भारतको जीएसटीका कारण माछाको भुराको आयात शून्य

१८ श्रावण २०७६, शनिबार मा प्रकाशित

मेचीनगर।

सरकारले व्यवसायिक माछापालनका लागि रकम अनुदान दिन थाले लगत्तै भारतीय माछाको आयातमा समेत कमी आएको छ ।

पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार छ वर्षयता पूर्वीनाकाबाट हुने खाने माछाको आयात क्रमशः ओरालो लाग्दैछ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०÷२०७१ देखि बितेको आर्थिक वर्ष २०७५÷०७६ सम्म आइपुग्दा खाने माछाको आयातमा उताव चढाव देखिन्छ । आर्थिक वर्ष २०७०÷२०७१ मा पूर्वीनाका भएर दुई हजार ७९ दशमलव ८४ मेट्रिक टन खाने माछा आयात भएको थियो । बितेको आर्थिक वर्ष २०७५÷०७६ मा १३ दशमलव ८२ प्रतिशत मेट्रिक टन मात्र खाने माछा आयात भएको तथ्याङ्क कार्यालयसँग छ ।

कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिहंका अनुसार यो आयात अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा १२ प्रतिशतले घटेको हो । उनका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार पाँच सय ६० दशमलव आठ मेट्रिक टन खाने माछा आयात भएको थियो ।

आर्थिक वर्ष २०७१÷०७२ मा यो नाका हुँदै दुई हजार एक सय आठ दशमलव ६६ मेट्रिक टन खाने माछा आयात भएको थियो भने आर्थिक वर्ष २०७३÷ २०७४ मा एक हजार छ सय ७४ दशमलव नौ सय ८८ मेट्रिक टन मात्र खाने माछा आयात भएको तथ्याङ्क कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा तीन दशमलव ५१ प्रतिशतले आयात घटेको सिहंले बताए । उनका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा एक हजार सात सय ३६ मेट्रिक टन खाने माछा आयात भएको थियो । नेपाल सरकारले व्यवसायिक रुपमा माछा पालनमा किसानलाई पोखरी खन्नका लागि रकम अनुदान दिएका कारण व्यवसायिक माछा पालनमा कृषकको आर्कषण बढेको उनको भनाई छ ।

त्यसैगरी, व्यवसायिकरुपमा नेपालमा माछा पाल्न थालेपछि भारतबाट हुने माछाको भुराको आयातमा भने बृद्घि भए पनि बितेको आर्थिक वर्ष २०७५÷०७६ मा यसको आयात शून्य छ । किसानले धमाधम पोखरी खनेर व्यवसायिकरुपमा माछापालन गर्न थालेपछि भुराको आयातमा बृद्घि भएको थियो । तर, पछिल्लो समय भारतले जीएसटी अनिवार्य गरे सँगै अहिले भारतबाट माछाका भुरा आउनेक्रम रोकिएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७०÷०७१ मा पूर्वी नाका भएर २५ लाख ६३ हजार वटा माछाका भुरा नेपाल आयात गरिएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा त्यो संख्या बढेर ३२ लाख ८८ हजार चार सय वटा पुग्यो । कार्यालयको तथ्याङ्क अनुसार आर्थिकवर्ष २०७२÷०७३ मा २० लाख दुई हजार वटा माछाका भुरा आयात भएको थियो । आर्थिक वर्ष २०७३÷ २०७४ मा त्यो संख्या छ दशमलव ५५ प्रतिशतले बढेर २१ लाख ३१ हजार चार सय वटा पुगेको छ । आर्थिक वर्ष २०७४÷२०७५ मा आइपुग्दा एक लाख ८३ हजार एक सय वटामा झरेको पशु चिकित्सक सिंहले बताए ।

बितेको आर्थिक वर्ष २०७५÷०७६ मा त यसको आयात शून्य छ । देशका विभिन्न भागमा व्यवसायिकरुपमा माछापालन शुरु भएर आफ्नै देशमा माछा उत्पादन हुन थालेपछि माछाका भुराको आयातमा बृद्घि हुने गरेको थियो र तर, जीएसटी कारण पछिल्लो वर्ष आयात ठप्प छ । माछाको भुराको आयातमा कमी आउनु भारतले लगाएको जीएसटी नै भएको सरकारी अधिकारीको भनाई छ ।

नेपालमै धमाधम माछापालन गर्न थालेपछि खाने माछाको आयातमा कमी हुन थालेपछि सिद्रा माछाको माग समेत नेपालमा घटेको छ । फ्रेस माछा स्थानीय स्तरमै उत्पादन हुन थालेपछि उपभोक्ताको आर्कषण सिद्रा माछामा घटेका कारण माग घटेको हो ।

आर्थिक वर्ष २०७०÷०७१ मा ८८ दशमलव ५३ मेट्रिक टन आयात भएको सिद्रामाछा आर्थिक वर्ष २०७१÷०७२ मा एक्कासी बढेर दुई सय ६८ दशमलव १६ मेट्रिक टनमा उक्लिएको थियो । त्यसपछिका वर्षमा यो आयात ओरालो लागेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा एक सय पाँच दशमलव ९८ मेट्रिक टनमा सिद्रा आयात भए पनि लगत्तै आर्थिक वर्ष २०७३÷२०७४ मा पूर्वीनाका भएर ८३ दशमलव एक सय १४ मेट्रिक टन मात्र सिद्रा आयात भएको थियो ।

यो संख्या आर्थिकवर्ष २०७२÷०७३ को तुलनामा २१ दशमलव ५८ प्रतिशतले कमी हो । त्यो वर्ष एक सय पाँच सय दशमलव नौ सय ८७ मेट्रिक टन सिद्रा माछा आयात भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७४÷२०७५ मा ७६ दशमलव ३६ तथा वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा ७५ दशमलव पाँच प्रतिशत मेट्रिक टन सिद्रा माछा आयात भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here