सामाजिक सेवामा सक्रिय देवेन्द्र

2
1443


कुनै कामको शुरुवात गरेपछि सफलता नै मिल्छ भन्ने छैन । तर, जीवन सफल बनाउनका लागि मानिसले थुप्रै त्याग र बलिदान गरेको हुन्छ । त्यसैले भनिएको होला– जीवन नै संघर्ष, संघर्ष नै जीवन हो । जीवनमा सफलता पाउन मानिसले अनेकौं संघर्षका सिँढीहरु पार गर्नुपर्छ । अनि मात्र मानिस सफल हुन्छ । जीवनमा अनेकौं संघर्षका सिँढीहरु पार गर्दै छोटो समयमा सफलता हात पारेका झापा डाँगीबारीका देवेन्द्र चम्लागाई अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

एसएलसी परीक्षा दिए लगत्तै साविक डाँगीबारी– ५ का देवेन्द्र चम्लागाई हिजो रोजगारीको खोजीमा कतार हानिए । कतारमा उनले ४५ डिग्रीको तापक्रमलाई कुनै प्रवाह नगरी दिन रात परिश्रम गरे । २०५५ सालदेखि २०५९ सालसम्म कतारमा श्रम र पसिना बगाएर स्वदेश फर्किएका चम्लागाईले अहिले झापामा एक सय जनालाई आफैं रोजगारी दिएका छन् । ‘हिजो कामको खोजीमा म विदेशिएको थिएँ अहिले एक सय जनालाई रोजगारी दिएको छु सम्झँदा आफैंलाई आश्चर्य लाग्छ’–चम्लागाईले भने– ‘भाग्यमा विश्वास गर्ने अनि परिश्रम नगर्ने हो भने मानिसलाई सफलता मिल्दैन ।’
‘नौ सय रियल तलबमा म कतार गएको थिएँ’–चम्लगाईले भने– ‘कतारमै सीप सिके, कतार मै सदुपयोग गरे अनि कतारमै कमाए ।’ ‘आर्थिक अभावले पढ्दा–पढ्दै म कतार गएको थिए’ –चम्लागाईले विगत सम्झँदै भने– ‘हामी तीन दाजुभाइ ठूलो दाइ प्रेम र माइलो दाइ महेन्द्र कतारमा हुनुहुन्थ्यो । उहाँहरुकै सहयोगमा कतारमै मैले सीप सिकेपछि मेरो मात्र होइन हामी तीनै जना दाजुभाइको जीवनले नयाँ मोड लियो ।’

कतारको फयर सोरुममा काम गर्दागर्दै चम्लागाई दाजुभाइले समय निकाले र कतारमा नेपाल बुक्स हाउस सञ्चालनमा ल्याए । केही समय बुक्स हाउस सञ्चालनपछि उनीहरुले संयुक्तरुपमा फेन्सी हाउस सञ्चालन गरे । बुक्स हाउस र फेन्सी हाउसभन्दा कन्ट्रक्सनमा काम गर्दा बढी आम्दानी हुने भएपछि उनीहरुले आफैं उड ल्याउण्ड कन्ट्रयाक्टिङ कम्पनी सञ्चालन गरे । जुन कम्पनीले उनीहरुलाई नेपालमा मात्र होइन, कतारमा समेत चिनायो । चम्लगाई परिवारले कतारमा सञ्चालन गरेको कम्पनीले अहिले झण्डै चार सय जनालाई रोजगारी दिलाएको छ ।

मध्यमवर्गीय परिवारमा जन्मिएका देवेन्द्रले अहिले आफ्नै गाउँ डाँगीबारीमा दीपजन नामक निजी विद्यालय सञ्चालनमा ल्याएका छन् । कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा झण्डै ४६ जनाले रोजगारी पाएका छन् भने बिर्तामोडमा चम्लागाई कम्प्लेक्स सञ्चालनमा ल्याएका छन् । जहाँ उनी आफैंले होटल होलिडे होम होटल सञ्चालन गरेका छन् । जुन होटल जिल्लामै नाम चलेको होटल मध्येमा पर्छ । टु स्टारको मान्यता पाएको होटल होलिडे होमको रेखदेख उनी आफैंले गर्दै आएका छन् ।

