विद्यालय कर्मचारी र ‘सका’लाई पोशाक भत्ता

२३ जेष्ठ २०७६, बिहीबार मा प्रकाशित

इलाम।

सरकारले बजेटमा बिद्यालय कर्मचारी र बालबिकास केन्द्रका सहयोगी कार्यकताहरुको तलब नबढाएको गुनासो आइरहँदा इलामको रोङ गाउँपालिकाले भने उनीहरुलाई पोशाक वापतको भत्ता उपलब्ध गराएको छ ।

रोङ गाउँपालिकाले सबैको मनोबल उच्च राख्दै सम्मान जनक व्यवहार र बिद्यालयमा देखिने विभेदकारी अवस्थालाई चिर्न हरेक बालबिकास केन्द्रका सहयोगी कार्यकर्ता र कर्मचारीहरुलाइ रु. पाँच हजारको दरले पोशाक भत्ता उपलब्ध गराएको हो ।

गत बर्षकै गाउँपरिषद्बाट पारित भएको सो कार्यक्रम उनीहरुको लागि गत चैत र बैशाकको तलबभत्ता निकासा हुँदा नै निकासा गरी बिद्यालयले सम्बन्धित कर्मचारीको खातामा पठाइसकेको छ ।

बिभिन्न प्रकारका शिक्षकहरु र कर्मचारी भएर काम गर्दा सरकारले उनीहरु माथि गर्ने गरेको बिभेद आफूले भोगी सकेकोले सकेसम्म सबैलाइ सम्मानजनक ब्यबहार गर्न आफुले यो निर्णय लिएको गाउँपालिकाको अध्यक्ष शम्शेर राईले बताए ।
केही बर्षअघि सरकारले स्थायी शिक्षकलाई मात्रै पोशाक सुबिधा दिने गरे पनि नेपाल शिक्षक महासंघले पहल गरेपछि अस्थायी र राहत शिक्षकले समेत बार्षिक रुपमा समान रु. १० हजार पोशाक भत्ता पाउने गरेका छन् ।

गाउँपालिकाको सो निर्णयले आफूहरु उत्साहित भएको लामिटार आधारभूत बिद्यालयका कर्मचारी दीपक सुन्दासले बताए । त्यस्तै रोङ गाउँपालिका–६ ले निजी स्रोतबाट कार्यरत् शिक्षकहरुलाई समेत पोशाक भत्ता दिने तयारी गरेको वडा सदस्य केशर प्रधानले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here