झापामा कुखुरा मर्न थाले: गर्मीले विद्यालय बन्द

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

झापा ।

तीन दिन यता गर्मी बढेपछि झापामा सञ्चालित सामुदायिक तथा निजी विद्यालयले दुई दिन विदा दिएका छन् ।

गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएको भन्दै केहीले शुक्रबार नै विदा दिएका छन् भने वाह्रदशी गाउँपालिकाले आइतवार र सोमवार विदा दिएको छ । अर्जुनधारा नगरपालिकामा सञ्चालित निजी विद्यालयले शुक्रबार नै विद्यालय बन्दको घोषणा गरेको थियो ।

मौसममा सुधार हुने सङ्केत देखापरेपछि विद्यालय सञ्चालन हुने प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बाले जानकारी दिए । उनले स–साना नानीहरूलाई मौसमको प्रतिकूलताका कारण प्रभाव पर्ने भएकाले विद्यालय सञ्चालकबीच सल्लाह गरेर बिदा दिइएको बताए ।

झापामा बुधबार र बिहीबार यो वर्षकै धेरै गर्मी भएको छ । बिहीबार झापाको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको गुगलको रेकर्डमा उल्लेख थियो ।

यसैबीच अत्यधिक गर्मीका कारण झापामा ब्यवसायिक रुपमा कुखुरापालन गरेका किसानको कुखुरा मर्न थालेका छन् । गर्मीले ब्रोइलर तथा लेयर्स जातका कुखुरा मरेको किसानहरुले बताएका छन् । दमक नगरपालिका–९ को पञ्चमुखी कृषि फार्मका सञ्चलक देवराज अधिकारीले दुई दिनमा करिब २०० वटा कुखुरा मरेका बताए । गर्मी अझै बढे वा लम्बिएमा कुखुरा जोगाउन चुनौति रहेको पूर्वाञ्चल अण्डा उत्पादक संघका पूर्वसचिव समेत रहेका अधिकारीले बताए ।

चार हजार लेयर्स कुखुरा पालेका उनले अण्डाको उचित मूल्य नपाइरहेका बेला कुखुरा नै मर्न थालेपछि थप समस्या भएको बताए । यस्तो बेलामा कुखुरा जोगाउन खोर शीतल बनाउनु पर्ने, पानीमा ग्लुकोज तथा भिटामिन मिसाएर कुखुरालाई दिनुपर्ने जस्ता उपायले लागत बढ्ने अधिकारीले बताए ।

अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाईको फर्ममा पनि दुई दिनमा करिब डेढ सय कुखुरा मरेका छन् । दमक–१० मा रहेको उनको दमक एग्रिकल्चर फर्ममा ‘फेन्ट’ भएका त्यति नै संख्याका कुखुरालाई छहारीमा राखेर स्याहार गरिरहेको उनले जनाए ।

एक सयको हाराहारीमा रहेका जिल्लाका व्यवसायिक फर्ममा पनि कुखुरा मरिरहेको खबर आएको प्रसाईले बताएका छन् ।
गर्मीका कारण विभिन्न रोगको संक्रमण फैलिन सक्ने खतरा समेत रहेको भन्दै पशु चिकित्सकहरुले सुरक्षात्मक उपाय अपनाउन सुझाव दिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here