काठमाडौं ।
चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । बुधबार बिहान परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको चट्याङ लागेर मृत्यु भएको हो ।
विद्यालय जान तयारी गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको हो । चट्याङ लागेर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको हो ।
चट्याङ लागेर संगीताकी दिदी १५ वर्षीया मीना घाइते भएकी छिन् । सोही चट्याङका कारण ४० वर्षीय भरत विष्ट र ५० वर्षीय महादेव भट्ट पनि घाइते भएका छन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चट्याङबाट मृत्यु भएकी संगीता स्थानीय भागेश्वर माविकी कक्षा ८ की विद्यार्थी हुन् ।