विनोद सापकोटा / झापा।
झापामा जनता आवास कार्यक्रम आइतवारदेखि शुरु हुँदैछ । जिल्लाका १५ वटै स्थानीय तहमा आजबाट एक साथ जनता आवास कार्यक्रमका घरहरु निर्माण हुने भएका हुन् ।
संघीय सरकारले प्रदेश सरकारलाई जनता आवास कार्यक्रमका लागि दिएको सशर्त अनुदानबाट घर निर्माण हुन लागेको झापा निर्वाचन क्षेत्र नम्वर ४ (क) का सांसद झलकवहादुर दर्लामी मगरले बताए । उनका अनुसार एउटा घर निर्माणका लागि सरकारले कररहीत ३ लाख ३२ हजार ५ सय रुपैयाँ दिएको छ । उक्त रकमवाट सरकारले १७ हजार ५ सय कर असुल्ने छ ।
निर्वाचित प्रदेश सांसदको संयोजकत्वमा सहायक प्रमुुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेको समितिको सदस्यमा सचिव शहरी विकास कार्यालय इलामका प्रमुख रहने व्यवस्था छ । वडा कार्यालय, नगर वा गाउँपालिकाबाट आएको सुझावको आधारमा सरकारले सूचीकृत गरेको सीमान्तकृत जातिलाई जनता आवास कार्यक्रम मार्फत घर निर्माण गर्ने प्रदेश सांसद मगरले जानकारी दिए ।
सांसद मगरको निर्वाचन क्षेत्रमा ५५ वटा घर र निर्वाचन क्षेत्र नम्बर ४ (ख) हिरा थापाको निर्वाचन क्षेत्रमा ८ वटा घर निर्माण हुने बताइएको छ । २ वटा कोठा एउटा भान्सासहित बरण्डा भएको घर निर्माण हुने प्रदेश सांसदले मगरले बताए । सांसद मगरका अनुसार शिवसताक्षी नगरपालिकामा ३३ वटा, गौराहद नगरपालिका वडा नम्वर ५ मा ५ वटा, गौरीगञ्ज वडा नम्बर २ मा ६ वटा र सोही गाउँपालिकाको वडा नम्बर १ मा ६ वटा घर निर्माण हुने छन् ।
आफंैले जोतभोग गरेको जग्गामा सरकारले जनता आवास कार्यक्रम अन्तर्गतका घर हरु निर्माण गर्न लागेको बताइएको छ । शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा रणवहादुर सुन्दास र तारादेवी दर्जीले साउनदेखि भूकम्प प्रतिरोधात्मक जनता आवास कार्यक्रमबाट घर पाउने भएका छन् । यस्तै वडा नम्वर ८ का गोविन्द ऋषिदेव, पदमवहादुर बिक, बुद्धिमान बिकले पनि जनता आवास कार्यक्रम मार्फत घर पाउने प्रदेश सांसद मगरले बताए ।
यता गौरीगञ्ज गाँउपालिकाकी रामुदेवी चमेनाले पनि घर पाउने भएकी छन् । आफ्नै जग्गा भएपनि वर्षेनि आउने बाढीले बगाएर आफन्तको घरमा बस्दै आएकी चमेनाले अब आफ्नै घर मा बस्न पाउने भएकी हुन् । गौरादहकी मुना कर्माकार पनि आफ्नो घर नहुदाँ छिमेकी र आफन्तकोमा बस्दै आएकी थिइन् । उनले पनि घर पाउने भएकी छन् ।
यस्तै जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले पनि झापाका १५ वटै स्थानीय तहमा दामासाहीले ५÷५ वटा घर निर्माण गर्ने र यो सँंगै झापामा ४ सय ७७ वटा घर निर्माण हुने भएको हो । झापामा असारभित्रै निर्माण सम्पन्न हुने गरी सरकारले जनता आवास कार्यक्रमको लागि १६ करोड ६९ लाख ५० हजार रुपैयाँ खर्च गर्ने बताइएको छ ।
यसैबीच प्रदेश सांसद मगरले शिवसताक्षी नगरका सुकुम्वासीलाई जग्गासहित घर निर्माण गरिदिएर एकीकृत वस्ती निर्माण गर्ने बताएका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बच्चावगरका रमेश मिश्रले निःशुल्क दिएको १ विगाह जग्गा क्षेत्रमा एकीकृत वस्ती निर्माण गर्न लागेको सांसद मगरले जानकारी दिए ।