झापा।
भवन ऐन २०५५ अनुसार नगर क्षेत्रमा कुनैपनि निजी वा सरकारी भवन निर्माण गर्दा नक्सा पास गर्नुपर्ने प्रावधान रहेको छ । तर, बिर्तामोड नगरपालिका भित्र रहेका कुनै पनि सरकारी कार्यालयले नक्सा पास गरेका छैनन् ।
नगरपालिकाले २०७२ साल साउन १७ गते नै घर नक्सा पास सम्वन्धि सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र निर्माण भएका घरलाई पास गर्न र नयाँ भवन निर्माण गर्दा नक्सा पास नगरी भवन निर्माण नगर्न आग्रह गरेको थियो । तर, बिर्तामोडका कुनैपनि सरकारी कार्यालयले भवन नक्सा पास नगरेको बिर्तामोड नगरपालिकाका इञ्जिनियर गणेश अर्यालले जानकारी दिए । उनले भने – नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गर्दा समेत कुनै पनि सरकारी कार्यालयले नक्सा पास गरेका छैनन् ।
सरकारी कार्यालयले नै नक्सा पास नगर्दा कर छलीसँंगै कानूनको समेत उल्लङ्घन भएको छ । २०७३ असोज १२ गते भित्र नगरक्षेत्रमा रहेका सवै सरकारी कार्यालय र निजी भवनको नक्सा पास गर्न सार्वजनिक सूचना जारी गरिएपनि अहिलेसम्म सरकारी कार्यालयले नक्सा पास गरेका छैनन् । अधिकांश निजी घरले समेत नक्सा पास नगरेको बताइएको छ ।
सरकारी निकायले नै नक्सा पास नगरी भवन निर्माण गर्दा र निर्माण गरिएका भवनको समेत नक्सा पास नगर्दा आचारसंहिताको उल्लङ्घन भइरहेको पाइएको छ । नगरपालिकाले नक्सा पास गरेवापत असुल गर्नुपर्ने लाखौं रुपैयाँसमेत अहिले नोक्सान भएको छ ।
गत आर्थिक वर्ष बिर्तामोड नगरपालिकामा १ हजार ३ सय १९ वटा घर निर्माण भएका थिए । चालू आर्थिक वर्षमा ५ सय ४ वटा घर निर्माण सम्पन्न भएका छन् । तर, गत आर्थिक वर्ष ५ सय ७ जनाले मात्रै इजाजत लिएका थिए । यस आर्थिक वर्षमा ३ सय १ जनाले मात्रै इजाजत लिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन २०७४को परिच्छेद ७ मा भवन निर्माण तथा सडक सम्वन्धि व्यवस्था गरेको छ । जुन व्यवस्थामा पनि नक्सा पास नगराई भवन निर्माण गर्न नहुने भनिएको छ ।