‘आमा म विदेश जान्न’

२८ भाद्र २०७६, शनिबार मा प्रकाशित

कथा

टिका न्यौपाने
‘आ….. मा……।’
‘आ…… मा…..।’
‘आ…. मा…….।’
गाँउ नै थर्किने गरी आएका यिनै आवाज र प्रतिध्वनिहरु जब कान्छीमायाका कानभित्र प्रवेश गरे, तब उनले चाल पाइहालिन कि यी आवाजहरु अरु कसैको नभएर उनको एक्लो छोरो राजुको थियो ।

‘यो केटोले पनि खाली पिरोल्ने मात्र काम गर्छ, केही पनि गर्न दिँदैन ।’ एक डोको घाँसको भारी फ्यात्त भुँइमा बिसाएर कान्छीमाया घर फर्किन् र घरको कोठाको चुकुल खोलिदिइन् जहाँ उनले आफ्नो छोरा राजुलाई थुनेर राखेकी थिइन् । फुक्काफाल भएपछि राजु निस्केर ओरालै ओरालो दौडियो जहाँ उसका दौँतरीहरु उसलाई पर्खिरहेका थिए ।

राजु करिब ११ वर्षको हुँदो हो । हुर्किँदै गरेको उमेरमा उदण्डपन पनि हुर्किँदै थियो । जसलाई कान्छीमायाले जसोतसो सम्हाल्न खोजिरहेकी थिइन् । उसका बा घरमा थिएनन् । उसलाई ४ वर्षे उमेरको धमिलो याद थियो कि उसका बा निधारभरि हजुरआमाका हातका राता अक्षता लगाएर मुग्लान पसेका थिए, फर्केर आएका थिएनन् । गाँउको विकटता पनि उस्तै थियो । अहिलेको जस्तो सामाजिक सञ्जालको त कुरै छाडौँ, आधारभूत सञ्चारको समेत सुविधा थिएन । बाहिर गएको मान्छे फर्केर नआएसम्म के भइरहेको छ कसो छ थाहा हँुदैनथ्यो । सास रहुञ्जेल आश भने झैँ यही आशको त्यान्द्रो टिप्दै क्षितिजसम्म आँखा डुलाउँदै कान्छीमाया पर्खेर बसिरहेकी थिइन् । केही मान्छेहरु त उनको श्रीमान् मरिसक्यो भन्दै केही गाँइगँुइ हल्ला पनि गर्थे तर विश्वास भने गरिहालेकी थिइनन् ।

दशौँ वर्षहरु बिते । बित्दै गएका समयहरुसँगै राजुका काँधमा जिम्मेवारीका बोझहरु थपिँदै गए । कान्छीमायाका पनि निधारमा उमेरले कोरिँदै गएका सीमारेखा पनि स्पष्ट देखिन थालेका थिए । वास्तवमा पारिवारिक जिम्मेवारीमा पुस्ता हस्तान्तरण को बेला भएको थियो । जुन कुरा राजुको काँधमाथि राखेर कान्छीमाया व्यवहारिक जीवनबाट सन्यास लिन खोजिरहेकी थिइन् । गाँउमा फेरि ‘एमआरपी’ बनाउने लहर चल्यो । जिल्ला प्रशासन कार्यालय उमेरदारी युवाहरुद्वारा भीडमग्न भयो । प्रत्येक युवाहरु आफ्नो हातमा ‘एमआरपी’ बोकेर अनिश्चत भविष्यको खोजीमा हवाईजहाजमा उड्न थाले ।

‘आमा म पनि अब विदेश जाने…………’
‘हन के भन्दैछ यो ? वाक्य सकिन पाएको थिएन, झसंग भई कान्छीमायाले प्रश्न सोधिहालिन् ।’
‘खै सबै केटाहरु गइराखेका छन् । उता गएर निक्कै पैसा कमाइसके होलान् । म मात्रै यहाँ बेरोजगारी । मलाई त गाँउ बस्नै दिक्क लागिसक्यो ।’

‘के उता चाहिँ पैसाको बोट छ भन्ठान्या छस् ? पचास डिग्रीको भुङ्ग्रे घाममा सेकिनु पर्दा थाहा पाउँछस् । कति मान्छे मरेका खबर आँउछ रेडियामा । यहाँ यत्रो खेतबारी बाँभैm छ, खुरुक्क खेत नजोतेर….।’
‘के नेपालबाट गएका सबै मान्छे घामैले मरेका छन् र ? कतिले त प्रगति पनि गरेका छन् । ती कुराहरु चाहिँ किन देख्नु हुन्न तपाई ? दुईचार वर्ष त हो नि, त्यसपछि धेरै पैसा भएपछि आनन्दले बसौँला । हुन्न र आमा ?’ राजु एकोहोरो लिँडेढिपी गर्न लाग्यो । ‘फेरी खेत जोतेर फलाएको अन्न छ महिना पनि खान पुग्दैन ……….।’
निकैबेरसम्म तर्क वितर्कको जुहारी चलिरह्यो । राजुका तर्कसामु कान्छीमाया हार्दै गइन् । अन्ततः राजुले विदेशिने निर्णय ग¥यो ।

अर्को दिन राजु ‘एमआरपी’ बनाउन सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय गयो । निकै बेर भीडको ठेलमठेलपछि ‘एमआरपी’ का लागि निवेदन दियो र एक महिना पछि ‘एमआरपी’ लिएर आयो र पत्रिकाका विज्ञापन हेर्दै विभिन्न मेनपावर कम्पनी धाउँदै अन्तरवार्ता पनि दिन थाल्यो । एक दिन एउटा कम्पनीबाट उ कतारमा कामदारका लागि छनौट भएको जानकारीसहितको फोन आयो । राजुले पनि त्यहीँ जाने निर्णय ग¥यो ।

