झापा।
सबै नागरिकलाई स्वस्थ राख्न प्रदेश सरकारले प्रदेश नम्वर १ मा ‘स्वस्थ जीवन कार्यक्रम’ लागू गरेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला स्वास्थ्य कार्यालय झापाले बुधवार बिर्तामोडमा सार्वजनिक स्थलको सरसफाईका सम्बन्धमा सरोकारवालालाई जानकारी गराएको हो ।
असार ६ झापाको बिर्तामोडबाट ‘स्वस्थ जीवन कार्यक्रम’को उद्घाटन गर्दै प्रदेश नम्वर १ का १४ वटै जिल्लामा सो कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका कार्यक्रम संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार कार्यक्रमको उद्घाटन प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । कार्यक्रममा स्वस्थ रहन अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिइने बताइएको छ । अभियान अन्तरगत एक घर पाँच जडिवुटीको अवधारणा समेत अघि सारिएको बताइएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख डा. मधुशुधन कोइराला, भेक्ट्रोकल कन्ट्रोल अधिकृत वेद प्रकाश घिमिरे, कुलप्रसाद पौडेल लगायतले अभियानको विषयमा जानकारी दिएका थिए ।
यसैबीच कार्यक्रमका विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम संयोजक आचार्यले एक घर, पाँच योग र पाँच जडिबुटी कार्यान्वयन गर्ने जानकारी दिए ।
खाना, व्यायाम र आराम व्यवस्थित नहुँदा मानव जीवनशैली अस्वस्थ भएको बताउँदै उनले स्वस्थ जीवन शैलीका लागि अपनाउनु पर्ने उपायका बारेमा बताएका थिए । अभियानको प्रारम्भमा ६ गते बिहान ५ः३० बजे योग शिविर, बिर्तामोड सरसफाई, बृक्षरोपण गर्ने कार्यक्रम तय भएको छ ।
सबै कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता हुनेछ । सोही दिन दिउँसो बृहत् कार्यक्रम आयोजना गर्दै मुख्यमन्त्री राईले अभियानकोे प्रारम्भ भएको घोषणा गर्नेछन् । अभियान स्थानीय सरकारको तहबाट गाउँगाउँसम्म पु¥याउने योजना रहेको छ ।