समस्या समाधानका लागि संवाद समूहलाई आग्रह

१८ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

झापाको गौरीगञ्ज गाउँपालिकामा भएका समस्याहरुको पहिचान गरी संवादको माध्यमबाट निराकरण गर्न संवाद समूह झापालाई पहल गरिदिन गाउँपालिकाका जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।

गौरीगञ्ज गाउँपालिकाको आयोजना तथा संवाद समूह झापाको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिकामा रहेको लोकसेवा अतिथि सदनको नाममा रहेको जग्गा विवाद, विकास निमार्णमा भएको ढिलासुस्ती, नदी कटान, दशगजा नजिक नेपालतर्फ रहेको ऋषिदेव बस्तीको सुरक्षा, गाउँपालिकामा निर्माण भएको शिक्षा ऐनको कार्यान्वयन, स्वास्थ्य चौकी र सीमा प्रहरी चौकीको व्यवस्थापन लगायतका समस्या रहेको जनप्रतिनिधिहरुले बताएका थिए ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले वार्ड नं. ३ मा रहेको लोकसेवा अतिथि सदनको जग्गा भूमाफियाहरुले बेच्न लागेको भन्दै उक्त सार्वजनिक जग्गालाई संरक्षण गर्न संवादको माध्यमबाट प्रयास गरिदिन संवाद समूहलाई आग्रह गरेका थिए । अध्यक्ष श्रेष्ठले लोकसेवा अतिथि सदनको जग्गा २०३९ सालमा दाताले लोकसेवा सदनको नाममा दान दिएको तर उक्त जग्गा २०६९ सालमा मात्र संस्थाको नाममा दर्ता भए पनि उक्त जग्गा गाउँपालिकाको सम्पत्ति रहेको जिकिर गरे ।

उनले लोकसेवा सदनको नाममा रहेको करिब १७ कठ्ठा जग्गा र अन्य धानखेतको जग्गाको विषयमा अदालतले गाउँपालिकाको नाममा जारी गरेको निषेधाज्ञा परिपत्रमा गाउँपालिकाले उक्त जग्गामा केही नगर्नु नगराउनु भनी आदेश आएको र त्यसलाई गाउँपालिकाकाले गम्भीर भएर अध्ययन गरिरहेकोले त्यस जग्गालाई संरक्षण सबैले सहयोग गनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाको वार्ड नं. ४ मा रहेको स्वास्थ्यचौकी र सीमा प्रहरी चौकी रहेको कार्यालयलाई एकै स्थानमा ल्याई व्यवस्थित गर्न ती कार्यालयका जग्गालाई सट्टापट्टा गर्दा आइपर्ने कानूनी समस्या समाधान गर्न परामर्श गरिदिन संवाद समूहलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपीन्द्र थापाले गाउँपालिकाको शिक्षा ऐन गाउँ सभाबाट पारित भए पनि कार्यान्वयन गर्ने सवालमा समस्या रहेकोे बताए । उनले संघ र प्रदेशको कानून, ऐन र नियमावलीलाई टेकेर बनाइएको शिक्षा ऐनलाई शिक्षक महासंघ लगायतका सरोकारबाला निकायले विरोध गर्नु कुनै तुक नरहेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै शिक्षक छनौट समितिको संयोजक रहेको व्यवस्थालाई खारेज गरी गाउँपालिकाको शिक्षा समितिका संयोजक शिक्षक छनौट समितिका संयोजक रहने भनी ऐन बनाएकोमा कुनै त्रुटी नरहेको बताए ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिका वार्ड नं. २ का वडाध्यक्ष अघनु राजवंशीले गाउँपालिकाको वडा नं. २ मा माईखोलाले सयौ विगाह खेत कटान गरी बस्तीमा पस्न लागेको र त्यसको रोकथामका लागि कहिँकतैबाट पहल र सुनुवाई नभएको बताए ।
त्यसैगरी कार्यक्रममा गाउँपालिकामा भएको विकास निर्माणमा ढिलाई, वार्ड नं.४ मा गेउरिया खोलाको कटानबाट ऋषिदेव टोल नै विस्तापित हुन सक्ने अवस्था आएको र त्यसलाई रोकथाम गर्न तटबन्धन गर्न खोजे पनि भारतीय पक्षले नदिएकाले समस्या उत्पन्न भएकोले संवादको माध्यमबाट निराकरण गर्न संवाद समूह झापालाई पहल गरिदिन गाउँपालिकाका जनप्रतिनिधिहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकाको रुपमा स्थापित गर्न मन्त्रीस्तरीय निर्णय भए पनि जग्गाको व्यवस्था गर्न समस्या रहेको बताइएको थियो । नाका स्थापना गर्न कम्तिमा १० विगाह जग्गा आवश्यक रहेकोले उक्त जग्गा व्यवस्थापन गर्न बस्ती नै सार्नुपर्ने समस्या रहेकोले त्यसको संवादको माध्यमबाट निराकरण गर्न संवाद समूह झापालाई पहल गरिदिन गाउँपालिकाका जनप्रतिनिधिहरुले आग्रह गरेका थिए ।

संवाद समूह झापाकी सदस्य शारदा रिजालले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा वार्ड नं. ३ का वडाध्यक्ष मखना महतो, वार्ड नं. ४ का वडाध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का वडाध्यक्ष विजयकुमार सिंह गन्गाई, कार्यपालिका सदस्य जेठा मुर्मू, पत्रकार आत्माराम राजवंशी लगायतले गौरीगञ्ज गाउँपालिकामा भएका समस्याहरुको पहिचान गरी संवादको माध्यमबाट निराकरण गर्न संवाद समूह झापालाई पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here