सानैदेखि मिलनसार, सहयोगी भावनाका देवेन्द्र विदेशबाट फर्किए लगत्तै आफैंले रोजगारी सिर्जना गर्न सकिने बाटोको खोजीमा जुटे । केही समयपछि उनले आफ्नै ठाउँमा निजी विद्यालय खोले । समाजसेवामा रुची राख्ने उनले विद्यालयमा समय दिनुभन्दा पनि सेवामा सक्रिय रहे । फलस्वरुप २०६२ सालमा साविक डाँगीबारी गाविस संयन्त्र संयोजक भएर पाँच वर्ष काम गर्ने अवसर पाए । २०६२ सालमा गाविस संयन्त्र संयोजक भएका उनी २०६३ सालमै गौरीशंकर निमाविको व्यवस्थापन समिति अध्यक्षमा चयन भए । जुन विद्यालयमा उनले नौ वर्षसम्म निरन्तर अध्यक्षको भूमिका निर्वाह गर्दै विद्यालयलाई १२ कक्षासम्म पठनपाठनका लागि स्वीकृति दिलाउन सफल भए ।

विद्यालयमा आर्थिक अभाव हुँदा महायज्ञको परिकल्पना गर्दै स्रोत समेत जुटाउन पछि नपर्ने चम्लागाईले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा देखाएको सक्रियताका कारण सबैको प्रिय बने । गाविस संयन्त्रमा रहँदा दुई पटकसम्म नागरिकताको टोली डाँगीबारीमा पु¥याएर नागरिकता लिनबाट वञ्चित सबैलाई हात–हातमा नागरिकता थमाउन उनी पछि परेनन् । आदिवासी समुदायको बाहुल्यता रहेको साविक डाँगीबारीमा विकास निर्माण, शैक्षिक गुणस्तर सुधार र सामाजिक काममा सक्रिय भएकै कारण उनको लोकप्रियता दिनप्रतिदिन बढ्दै गयो ।

२०३५ साल साउन १० गते लोकनाथ चम्लागाई र आमा डिकुरादेवी चम्लागाईका कान्छा छोराका रुपमा जन्मिएका देवेन्द्रले समथर गाउँको पहाड जस्तै समस्यालाई एकपछि अर्काे गर्दै हल गर्दै लगे । बिरिङ खोलाको कटान र डुबानले वर्षेनि आजित बन्ने डाँगीबारीबासीका लागि उनको पहलमा तटबन्धनको काम गराए । जसका कारण बिरिङका कारण कटान र डुवानको समस्या विस्तारै हल हुँदै जाँदैछ । जल उत्पन्न प्रकोप, जनताको तटवन्धनसँग सहकार्य गर्दै उनले बिरिङलाई बिस्तारै पाता नै फर्काउँदै लगे । अहिले पनि बिरिङ नदी नियन्त्रणको काम भइरहेको छ । बिरिङको किनारमा तीन मिटर चौडा र पाँच मिटर अग्लो बाँध बाध्ने काम भइरहेको छ । जसका कारण साविक डाँगीबारी गाविसमा डुवान र कटानको समस्या बिस्तारै हल हुँदै गएको छ ।

सयौं विगाह जमिन कटान भएर आजित भएका र घरवारविहीन भएकाहरुका लागि देवेन्द्र छोटो समयमै आशाको केन्द्र बने । बाटो निर्माण, पुल–पुलेसा, नहर, कुलो निर्माण जस्ता विकासे कामका लागि उनले कुनै दिन अल्छी गरेनन् । उनकै पहलमा घाग्रा खोलामा झण्डै ४५ लाखको लागतमा साविक जिल्ला विकास समितिको आर्थिक र सहारा नेपालको प्राविधिक सहयोगमा झोलुङे पुल निमाणा गरे । जहाँ उनी आफैं उपभोक्ता समिति अध्यक्ष बसेर काम गराए । उनी बिरिङ खोला नदी नियन्त्रण उपभोक्ता समितिको सचिवका रुपमा अहिले पनि क्रियाशील छन् । जुनियर युवाक्लवको अध्यक्ष समेत रहेका उनकै पहलमा अहिले बाह«दशीमै पहिलो पटक कबड हल निर्माण भइरहेको छ ।

