कोरोना संकट: झापाली श्रमजीवि पत्रकार महिलाहरु

१६ बैशाख २०७७, मंगलवार मा प्रकाशित

कोरोना भाइरस महामारी रोकथामका निम्ति एकमहिना यता मुलुक यतिबेला लकडाउनको अवस्थामा छ । हालसम्म यसबाट कसैको मृत्यु नभए पनि देशभर संक्रमितको संख्या बढ्दो क्रममा छ । यसबाट झापा पनि अछुतो रहेन । दमक र बाह्रदशीमा गरी दुई संक्रमित फेला परेसँगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।
कोरोना भाइरसको जोखिमका बाबजुद् झापाली पत्रकार महिलाहरु स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै नागरिकमा सूचना प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । कोरोना संकटका बेला उनीहरु कसरी काममा खटिरहेका छन् ?

        भीमा शिवाकोटी : उपाध्यक्ष, नेपाल पत्रकार महासंघ झापा/ कार्यक्रम प्रस्तोता – कञ्चनजंघा एफएम
यो कठिन परिस्थिति पत्रकार मात्रलाई होइन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्ण मानिसहरुका अगाडि कठिन परिस्थिति आएको छ । यो दिनमा सवै पत्रकार साथीहरुलाई कठिन छ, प्रिन्ट मिडियाहरु पूर्ण रुपमा बन्द भएको अवस्था छ । सवैले बुझ्नुपर्ने कुरा के हो भने यो हामीले बिगतमा व्यहोरेको आन्दोलन जस्तो होइन, एउटा भाइरससँग लड्ने समय हो । जसले बिश्वभरि नै लाखौँ मानीसको ज्यान लिइसकेको छ । जो व्यक्ति घरमा बढी बस्न सक्यो, त्यहिँ मात्र उ मात्र रोगबाट बच्न सक्छ ।
तर, हाम्रो जिम्मेवारी आम नागरीकमा सूचना प्रवाह गर्नु पनि छ । यसो भनिरहँदा सूचना प्रवाहसँगै अझ महत्वपूर्ण पाटो आफू बाँच्ने र परिवारसँगै समुदायलाई पनि बचाउने भएको हुँदा सुरक्षा सतर्कता अपनाएर नै रिपोर्टिङ गरिरहेकी छु । सकेसम्म स्टेशनमै रहेर फोनबाट धेरै कार्यक्रमहरु रेकर्ड गरिरीरहेका छौँ । जिल्लभरिका सूचनाहरु सम्बन्धित व्यक्ति र निकायबाट अधिकांश फोनबाटै लिने काम गरीरहेका छौँ ।

राधा खनाल : सम्वाददाता, अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिक
जस्तोसुकै अवस्थामा जनतामा सही सूुचना प्रवाह गर्नु हामी पत्रकारहरुको धर्म हो । त्यसैले जोखिमका बावजुद आजभोलि सिमा क्षेत्रको फिल्ड रिपोर्टिङ्गमा दिन बित्छ, यद्यपि आफूलाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा सजग नै छु । शुरुदेखि नै एन ९५ मास्कको प्रयोग गरिरहेकी छु भने अनिवार्य ह्याण्ड सेनिटाइजर साथमा राख्ने गरेकी छु । दिनभर फिल्ड रिपोर्टिङमा हुने भएकाले बेलुकी घर फर्कदा रोग सर्ने पो हो कि ? भन्ने परिवारमा चिन्ता थपिएको छ । हामीजस्ता श्रमजीवि महिला पत्रकारका लागी पत्रकार महासंघले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको समान रुपमा व्यबस्था गरिदिए राहत मिल्ने थियो ।

रेजिना गौतम (रोदन ) :  सम्पादक,  जनआन्दोलन डटकम
जहाँसम्म लकडाउन र पत्रकारिताको कुरा छ, अहिले पत्रिकाहरु बन्द अवस्थामा छन् । तर, हामीले जनआन्दोलन साप्ताहिक पत्रिकाको अनलाईन संस्करण जनआन्दोलन डटकम आधिकरिक रुपमा सञ्चालन गरिरहेका छौं । अनलाइन पत्रिकाहरुलाई जनमानसले नपत्याइरहेको बेला कोरोनाले अनलाइन पत्रिकालाई सञ्चारको एउटा दर्विलो माध्यमका रुपमा उभ्याइदिएको पनि अनुभूत भएको छ ।
दैनिक रुपमा म अफिसमै आएर अनलाइनमा समाचार लेख्ने र पोष्ट गर्ने गर्छु । न्यूजका स्रोतहरु भने खोज्नैपर्ने हुन्छ । तर पहिले हामी फिल्डमै नपुगी पत्रकारिता हुन्छ जस्तो लाग्दैनथ्यो । अहिलेको अवस्थाले त्यो होइन रहेछ भन्ने पनि बुझायो । समाचारको विषयवस्तुलाई चिनेर स्रोतका लागि टेलिफोनबाटै पनि चल्दो रहेछ । तपाई हामी त्यही अनुभव गरिरहेका छौं । म पनि त्यही काम गरिरहेको छु । यसले जनसम्पर्कमा अझ बढावा ल्याउँदो रहेछ ।

