नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै तोडफोड

0
542

भीमदत्तनगर,

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३÷४ निर्माण गरेको जानकारी दिनुभयो ।

“शनिबार काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन् ।” उहाँले भन्नुभयो, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए ।”

गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताउनुभयो । तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र काँग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए ।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here