व्यवहार घरमै सिकाऔं

८ माघ २०७६, बुधबार मा प्रकाशित

गंगाराम गड्तौला,

बालबालिका व्यवहारिक भएनन् । बानीव्यहोरा राम्रो छैन । ठूलालाई आदर, सानालाई माया र आफू समानकासँग मित्रवत् व्यवहार गर्न जानेनन् । ठाडो बोली । व्यवहार पटक्कै छैन । पढेर के गर्नु, व्यवहारिकता छैन । शिक्षा व्यवहारिक भएन । शिक्षानीति नै भएन । यिनै गुनासा सुनिन्छन् आजभोलि ।

के हो व्यवहारिक शिक्षा भनेको ? हामीले बालबालिकाबाट कस्तो व्यवहारको अपेक्षा गरेका हौँ ? अनि तिनले कस्तो व्यवहार देखाउँछन् ? किन तीनको बानीव्यहोरा हामीले सोचे जस्तो भएन ? यसमा उनीहरू गलत छन् कि हामी ? हामी मतलब, सरोकारवाला । शिक्षक, अभिभावक, विद्यालय सञ्चालक । सरकार । शिक्षानीति ।

सिकेको कुरा व्यवहारमा उतार्न सक्नु नै व्यावहारिक शिक्षा हो । जुन कुरा व्यक्तिले भन्न जान्दछ त्यो कुरा गरेर देखाउनु नै व्यवहारिक शिक्षा हो । अलिकति गम्भीर बनौँ– बालबालिकालाई कुनै कुरा पढाइन्छ । सोधिन्छ । मौखिकरूपमा भन्न जान्दछ । लेख्न लगाउँदा लेख्छ पनि । तर, त्यसलाई व्यवहारमा उतार्न सक्दैन । यो शिक्षा व्यवहारिक भएन । यो सिकाइ नै अव्यवहारिक छ । अपूर्ण छ । अनि बालबालिकाले सिकेका कुरै अव्यवहारिक भएपछि उनीहरू कसरी व्यवहारिक बनुन् । बस्, कुरा यत्ति नै ।

हामी सिकाउँछौँ । तर, आदेशात्मक । यसो गर्नुहुन्छ, उसो गर्नुहुँदैन । यो भनेको यस्तो हो । यसलाई यसो गर्नुपर्छ । हामी बोलिरहन्छौँ । बालबालिकाले कारण खोज्छन् । उनीहरुले तर्क खोज्छन् । जिज्ञासा राख्छन् । तर, हामी उनीहरुलाई बोल्ने मौका दिँदैनौँ । बोली नै व्यवहारको पहिलो खुट्किलो हो । उनीहरूलाई बोल्न दिऔँ । प्रशस्त बोल्ने अवसर प्रदान गरौँ । बोलीबाट व्यवहार शुरु हुन्छ । बोलीमा नम्रता, शिष्टता र सम्मानजनकशैली आएपछि अधिकांश व्यवहार सुध्रन्छन् । बालबालिकाको बोली विचार गरौँ । उनीहरूले बोलेका कुरा हामीले अपेक्षा गरे जस्तो भएन भने सुधार गरौँ । यहीँबाट शुरु हुन्छ व्यवहारिक शिक्षा । अभिभावक र शिक्षक दुवैले यही गरौँ ।

हामी ठूलो स्वरमा कराउनु हुन्न भनेर सिकाउँछौँ । झगडा गर्नुहुन्न, जंकफुड खानु हुन्न, सरसफाई गर्नुपर्छ आदि । ती कुरा नगर्दा पिट्छौँ । गाली गर्छौँ । कराउँदा–पिट्दा उनीहरु थेत्तरो हुन्छन् । तिनीहरुलाई बरु अनुगमन गरौँ । ‘अस्ति यस्तो पढेको होइन, खोइ, तिमीले त गरेनौ त ?’ उनीहरूलाई नै बोल्न लगाऔँ । यो जुन तिमी गरिरहेका छौ, के त्यो सही छ ? प्रश्न गरौँ । एउटा कुरा विचार गरौँ– कुनै पनि व्यक्तिको व्यवहार परिवर्तन गर्नु छ भने उसैलाई बोल्न दिनुपर्छ । बालबालिकाहरू बचनका पक्का हुन्छन् । उनीहरूका बोलीलाई फलोअप गर्नुपर्छ । तिनीहरुले पनि हाम्रो बोली र व्यवहारको फलोअप गरिरहेका हुन्छन् । जहाँ हामी चुक्छौँ, उनीहरूको विश्वासमा ठेस पुग्छ । उनीहरूलाई निषेध गरिएका कुरा हामीले ग¥यौँ भने हामीलाई टेर्न छाड्छन् ।

बालबालिकालाई व्यवहारिक बनाउन निरन्तर अनुगमन जरुरी छ । अनुगमन गर्न छाडेपछि उनीहरू बिस्तारै गलत बाटोमा लाग्छन् । ध्यान दिनुपर्ने कुरा– अधिकांश बालबालिकाले कुनै नराम्रो काम गर्नुअघि बोलीमा प्रकट गर्छन् । कतिपयले शुरुका गल्तीमा हाम्रो प्रतिक्रिया पर्खेका हुन्छन् । अधिकांशले त गल्ती हो भन्ने थाहै नपाई गल्ती गरेका हुन्छन् । हाम्रो नेपाली समाज पिटाइ संस्कृतिबाट अझै पनि मुक्त हुन सकेको छैन । गल्ती हो भन्ने नबुझिकनै उनीहरुले पिटाइ खानु परिरहेको छ । यतिसम्म कि बालबालिकाले नलेख्दा वा अक्षर नराम्रो पार्दा समेत पिटाइ खाने गरेका उदाहरण छन् । पढाइको सिलसिलामा बच्चाले पिटाइ खाएपछि उसमा पढाइप्रतिको नकारात्मक दृष्टिकोण बन्छ । अनि सानो छउञ्जेल हाम्रा लागि पढ्छ, तर उसलाई पढाइप्रति रुची नै हुँदैन ।

हरेकजसो पाठ्यक्रम–पाठ्यपुस्तक व्यवहारिक छन् । तर, तीनको प्रयोग सैद्धान्तिक भइरहेको छ । बालबालिकाले शिक्षकका लागि पढिरहेका छन् । शिक्षकले त्यसको चासो गरेका छैनन् । पाठ्यपुस्तकबाट सिकेका कुरा व्यवहारमा नदेखाउँदा अनुगमन गरेनौँ । उनीहरू परीक्षामुखी हुन्छन् । परीक्षामा पास गर्नका लागि पढेका हुन्छन् । यही कुरा व्यवहारमा उतार्न पढ्ने भन्ने सिकाऔँ । परीक्षाकेन्द्रीत होइन, ज्ञानकेन्द्रीत । व्यवहारकेन्द्रीत । शिक्षानीति खराब होइन । पाठ्यपुस्तक अव्यवहारिक होइनन् । तीनको कार्यान्वयन पक्ष अव्यवहारिक छ । कामचलाउ, शिक्षानीति र विद्यालयले मात्रै बालबालिकालाई व्यवहारिक बनाउन सक्दैनन् । घरैदेखि व्यवहारिक बनाउनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here