सुशीला संग्रौला : सम्पादक, न्यूमेची टाइम्स दैनिक
बिश्ब अहिले कोरोना भाइरसले आक्रान्त बनेको बेला नेपाल पनि अछुतो रहेन र यो बेला आफु बहिर निस्किनु भनेको आफैलाइ चुनौती दिनु हो । तेसैले म अहिले सामाजिक , आर्थिक दुरि कायम गर्दै घरैबाट अनलाइन चलाउदै छु । अहिले सबैजसो पेपर बन्द छन ।

 

 

मनिषा चम्लागाँई ः झापा सम्वाददाता, कारोबार दैनिक / सहसम्पादक, प्रतिदिन दैनिक ।
। देश लकडाउनमा भएपनि सञ्चारकर्मी भएपछि सूचना प्रवाहमा कुनै लकडाउन हुनुहुँदैन भन्ने मलाई लाग्छ । समाचार संकल्न गर्नु, प्रकाशन गर्नु पत्रकारको कर्तव्य हो । अझ यो जोखिमपूर्ण अवस्थामा नागरिकलाई सुसूचित गराउनुपर्ने कर्तव्यबाट पत्रकार टाढा रहनै मिल्दैन । कोरोना संकटमा नागरिकका कष्टमा पत्रकारको भूमिका अग्रपंक्तिमा हुन्छ । तर, पनि मनोवैज्ञानिक रूपमा त्रास भने भइरहन्छ । मेरा लागि ६ वर्षे पत्रकारिता अनुभवमा यो समय भने निकै कठिन छ । यद्यपी नागरिकले भोगिरहेको समस्याको सहजीकरणका लागि सम्वाहकको भूमिका रहँदा भने खुशी लाग्छ ।
कोरोनाको जोखिम बीच साविक अवस्था झैं फिल्डमा पुग्न सहज छैन । उपलब्ध भएसम्म सावधानीका विधि अपनाएर रिपोर्टिङ गरिरहेको छु । म आबद्ध सञ्चार माध्यमले घरैबाट काम गर्ने सुविधा त दिएको छ । तर, सत्यतथ्य समाचारका लागि फिल्डमै पुग्नुको विकल्प भने छैन । आर्थिक बीटमा पत्रकारिता गर्दै आएकी मलाई कोरोना कहरका बीच समाजको आर्थिक अवस्था, उद्योग क्षेत्रका बारे सूचित गराउन थप कठिन छ । समाजको आर्थिक अवस्था, व्यापार घाटा, खस्कदो कृषि क्षेत्रलाई प्रकाशन गर्दा नकारात्मक टिप्पणी खेप्नुपर्ने अवस्था पनि आउँछ । रिपोर्टिङका क्रममा पुग्ने जिल्लाका चिया बगान, कृषि फार्म, उद्योगधन्दालगायत क्षेत्रमा कोरोनाको त्रासले आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । कोरोनाका कारण हजारौँ मजदुरले रोजिरोटी गुमाएका छन् ।
अहिले रिपोर्टिङको अनुभव पनि दुखलाग्दो छ । निम्न वर्गिय नागरिकले लकडाउनको सुरुवाती दिनमा पाएको राहत सकिएको छ । भोक र सोकले नागरिक अत्तालिएका छन् । हामी रिपोटिङमा पुग्दा गुनासो पोख्छन्, उनीहरुको पीडा हामी प्रकाशन पनि गर्छौँ, ती नै नागरिकले पुनः सोही आवज दोह्रो¥याएको देख्दा भने निरीह बने झैँ लाग्छ । लकडाउनले शहर पूर्णरुपमा बन्द छ । सबै खाजा घर बन्द छन् । फिल्डमा जाँदा भोकै कुद्नु पर्ने अवस्था पनि छ । एक भोको व्यत्तिले भोकाहरुको रिपोर्टिङ गर्न देखेजस्तो सहज छैन । यस विषम परिथितिमा सबैसँग भेट गरेर कुरा गर्न पनि समस्या हुने गरेको छ । जसले गर्दा टेलिफोन, म्यासेन्जर, भाइबरलाई पनि माध्यम बनाएर काम गरिरहेको छु ।

