बिर्तामोड।
बिर्तामोड नगरपालिका– २ चारपानेका हरिभक्त उप्रेती र उमेश शर्माले दुई वर्ष अघिबाट व्यवसायिक कागती खेती शुरु गरे । उप्रेतीले छतमा लगाएको पाँच बोट कागतीमा आफूले सोचेभन्दा राम्रो फल लागेपछि उनकै सल्लाहमा दुई जनाले २० लाख रुपैयाँ संयुक्त लगानी गर्दै व्यवसायिक कागती खेती शुरु गरेका थिए ।
एक विगाह १० कठ्ठा जमिन भाडामा लिएर उनीहरुले व्यवसायिक खेती शुरु गरे पनि अहिले कागती धमाधम मर्न थालेपछि उप्रेती र शर्मा चिन्तित बनेका छन् । लटरम्म फल लागेका कागतीका बोटको मुना र पात पहेंलिँदै सुकेर जान थालेपछि उनीहरु चिन्तामा परेका हुन् ।
वर्षा कृषि फर्म दर्ता गरेर चारपानेलाई हरित र अग्र्यानिक फलफूल तथा तरकारी उत्पादनको केन्द्रका रुपमा विकास गरेर लाने सपना देखेका कृषकद्वय कागती मर्न थालेसंगै कृषि प्राविधिकको परामर्श लिन पुगे । तर, कृषि प्राविधिकले उनीहरुको समस्याको समाधान गर्नुको सट्टा कुरा सुन्न समेत नमानेको उनीहरुको गुनासो छ ।
केही वर्ष यता झापामा व्यवसायिक कागती खेती हुँदै आएपछि आफूहरुले कागती खेतीमा लगानी गरेको बताउने उप्रेतीले भने– ‘छतमा भएका पाँच बोट कागतीमध्ये एकै बोटमा पाँच छ सय दाना फलेको देखेपछि कागती खेती शुरु गरेका थियौं, अहिले कागती मर्न थालेपछि रुनु न हाँस्नु भएका छौं ।’
वार्षिक एक लाख रुपैयाँमा लिजमा लिएको जमिनमा कागती खेती शुरु गरेर पाँच जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएका थियौं– उप्रेतीले भने– ‘फल लाग्न थालेपछि कागतीका बोट भटाभट मर्न थालेपछि हाम्रो लगानी त डुब्ने नै भयो, खेतीका लागि लिएको ऋणको व्याज समेत तिर्न सक्ने अवस्था रहेन ।’
उप्रेती र शर्माले डेढ बिगाह क्षेत्रफलमा सात सय कागतीका विरुवा लगाएको बताइएको छ । प्रतिगोटा एक सय ७० रुपैयाँका दरले कागतीका बिरुवा खरिद गरेर कागती खेती गरेपनि फल लाग्ने समयमा कागती मर्न थालेपछि समस्यामाथि समस्या थपिएको उप्रेती बताउँछन् ।
स्थानीय जनप्रतिनिधि, बिर्तामोड नगरपालिकाका प्रमुखसहित कृषि शाखा प्रमुख र प्राविधिक तथा कृषि ज्ञान केन्द्रलाई आफूहरुको समस्याको विषयमा जानकारी गराए पनि एकपटक फर्केर समेत हेर्न नआएको उप्रेतीको गुनासो छ । व्यवसायिक कागती खेती गर्दै आएका शर्मा भन्छन्– ‘हामीले कागतीसँगै कुखुरा र टर्की पनि पालेका थियौं, मरेरै सकिए ।’ उनीहरुले पाँच सय लोकल कुखुरा र टर्की पालन गरेको बताइन्छ । तर, कुखुरा सबै मरेको र केही टर्की समेत मरेर खोर रित्तिएको उप्रेतीको भनाइ छ ।
कुखुरा र टर्की मरे पनि अहिले उनीहरुले गाईपालनमा जोड दिएका छन् । अहिले उनीहरुको गोठमा ११ माऊ गाई छन् । तर, गाईले पनि भनेजस्तो आम्दानी दिन नसकेको शर्मा बताउँछन् । उनी भन्छन्– पाँच सय लोकल कुखुरा पालेका थियौं सबै मरे, टर्की मरे, कागती पनि मर्न थाले, मर्दामर्दै हाम्रो सबै सकियो, न राज्यले सुन्छ, न त जनप्रतिनिधिले नै हाम्रो दुःख देखे ।
बिरुवामा पात डढ्ने र मुना सुक्ने रोग लागेर कागती मर्न थालेदेखि नै बिर्तामोड नगरपालिकाका कृषि प्राविधिकलाई हेरिदिन र औषधि दिन आग्रह गरेका थियौं, हाम्रो कुरो सुनुवाई भएन शर्माले भने– ‘बिर्तामोडले नसुनेपछि कृषि ज्ञानकेन्द्रलाई पनि आग्रह ग¥यौं, तर कतैबाट सुनुवाइ भएन ।’ स्थानीय माधवप्रसाद नेपालको जमिन लिजमा लिएर उनीहरुले व्यवसायिक कागतीखेतीे गरेको बताइएको छ ।
कागती आफैंमा बहुउपयोगी वनस्पति हो । नियमित कागतीको सेवनले स्वस्थ रहन मद्दत मिल्छ । आर्थिक वर्ष २०७०÷०७१ मा ४५ हेक्टर, २०७१÷०७२ मा ५५ हेक्टर, २०७२÷०७३मा ७० हेक्टरमा तथा २०७३÷०७४मा करिब १०० हेक्टर जग्गामा कागतीखेती गरिँदै आए पनि त्यस यता कागती खेतीले व्यवसायिकता पाएको छ ।