बाह«दशी खेलकुद विकास समितिको अध्यक्ष भएलगत्तै उनकै पहलमा प्रदेश सरकारसँग आर्थिक स्रोत जुटाएर अहिले बाह«दशी पाँच फुलबारीमा सुविधासम्पन्न कबड हल निर्माणमा लागेका छन् चम्लागाई । ८५ लाख रुपैयाँको लागतमा फुलबारी माविको चार कठ्ठा जमिन व्यवस्थापन गर्दै कबड हल निर्माण थालेको र ७० प्रतिशत काम सकिएको उनको भनाई छ । उनी भन्छन्– ‘यो कबड हल बाह«दशीको मात्र नभई जिल्लाकै नमूना बनाउने मेरो लक्ष्य छ ।

गाउँपालिकाभित्रको खेलकुदको विकसका लागि यसले सहयोग पुग्छ’ –चम्लागाईले भने– ‘यो कबड हलमा ब्याडमिटन, भलिबल, कराते जस्ता खेल खेल्न सकिन्छ । निकट भविष्यमा यसमा जीम हल समेत सञ्चालन गर्ने सोच लिएको छु’ –चम्लागाईले भने– ‘अफिस डेकोसनका लागि पहल भइरहेको छ । बाह«दशीलाई निकट भविष्यमा हव बनाउँछु । गाउँपालिकाले खेलकुदका लागि थोरै मात्र रकम विनियोजन गरेकाले भने अनुरुपको काम हुन सकेको छैन ।’ क्षेत्रीय रंगशालाको रुपमा विकास हुँदै गएको फुलबारीको खेल मैदानमा कबड हल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयले देवेन्द्रले खेलकुदको क्षेत्रमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।

डाँगीबारी स्वास्थ्यचौकीमा पहिलोपटक ल्याब सञ्चालनका लागि अहम् भूमिका निभाएका चम्लागाईले हिमाली मूल सडक उपभोक्ता समितिको अध्यक्ष समेत भएर काम गरे । गाउँ–गाउँमा विद्युत् बिस्तारका लागि उनले पुर्याएको भूमिका प्रशंसनीय छ । विपन्न वर्गलाई आर्थिक सहयोग समेत गर्न पछि नपर्ने देवेन्द्र धार्मिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय छन् । विभिन्न मठ–मन्दिर निर्माणका लागि आर्थिक सहयोगसहित उनले पुर्याएको भूमिका सराहनीय छ । ‘सामाजिक सेवा नै देशको सेवा हो’–चम्लागाई भन्छन्– स्वच्छ भावनाले काम गरे कुनै पनि काम अप्ठ्यारो हुन्न । जस्तोसुकै काम सहजतापूर्वक सम्पन्न गर्न सकिन्छ ।’

विकास निर्माण र समाजसेवामा साँघुरो सोचाइ होइन, फराकिलो सोचाइ राखेर काम गनुपर्छ भन्ने धारणा बोकेका चम्लागाई सामाजिक एकताले मात्र समाजको विकास हुने धारणा राख्छन् । उनी भन्छन्– ‘गाउँमा कमाएर शहर पसेका धेरै छन् । तर, शहरमा कमाएर गाउँ फर्कने सिमित मात्र हुन्छन् ।’ बाहिर देखेको, जानेको अनुभवलाई आफ्नो ठाउँको विकासका लागि सदुपयोग गर्ने हो भने सभ्य समाज निर्माणमा समय नलाग्ने उनको तर्क छ ।

बाह«दशीमा खेलकुद क्षेत्रको विकास गर्दै युवाहरुलाई खेलकुदप्रति दक्ष बनाउने निर्माणाधीन कबड हलको सम्पन्नतासँगै प्रशिक्षकहरुको व्यवस्था गरी नियमित इनडोर र आउटडोर प्रतियोगिता सञ्चालन गर्ने, कबल हलको विकास र बिस्तारका लागि प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । बाह«दशीमा विभिन्न क्षेत्रको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्दै आएका चम्लागाईको पछिल्लो समय जिल्लाभर लोकप्रियता छाएको छ । समाजसेवामा रुची राख्ने उनले कतारमा काम गरे पनि विभिन्न देशको भ्रमण गरिसकेका छन् ।

2 COMMENTS

  1. सधै सामाजिक कार्य मा लागीरहनु हाम्रो शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here