भारती राई : सम्बाददाता, हिमालय टेलिभिजन
लकडाउन शुरु भएदेखी फिल्ड रिपोर्टिङका लागी स्वास्थ्यमा उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर सामाजीक सञ्जाल लगायतका माध्यमबाट जनचेतना जगाउने कार्यमा आफुले सक्ने भुमिका सक्रिय रुपमा निर्वाह गरीरहेकी छु । अहिलेको अवस्थामा बाहिर निस्केर काम गर्ने अवस्था रहेन । त्यसैले आफु सुरक्षित रहेर आम जनमानसमा कसरी सुरक्षीत रहन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने गरेकी छु ।

भुमिका सुव्बा फियाक : केन्द्रिय सदस्य , लिम्बु पत्रकार संघ
कोरोना भाइरसले गर्दा देश लकडाउनमा छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएकोले फिल्डमा नै गएर समाचार संकलन गरिरहेकी छैन । लकडाउनको पालना गरेर बढी घरमा नै बस्ने, घरबाट नै सुचना लिने र समाचार तयार गर्ने गरिरहेको छु । विशेषत ः बाहिर निस्किदा आफ्नो सुरक्षाको कुरा पनि आउछ ।
पत्रकारहरु पनि संक्रमित एरिया तिर समाचार संकलन गर्न जाँदा उनिहरुका लागि पनि आवश्यक सुरक्षा व्यवस्थाको आवश्यक छ । ताकि सहि सुचना प्रवाह गर्नका लागि स्थलगत अवलोकन र अध्ययनको आवश्यक भएकोले पत्रकारहरुका लागि पनि सुरक्षा व्यवस्था गर्न आवश्यक छ ।

मेनुका राउत : एभिन्युज टेलिभिजन
म घरबाटै सुरक्षा अपनाउँन सुरु गर्छु, घरबाट निस्कन अघि मास्क र स्यानिटाईजर अनिवार्य लगाउँछु । कार्यलय जादाँ म कोही बाहिरी व्यक्तिको सम्पर्कमा पुग्दीन, कार्यलयले नै लाने ल्याउने व्यवस्था गरेको छ । त्यसपछि कार्यलय पुग्दा गेटमै तापक्रम नाप्ने र हात धुने व्यवस्था छ , हाजिरी कक्षमा पुगे पछि फेरी स्यानिटाईजर लगाउँछु ।
कार्यलयमा पनि हामी निश्चत जनशक्तिमात्र उपस्थीत हुन्छौँ र सामाजीक दुरी कायम राख्छौँ । पहिलो भेटमा हात मिलाउँने बानिलाई त्यागेर नमस्कार गर्ने प्रवृती अपनाएको छु । कार्यलय समयमा पनि सबैले मास्क र पन्जा आवश्यक पर्नेले पिपिई प्रयोग गर्नुहुन्छ । यसरी हरेक क्षेत्रमा सावधानीका साथ हामी खबर सम्प्रेषणमा लागिरहेका छौँ ।

सुष्मा त्रिखत्री : सञ्चालक, समृद्ध अनलाईन
कोरोना महामारीका वावजुद ज्यान जोखिममा राखेर आफ्नो कार्यक्षेत्रमा निरन्तर लागि रहने प्रणका साथ पत्रकारितालाई निरन्तरता दिई रहेको छु र महामारीको कारण आफ्नो जिम्मेवारीबाट पन्छिन पनि सकिँदैन । तर पनि पत्रकारितालाई राज्यको चाथो अंगका रुपमा लिइएको भए पनि यतिका दिन सम्म नेपाल सरकारले पत्रकार र पत्रकारिताको साख जोगाउने संचार गृहका विषयमा एक शब्द पनि नबोल्दा भने दुःख लागेर आउँछ ।
कोरोना भाईरसबाट बिश्वका शक्तिशाली मुलुकहरु समेत घुँडा टेकिरहेको अवस्थामा नेपाल जस्तो बिकासोन्मुख मुलुकका निम्ती लकडाउनबाहेक अरु कुनै उपयुक्त बिकल्प देखिँदैन । त्यसैले संकटको परीस्थिीतिलाई सामना गर्दै लकडाउनको पूर्ण पालना गर्नु नै सवैको भलाई हुनु हो ।
फिल्डमा काम गर्ने पत्रकारहरुका हकमा सरोकारवाला निकायले बेलैमा ध्यान दिन जरुरी छ । यो बेला घरमै बसेर अन्य माध्यमबाट आवश्यक सुचना संकलन गरी आफ्नो कामलाई निरन्तरता दिन सकिने भएकाले जोखिमलाई पन्छाउँदै संकटग्रस्त अवस्था सामना गर्नु अर्थपूर्ण रहनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here