विराटनगरमा आफ्नै बालिका छोरीलाई एक वर्षदेखि बलात्कार गर्ने बुबा पक्राउ

२७ जेष्ठ २०७६, सोमबार मा प्रकाशित

विराटनगर,

आफ्नै बालिका छोरीमाथि एक वर्षदेखि बलात्कार गरिरहेको आरोपमा विराटनगरबाट एक पुरुष पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा परिचालित प्रहरी टोलीले शनिबार राति विराटनगर महानगरपालिका–४ खारजीबाट ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

ती बुबाले विगत एक वर्षदेखि १४ वर्षीय छोरीलाई बलात्कार गरिरहेको घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक हुने डरले छोरीलाई विद्यालय जानबाट रोक लगाउन खोजेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार अन्तिम पटक जेठ २१ गते मंगलबार घरमै बाबुले छोरीमाथि बलात्कार गरेको पत्ता लागेको छ । प्रहरीसँगको सम्पर्कमा रहेकी छोरीले आफूलाई बारम्बार बाबुले बलात्कार गरेको जानकारी प्रहरीलाई दिएकी छन् । प्रहरीका अनुसार बुवाबाटै पीडित भएकी छोरीलाई उल्टै बुवाले नै विद्यालय जानबाट रोक लगाउने प्रयास गरेपछि बालिकाले यो कुरा साथीहरुलाई सुनाइन् । साथीहरुले कुरालाई विद्यालय प्रशासनसम्म पु¥याइदिए ।

बालिका पढ्दै आएको लीला–भक्तराम आधारभूत विद्यालयकी प्रधानाध्यापक राममाया थापाका अनुसार सबै कुरा सोधखोज गर्दा बाबुबाट एक वर्षदेखि बलात्कृत भइरहेको र यही कुरा बाहिर पुग्छ भनेर छोरीलाई नै पढ्न जानबाट रोक लगाउन खोजेको पत्ता लाग्यो ।

बालिकाले बलात्कारबाट पीडित भएको कुरा भने शिक्षिकाहरुलाई मात्रै सुनाएकी थिइन् । थापाका अनुसार केही समयदेखि धेरै तनावमा रहेको देखिने ती बालिका पहिले जस्तो धेरै बोल्दिन पनि थिइन । सुरुमा कुनै शंका नगरिए पनि बुवाले स्कुल नजान दबाब दिने गरेको सुनेपछि भने धेरै कुरा सोधीखोजी गरिएको उनले बताइन् ।

त्यसपछि विद्यालय प्रशासनले दिएको सूचनाका आधारमा प्रहरीले घरैबाट बलात्कारमा संलग्न बाबुलाई पक्राउ गरेको हो । बाबुलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा स्थानीय बासिन्दाले आइतबार दिउँसो बालिकाले पढ्दै आएको विद्यालय घेराउ गरे ।

विद्यालयले अनाहाकमा फसाएको र बाबुले छोरीमाथि बलात्कार गर्नै नसक्ने जिकिर गर्दै स्थानीय बासिन्दा विद्यालय घेराउ गर्न पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यहाँ परिचालित प्रहरीले स्थितिलाई नियन्त्रणमा लिंदै विद्यालय घेराउ गर्न पुगेकालाई जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

विद्यालय घेराउ गर्न गएका स्थानीय बासिन्दा दिउँसो प्रहरी कार्यालयमा पनि पुगेको थियो । यस्तो घटनाको निष्पक्ष छानबिन गर्न दिनु पर्ने भनेर सम्झाई बुझाई गर्दै उनीहरुलाई पठाइएको डीएसपी श्रेष्ठको भनाइ छ । पीडित बालिकाको मानसिक रुपमा केही समस्या देखिएकाले उपचारमा पनि ध्यान दिइनु पर्ने उनले बताए ।

‘कुट्ने, पिट्ने र विभिन्न डर, त्रास देखाउने गरेका कारण छोरीले प्रतिकार गर्न र घटना बाहिर ल्याउन सकेकी रहिनछिन्,’ श्रेष्ठले भने, ‘पढ्न छाड्न लागेको थाहा पाएर विद्यालयले सोधपुछ गर्दा मात्रै यति ठूलो जघन्य अपराध बाहिर आयो ।’ पक्राउ परेका बाबुलाई भने आइतबार जबरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।-पूर्वेली न्यूजबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here