‘खुइय….।’ लामो सुस्केरासहित कान्छीमाया थचक्क पिँढीमा बसिन् । निराशाका सुस्केराहरु उनका मुखबाट प्रतिध्वनित भइरहे । उनका हातहरु जमेर ठण्डा भए जुन हातहरु उसैलाई हुर्काउन कैँयौपटक पत्थरमा उनले बजारेकी थिइन् । उमेरले सुकाएका जीर्ण रुखका हाँगा जस्ता यिनै हातहरु आज उनको छोराको विदाइमा हल्लिरहन मानिरहेका थिएनन् । सबै सामानहरु तयार भए । राजुले आफ्ना लागि लगाइराख्न केही जोर कपडा किनेको थियो । यसैगरी उसले मेनपावर चार्ज र विदेशमा केही दिनका लागि पकेट खर्चबापत सटहीका लागि केही पैसा बोकेको थियो ।

‘राम्ररी जा है बा । काम राम्ररी गर्नु । तँलाई केही भैगयो भने म बूढी कस्को मुख हेरेर बाँच्नु र ? तेरा बा पनि उमेरमै मुग्लान पसेका थिए फर्केर आएनन् । आजसम्म त तेरै मुख हेरेर बसेकी थिएँ ।’ कान्छीमाया भावविह्वल हँुदै सुक्क सुक्क गर्न थालिन् ।

‘हुन्छ आमा आफ्नो पनि ख्याल राख्नु । धेरै चिन्ता लिनुहुन्छ तँपाई पनि…’ –राजुले भन्यो ।
घरबाट बिदावारी भइवरि राजु बाहिर निस्कियो । कान्छीमायाले आफ्ना आँखाले भ्याउञ्जेल राजुलाई खोज्दै घरभन्दा निक्कै माथिको ‘नाकेडाँडो’लाई हेरिरहिन् ।

राजु नाकेडाँडाको उकालो काट्दै अगाडि बढिरह्यो । राजु जति–जति उकालो चढ्दै गयो उति–उति नै उसको मनभित्र विभिन्न कुराहरु खेल्दै जान थाले । उसका मानसपटलमा खेल्न थाले बाल्यकालमा उसले घर वरिपरि घुम्दै बिताएका पलहरु । उसले सम्झ्यो आफ्नी आमा जसले जन्म दिएर दूधका धाराले हुर्काउँदै, तोतेबोली सिकाउँदै उसलाई यो धर्तीमा पहिचान दिलाएकी थिइन् । उसले सम्झ्यो आफ्नो घरभित्रको मूलखाँबो, जसलाई ऊ समाउँदै फेरा मार्दै हिँड्न सिकेको थियो । उसले सम्झ्यो आफ्नो घर अगाडिको बाटो र पाटाबारीहरु, जहाँ ऊ स्वच्छन्द घुम्दै आफ्नो पूर्णतः स्वतन्त्रताको उपयोग गथ्र्यो । उसले सम्झ्यो आफ्ना दौँतरीहरु जो विदेश जान बाँकी थिए, उनीहरु घरबाट निस्केर उसलाई हेरिरहेका थिए ।

विगतका यिनै सम्झनाहरु बोकेर राजु बोझिलो हिँडाइ हिँड्दै थियो, अकस्मात् उसलाई अब आउने भविष्यको पूर्वानुमानले अझ बोझिलो बनायो । अब आउने भविष्यमा उसका खेतबारीहरु बाँभैm रही काँस र तितेपातीमात्र फूल्नेछन् । अब आउने भविष्यमा उसको गाईगोठ रित्तिने छन् । तथा घरलाई झारहरुले छोप्ने छन् । अब आउने भविष्यमा ऊ जस्ता सबै युवाहरु गाउँबाट पलायन हुनेछन् र टाढाबाट भाडामा मलामी खरीद गरेर ल्याउनुपर्ने हुनेछ । विगतका स्मरणहरु तथा भविष्यका अनुमानहरुले राजुका हिँडाइहरुलाई बोझिलो बनाउँदै थिए ।

अनि….. अनि उसले कल्पना ग¥यो आफ्नी आमाको जसका रुग्ण, निस्सहाय हातहरु कसैबाट सहारा पाउनका लागि फैलिरहेका हुने छन् । अनायासै यो अन्तिम स्मरणले उसको पाइँला रोकियो, जति अगाडि बढ्न खोजे पनि खुट्टाहरु भासिएको महशुस उसले ग¥यो । अगाडि बढ्दै गरेको राजु अकस्मात पछाडि फर्कियो र नाकेडाँडाको ओरालो सोझै आफ्नो घरतिर हान्नियो ।

‘आमा …. आमा….।’
आँगनैदेखि कसैले बोलाएको सुनेर कान्छीमाया घरबाहिर निस्किन् । ‘के भो ? किन फर्केको फेरि ?’ राजुलाई देखेर प्रश्न गरिन् । ‘यसरी हिँड्दै फर्किँदै गर्नु हुन्न ।’

‘आमा म तपाईलाई छाडेर कतै जान्न । यो घर र गाउँ छाडेर कतै जान्न । आमा म विदेश जान्न ।’ राजु भावनात्मक लयमा यी कुराहरु एकोहोरो भनिरहेको थियो । कान्छीमायाका आँखाबाट हर्षका दुईवटा थोपाहरु गालाभित्रका खाल्डामा खर्लप्प पसे । उनको कानमा एउटै वाक्य दोहोरिरहेको थियो ‘आमा म विदेश जान्न……….।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here