‘अविराम’ ले दिएको सन्देश

१८ श्रावण २०७६, शनिबार मा प्रकाशित

संस्कृति रिजाल,

समाज, सामाजिक यथार्थ, सामाजिक दृष्टिकोण, सामाजिक परिवेश र सिंगो सामाजिक चरित्रलाई नाटक ‘अविराम’ले उदाङ्गो पारेको छ । यो नाटक युवा रंगकर्मी एन्जल खड्काले लेखन तथा निर्देशन गरेका हुन् ।

नाटकमा कलाकारहरुले समाजको गम्भीर बिषयमा अभिनयका मार्फतबाट सामाजिक चरित्रलाई उजागर गरेका छन् । नाटकमा जातीयताको कथा, पीडा या ताडना जे भनौ त्यसलाई कलाकारहरुले जिवन्त ढंगबाट प्रस्तुत गरेका छन् ।

कलाकारहरुको अभियन अब्वल छ । नाटक हेरिरहँदा दर्शकले प्रत्येक मिनेट आफूलाई फरक पात्रको रुपमा पाउँछन् । दर्शकहरुलाई यो नाटक मात्र नभएर यथार्थ हो भन्ने आभाष हुन्छ । सामान्य गाउँले जीवनको चरित्र उठान गरेर तयार पारिएको नाटक ‘अविराम’ मा समाजका जटिल विषयहरुको चित्रण गरिएको छ ।

हामीले शताब्दीदेखि भोगेको नेपाली समाजको जातीय छुवाछुत जस्तो जघन्य अपराध र त्यसले समाजमा पार्ने असर, मनमुटाव, पारिवारिक बिछोड, प्रेम बिछोडलाई देखाएको छ । नाटक हसाउने र रुवाउने दुबै चिजले भरिएको छ । कुनै बेला दर्शक पेट मिचि–मिचि हाँस्छन् भने कुन बेला उनीहरु आँखाबाट आँशु पनि झर्छ ।

समाजमा सामान्य लाग्ने जातीय घटना, नाटक हेरिरहँदा जटिलसँगै पात्रको जिन्दगी आफू भोगिरहेको भान हुन्छ । विभिन्न हेपाइ, पीडा सहेर बसेका मान्छेको वास्तविक कथा नाटकमा प्रस्तुत गरिएको छ । सामाजिक रुपमा दलित समुदाय समाजको जटिलता छिचोलेर अवसर सम्पन्न हुन नसकिरहेको या समाजले नदिइरहेको अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ ।

समाज, वर्ण, जात, वर्गका कारण अन्तरजातीय विवाहमा हुने जटिलता नाटकमा पाउन सकिन्छ । नाटकमा पीडा, दुःख, बेदनासँगै प्रेमका रोचक दृश्यहरु पनि देखाइएको छ । एक घण्टा दश मिनेटको नाटक निर्देशनमा युवा रंगकर्मी एन्जल खड्काको अब्बलता देख्न सकिन्छ ।

नाटक मञ्चन भइरहँदा, परिवेश अनुसारको व्यवस्थापन (जस्तैः लाइट, मञ्च, संगीत) नाटकमा पाउन सकिन्छ । व्यवस्थापन, निर्देशन र अभिनयका कारणले नयाँ शैलीको प्रस्तुतीकरण भएकाले नाटक राम्रै बनेको देखिन्छ ।

एञ्जल खड्का, कविता नेपाल, अभिषेक गर्तौला, गणेश बस्नेत, अनिष बस्नेत, शिशिर चम्लागार्इं, लोमश पौडेल, सजिता तामाङ र प्रतिक्षा आचार्यको नाटकमा अभिनय रहेको छ । नेपथ्यमा राहुल ठाकुर र पूजा आचार्यले प्रकाश र संगीतमा राम्रो र काम गरेका छन् । परिवर्तन थिएटर काँकरभिट्टामा गत शुक्रबारदेखि शुरु भएको नाटक भोलिसम्म चल्नेछ ।

परिवर्तन थिएटर काँकरभिट्टाले विविध विषयवस्तुहरुमा केन्द्रित रहेर नाटक मञ्चन गर्दै आइरहेको छ । समाजमा रहेका विकृति, विसंगति हटाउन प्रयत्नरत् थिएटरले स्थानीय कलाकारहरुको कलाकारिता तिखार्न मद्दत पुर्याएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here