सुत्केरी महिलाको स्वास्थ्यमा खेलबाड !

0
497

भद्रपुर।

मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति गृहमा सुत्केरी महिलाको स्वास्थ्यमाथि खेलबाड हुने गरेको पाइएको छ ।

गर्भवती महिलालाई अस्पतालमा चिकित्सकको सहयोगमा नर्मल वा शल्यक्रियाको माध्यमबाट सुत्केरी गराइन्छ । प्रसूतिपछि अप्रेसन थिएटरबाट बाहिर निकालेका बिरामीलाई बेडसम्म लैजाने सहज प्रक्रिया अस्पताल प्रशासनले नअपनाउँदा उनीहरूको स्वास्थ्यमाथि खेलबाड भइरहेको पाइएको हो ।

अप्रेसन थिएटरबाट निकालिएका सुत्केरी महिलाको स्वास्थ्यलाई ख्याल गर्दै अस्पतालका नर्स तथा कर्मचारीले स्टेचरमा राखेर माथिल्लो तलासम्म बिरामीलाई सुरक्षित तवरले लैजानु पर्ने हुन्छ । तर, अस्पतालका नर्स तथा कर्मचारीले त्यसो नगरेर बिरामीका आफन्तलाई बोलाएर सुत्केरी बिरामी राखिएको स्टेचर जिम्मा दिएर सोझै सिंढीबाट माथिल्लो तलको बेडसम्म पु¥याउन लगाउँदा बिरामीहरू असुरक्षित हुन थालेका छन् ।

शल्यक्रिया गरिएका बिरामीको स्वास्थ्यप्रति अस्पताल व्यवस्थापन समितिले खासै चासो नदेखाउँदा उनीहरूको स्वास्थ्यमा चुनौति थपिएको बिरामीका आफन्तहरूले बताउन थालेका छन् । अस्पतालको प्रसूति गृह आफंैमा जीर्ण छ, त्यसमाथि घुमाउरो सिंढीबाट बिरामीलाई बेडसम्म लैजानु निक्कै चुनौतिपूर्ण रहेको बिरामीका आफन्त तारादेवी बास्तोलाले बताइन् । ‘स्टेचरमा राखेर बिरामीलाई सिँढीबाट बोकेर माथिसम्म लैजाँदा ५ देखि १० मिनेट लाग्छ’ –बाँस्तोलाले भनिन्– ‘त्यस अवधिमा कुनै दुर्घटना भए कसले जिम्मेवारी लिन्छ ?’

अप्रेसन थिएटर र बिरामी राख्ने बेड एउटै तलामा हुनुपर्ने बताउँदै बाँस्तोलाले भनिन्– प्रसूति गृहको अप्रेसन थिएटरबाट स्टेचरमा बिरामी राखेर चढाउन डिसेब्लेट र्याम्प छ, अस्पतालले त्यसको प्रयोग किन गर्दैन ? त्यति मात्र नभएर प्रसूति गृह भवन भित्र र बाहिर फोहोरमैलाले दुर्गन्धित छ । बिरामी र बिरामीका कुरुवा फोहोर मैलाकै कारण बिरामी पर्न सक्छन् – बिरामीका आफन्त सीता विष्टले थपिन् ।

अस्पतालको शौचालय फोहोर भएकै कारण अस्पताल भित्र बस्न समेत कठिन हुने गरेको अर्की आफन्त चन्द्रकला बाँस्तोलाले गुनासो पोखिन् । उनले भनिन् –‘अत्यधिक गर्मी छ, तर, प्रसूति गृहमा पङ्खा छैन ।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बिमारीहरूका आफन्तले राखेको समस्यालाई स्वीकार्दै पुरानो अस्पताल भएका कारण समस्या आएको बताए । देखिएका समस्यालाई समाधान गर्न अस्पताल प्रशासन तयार रहेको बताउँदै मेसु डा. ठाकुरले भने– ‘निर्माणाधीन अवस्थामा रहेको नयाँ अस्पताल भवन प्रयोगमा आए लगत्तै यस्ता सबै समस्याको समाधान हुन्छ ।’

भारत सरकारको २१ करोडको सहयोगमा वि.सं. २०६४ सालमा मैनाचुली निर्माण सेवाले अस्पतालको प्रसूति गृह बनाएको थियो ।

अञ्चलस्तरीय सरकारी अस्पताल रहेको भद्रपुरमा प्रसूति र गर्भावस्थाको चेकजाँच गराउन आउने महिलाको सङ्ख्या बढ्न थालेको छ । सो प्रसूति गृहमा दैनिक ६ देखि १० जनासम्म महिलाहरू सुत्केरी गराउनका लागि आउने गरेको अस्पताल स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here