विषादियुक्त फलफूल रोक्न झापामा बगैंचा बिकास कार्यक्रम

0
615

पार्थ मण्डल / भद्रपुर।

पछिल्लो समय भारतबाट विषादियुक्त फलफूल नेपाली बजारमा भित्रिन थालेपछि यसको रोकथामका लागि प्रधानमन्त्रीको गृह जिल्ला झापामा वृक्षरोपण (फलफूल बगैँचा विकास) कार्यक्रम सञ्चालन हुँदैछ ।

उदयपुरको गाईघाटस्थित वृहत् जलाधार व्यवस्थापन केन्द्र कोशीले प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लालाई उच्च प्राथमिकतामा राखेर वृक्षरोपण (फलफूल बगंैचा विकास) कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रधानमन्त्रीको समृद्धि तथा खुसी नेपाली अवधारणा अन्तरगत समुदायले छोटो समयमै आयआर्जन गर्न सक्ने उद्देश्यका साथ फलफूल बगैँचा विकास कार्यक्रम झापामा सञ्चालन गर्न लागेको वृहत् जलाधार व्यवस्थापन केन्द्रका प्रमुख उद्धवबहादुर घिमिरेले जानकारी दिए । उनका अनुसार वृहत् जलाधार व्यवस्थापन केन्द्रले प्रदेश १ का १४, प्रदेश २ र ३ का ५÷५ वटा जिल्ला गरी २४ वटा जिल्लाहरूमा यो कार्यक्रम विस्तार गर्दै लगिने छ ।

‘वन तथा वातावरण मन्त्रालयले वन तथा भू–संरक्षण विभागमार्फत चालू आर्थिक वर्षमा वृक्षरोपण कार्यक्रमका लागि २५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ’– उनले भने– ‘सो कार्यक्रम बमोजिम यही असार मसान्तभित्र झापा र उदयपुरलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुँदैछ ।, यसका लागि उपयुक्त जमिनको खोजीमा केन्द्र रहेको जानकारी गराउँदै उनले भने– ‘जमिन प्राप्त भएपछि डिभिजन वनको सहकार्यमा सामुदायिक वनसँग मिलेर कार्यक्रम थाल्छांै ।’

उपयुक्त जमिनको अवलोकन

डिभिजन वन कार्यालय झापाको सहकार्यमा वृहत् जलाधार व्यवस्थापन केन्द्रको टोलीले झापाका केही सामुदायिक वन छनौट गरी जमिन हेर्ने काम शुरु गरेको छ ।

केन्द्रका प्रमुख घिमिरे, इञ्जिनियर वीरेन्द्र महतो र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुप्रसाद घिमिरे सहितको टोलीले फलफूल वृक्षरोपणका लागि झापाका तीनवटा सामुदायिक वन अन्तरगत पर्ने जमिनको स्थलगत अवलोकन गरी छनौट प्रक्रिया अघि बढाइसकेको छ ।

झापामा कार्यक्रम सञ्चालन हुने भएपछि डिभिजन वनले भद्रपुरस्थित चन्द्रगढ, राम पोखरी सामुदायिक वन र दमकस्थित हम्सेदुम्से सामुदायिक वनको जमिन छनौट गरेको डिभिजन वन प्रमुख घिमिरेले जानकारी दिए ।
‘तीन वटामध्ये चन्द्रगढ र हम्सेदुम्सेको जमिन हेरिसकेका छौ’–उनले भने– ‘केन्द्रको टोलीले पनि सो जमिन फलफूल वृक्षरोपणका लागि उपयुक्त मानेको छ, अब इञ्जिनियर सहितको टोलीले सामुदायिक वनसँग सम्झौता गरी कार्यक्रम अघि बढाउँछ ।’

दुई वर्षभित्रै फल दिने बोट लगाइने

वृहत् जलधार व्यवस्थापन केन्द्रका प्रमुख घिमिरेका अनुसार एक हेक्टरदेखि पाँच हेक्टर जमिनमा फलफूल बगैँचा विकास कार्यक्रम सञ्चालन हुनेछ । ‘बगैँचामा आँप, लिची र अम्बक जातका वृक्षरोपण गर्ने छांै– उनले भने– ‘पाँच वर्षसम्मका ती जातका ५० हजार बोटबिरुवा लहानमा छन्, त्यहींबाट ल्याएर रोप्ने छौं ।’

आँप, लिची र अम्बक छिटो फल्ने भएकोले बिरुवा रोपेको दुई वर्षभित्रै फल दिन्छ र विषादिरहीत फलफूलबाट समुदायले राम्रो आम्दानी गर्ने लक्ष्य लिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here