढ्दै जाँदा अब नर्सिङ्ग शिक्षा र सेवाको गुणस्तर अवलोकन र अनुगमनमा विशेष ध्यान दिनुपर्ने बेला आएको छ ।
नेपालमा लामो समयदेखि यस नर्सिङ्ग पेशामा आबद्ध वा नयाँ पुस्ताका नर्स दिदीबहिनीहरु सबैको कार्यप्रतिको सन्तुष्टिलाई नियाल्दा करिब–करिब धेरैजसो असन्तुष्ट हुनुहुन्छ । यसका विविध कारणहरुमध्ये नेपाली समाजले नर्सलाई हेर्ने दृष्टिकोण नै जिम्मेवार रहेको, नेपालमा नर्सिङ्ग पेशालाई खासै सम्मान नदिएको, योग्यता अनुसारको स्वरोजगार र पद नपाउने, पाए पनि त्यही अनुरुपको सेवासुविधा नपाइने, व्यवस्थापन गर्ने क्षमता र योग्यता हुँदाहुँदै पनि निर्णायक भूमिकामा खासै मान्यता नदिने, शिक्षा लिनका लागि अति महँगो शुल्क बुझाउनुपर्ने तर, रोजगार पाउन मुस्लिक पर्ने हुँदा धेरैजसो नर्स दिदीबहिनीहरु विदेशिन बाध्य छन् ।
अझ निजी संस्थामा कार्यरत् नर्स दिदीबहिनीहरुको स्थिति पीडादायक छ । आफ्नै अनुभव तथा नर्स दिदीबहिनीहरुको प्रतिक्रिया बुझ्दा संस्थाको मनोमानी, सही कार्यको मूल्यांकन नहुने, कार्यभार ज्यादा तर पारिश्रमिक अति नै न्यून रहेको छ । त्यसमा पनि निजी संस्थामा कार्यरत नर्स दिदीबहिनीहरुका हकहितमा बोलिदिने, संरक्षण गर्ने, नियन्त्रण गर्ने र व्यवस्थापन गर्ने पेशागत संस्था नै खासै नभएका कारण दक्ष नर्स दिदीबहिनीहरुसँग विदेशिनु बाहेक अर्को विकल्प नै नरहेको देखिएको छ ।
नेपालबाट प्रति वर्ष कति नर्स दिदीबहिनीहरु बाहिरिन्छन् भन्ने तथ्यांक पनि यकिन पाइँदैन । अन्तर्राष्ट्रिय लेबर अर्गनाइजेशनले प्रस्तुत गरेको तथ्यांक हेर्दा करिब पाँच सयदेखि सात सय नर्सहरु प्रत्येक वर्ष वैदेशिक शिक्षा तथा रोजगारीका लागि विदेशिएको देखिन्छ । विशेषतः अमेरिका, अष्टे«लिया, अरब र हाल आएर जापान जानेको संख्या बढ्दो छ । उक्त देशहरुमा नर्सिङ्ग पेशालाई धेरै पारिश्रमिक पाउने पेशा मध्येको दोस्रो स्थानमा राखिएको छ ।
त्यसैले होला आजभोलि विदेश जानका लागि नर्सिङ्ग एउटा सजिलो माध्यम बन्न पुगेको छ । नेपालमा नर्सहरुको सही मूल्यांकन नहुँदा धेरैजसो नर्स दिदीबहिनीहरु विदेशिन बाध्य छन् । नेपालमा नै कार्यरत् दिदीबहिनीहरु पनि सन्तुष्ट र प्रोत्साहित छैनन् । साथै विषयगत् विशेषज्ञ नर्सिङ्ग शिक्षा लिएका दिदीबहिनीहरु पनि बेरोजगार भएर घरमा नै बसिरहेका छन् । हाल देखिएका नर्सिङ्गका जल्दाबल्दा मुद्दाहरुको समाधानतर्फ नर्स दिदीबहिनीहरु आफैं सजग, संवेदनशील, उत्तरदायी तथा जिम्मेवार हुन आवश्यक छ । साथसाथै नर्सिङ्ग पेशाको गरिमा बढाइ राख्न आफूले समेत निरन्तर आवाज उठाउनै पर्छ । नर्सिङ्ग पेशागत संघ–संस्थाहरुले आफ्ना नर्स दिदीबहिनीहरुको सेवासुविधा तथा सेवागत दक्षता अभिवृद्धिका लागि एकजुट भई जिम्मेवारीपूर्वक कार्यभार सम्हाल्न जरुरी छ ।
नर्सिङ्ग पेशा अति संवेदनशील क्षेत्र हो । साथै स्वास्थ्य सेवामा मुख्य स्वास्थ्य सेवा प्रदायक अङ्ग भएको हुँदा नेपाल सरकारले नर्सिङ्ग पेशालाई नीति निर्माणमा संलग्न गराउन आवश्यक छ । नेपाली नागरिक, समाज, स्वास्थ्य संघ–संस्था, पेशागत संस्था, सरकार लगायत नर्सिङ्ग पेशासँग आबद्ध सबैले नर्सहरुको हकहितका लागि निर्णायक भूमिका निर्वाह गरेमा व्यक्ति स्वस्थ हुँदै स्वस्थ परिवार, स्वस्थ समाज र स्वस्थ देश निर्माणमा टेवा पुग्ने निश्चित छ । नर्सिङ्ग दिवसका अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नर्सिङ्ग पेशामा आबद्ध दिदीबहिनीहरुमा सुनिश्चित र उन्नत भविष्यको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
न्यौपाने माष्टर इन चाइल्ड हेल्थ नर्सिङ्ग विषयमा वीरगञ्जमा अध्ययनरत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here