बन्दाबन्दीमै तयार भयो वैकल्पिक फुटबल मैदान

१७ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

कास्की,

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ ।

निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी यो अभ्यास मैदान निर्माण गरिएको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो । सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले रु ९० लाख बजेट विनियोजन गरेको थियो । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल पोखरामा खेलाइने भएपछि मुख्य रङ्गशालाको आडमा अभ्यास मैदान तयार गर्ने योजना थियो । सोहीअनुसार सरकारले बजेट विनियोजन गरे पनि अभ्यास मैदान सागमा तयार भएन ।

मैदानको काम अलपत्र परेपछि राष्ट्रिय खेलूकद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले बन्दाबन्दीमै काम शुरु गर्नुभएकामा दुई महिनामा सबै काम सकिएको हो । मैदानमा हाल गोलपोष्ट राख्ने काम बाँकी छ । कोरोनाको महामारीमा समेत सुरक्षित तरिकाले सामाजिक दूरी कायम राख्दै ११५ मिटर लम्बाइ तथा ६५ मिटर चौडाइको फुटबल मैदान समथर बनाउने, लेबलिङ र दुबो रोप्ने काम सकिएको गुरुङले जानकारी दिनुभयो ।

मैदान दुई महिनाभित्रमा खेल्न योग्य हुने र स–साना प्रतियोगिता यही मैदानमा खेलाइने योजना छ । सो फुटबल रङ्गशालामा ३०० देखि ४०० जना अट्ने गरी प्यारापिट र चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), शौचालयलगायतका पूर्वाधार आगामी वर्षमा शुरु गरिने बताइएको छ । पोखरा रङ्गशालाभित्रको मुख्य फुटबल रङ्गशालाको काम भने जारी बन्दाबन्दीका कारणले रोकिएको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माणाधीन रङ्गशालामा हाल १६ हजार ५०० दर्शक अट्ने प्यारापिट तयार गरिएको छ भने मैदानको सबै काम सकिएको छ ।

भिआइपी प्यारापिटमा छानो छाउने, चेञ्जिङ रुम, मिडिया सेन्टर, कन्फ्रेन्स हललगायतको काम बन्दाबन्दीले रोकिएको निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बरालले बताउनुभयो । पछिल्लो समय प्यारापिटको क्षमता वृद्धि गरेर २० हजार दर्शक क्षमताको बनाउने राखेपले तयारी गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here