रोकिएन विदेशिने युवाको लर्को

२ कार्तिक २०७६, शनिबार मा प्रकाशित

झापा ।

मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारहरू स्वरोजगारका कार्यक्रम बनाउन र कार्यान्वयन गर्नमा व्यस्त छन् । तर, मुलुकभित्र कुनै सम्भावना नदेखी वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आएको छैन ।

तीन तहको सरकार मिलेर सिंहदरवारको अधिकार गाउँघरसम्म पु¥याउने अभियानमा छन् । रोजगारी सिर्जना गरी विदेश जानेहरूको संख्या घटाउने प्रतिवद्धता चुनावको बेला गरिएको थियो । तर, बनाइएका योजना कार्यान्वयनमा समस्या आउँदा युवाहरू विदेश जानेक्रम घट्न सकेको छैन ।

सरकारले युवा स्वरोजगार, प्रधानमन्त्री रोजगार लगायतका कार्यक्रम सञ्चालन गरेको छ भने मन्त्रालयस्तरमा पनि यस्ता कार्यक्रम चलिरहेका छन् । तर, जिल्ला प्रशासन कार्यालय झापाबाट पासपोर्ट बनाउने युवाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । स्थानीय सरकारले चलाएको रोजगारीमूलक कार्यक्रमबाट बास्तविक बेरोजगार लाभान्वित हुन नसकेको टीका टिप्पणी पनि हुने गरेको छ । तर, कार्यक्रम प्रभावकारी भए पनि देखासिकीका आधारमा विदेश जानेक्रम पनि बढ्दै गएको सरोकारवालाहरुको भनाइ छ ।

पछिल्लो समय अमेरिका जानका लागि (डीभी) भर्नका लागि अमेरिका सरकारले अनिर्वाय पासपोर्टको ब्यवस्था गरेसंगै झापामा राहदानी बनाउनेको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गोपालप्रसाद दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७५÷०७६मा १७ हजार ८ सय ८४ वटा राहदानी जारी गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्ज र दमकका साथै जिल्ला प्रशासन कार्यालयबाट उक्त राहदानी बनाएको प्रशासकीय अधिकृत दाहालले बताए । साथै द्रुतसेवा अन्तर्गत तीन हजार चार सय ३८ वटा सिफारिस गरिएको जनाइएको छ ।
चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई महिनाको अवधिमा मात्रै एक हजार ९ सय ४० वटा राहदानी जारी भएको छ ।

विगतमा दैनिक ४०–५० वटा मात्रै राहदानी जारी हुनेमा पछिल्लो एक साताको अवधिमा दैनिक सयभन्दा बढी राहदानी दैनिक रुपमा नै जारी भएको अधिकृत दाहालले बताए । उनले भने– अमेरिका जानका लागि भरिने डीभीमा अनिर्वाय रुपमा राहदानी हुनुपर्ने ब्यवस्था भएको तथा विभिन्न स्थानमा गएकाहरु समेत चाडपर्वमा घर फर्किएकाले राहदानी बनाउन आउने गरेका छन् ।

विदेशिनेमा युवायुवती धेरै

पछिल्लो समय अध्ययनका लागि विदेशीले युवायुवतीको संख्या बढ्दै गएको छ । रोजगारीमा जानेको संख्या बढ्दै गइरहेका बेला अधिकांश युवापुस्ता विदेशिएपछि पछिल्लो समय गाउँ–शहरमा युवा पुस्ताको संख्यामा कमी आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत दाहालका अनुसार युवायुवती अध्ययनका लागि विदेश जान भन्दै राहदानी बनाउन आउने गरेका छन् ।

महिलाको संख्या पनि उस्तै

वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेशिने महिलाको संख्या समेत बढ्दै गएको जिल्ल प्रशासन कार्यालयले जनाएको छ । विगतका केही वर्षसम्म महिलाको संख्या अत्यन्त कमी भएपनि हाल भने पुरुषको भन्दा महिलाको संख्या उच्च रहेको प्रशासकीय अधिकृत दाहालको भनाइ छ ।

विदेश जाने महिलाहरुप्रति हेरिने दृष्टिकोणमा परिर्वतन आएसंगै पछिल्लो समय राहदानी बनाउने महिलाको संख्या पनि बढ्दै गएको दाहालले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here