“मानव भाइरस “

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

कथा

साह्रै कष्ट भएपछि एकदिन पृथ्वी भगवानको दर्शन पनि गरूँ र मौका मिलेछ भने आफ्नो गुनासो पनि पोखूँ भनेर वैकुण्ठतिर लागिन् । वैकुण्ठमा भगवान् क्षीरसागरमा शेषको शैय्यामा आराम गरिरहनु भएको थियो । पृथ्वीले भगवान्लाई दण्डवत प्रणाम गरिन् र भगवान् नजिक रहेको एउटा आसनमा बसिन् । पृथ्वीलाई देखेर भगवान तीन छक्क पर्नुभयो ।
भगवान् ( के भयो पृथ्वी ? मलिन र जिर्ण पो भइछ्यौ । तिम्रो त्यो सुन्दर स्वरूपलाई के भयो? जताततै घाउ नै घाउ , जताततै चिरैचिरा , डुङ्ग गन्हाएकी, किन एस्ति मैली ? निन्याउरी र निकै डराएकी पनि देखिन्छ्यौ ?

पृथ्वी ( खै प्रभु ! आजकल शरीर एकदम तातो हुन थालेको छ जसले गर्दा हिउँ पग्लिने क्रम बढेको छ फलस्वरूप नदी उर्लिएर कहिलेकाहीँ थेग्न नसकिने बन्छन् र ताण्डव समेत मच्चाउछन् तेतिबेला मलाई साह्रै कष्ट हुन्छ । उद्योग कलकारखानाबाट निस्केको प्रदुषित ग्यासले मलाई सास फेर्न पनि गाह्रो भैरहेको छ । बेलाबेलामा थरथर कम्पन पनि हुन्छ । खै केले हो कुन्नि शरीर नै चिथोरिरहेको जस्तो भान हुन्छ । मेरा केश ( वनजंगल ) जथाभावी फडानी भइरहेको छ जसले मलाई कुरूप र रुग्ण बनाइदिएको छ । शरीरको कुनै अंगमा सञ्चो छैन । मेरो उर्वरा शक्ति पनि धेरै घटेको छ । म रोगी भएकि छु प्रभो ।

भगवान्ले पृथ्वीलाई नियालेर हेर्नुभयो पृथ्वीको अवस्था ज्यादै दयनीय र जर्जर देखेर द्रवीभूत हुनुभयो र तुरुन्त धनवन्तरिलाई वोलाई पृथ्वीको स्वास्थ्य परिक्षण गर्ने आदेश दिनुभयो । पृथ्वीले बताएका लक्षणका आधारमा धन्वन्तरीलाई पृथ्वीमा भाइरस संक्रमण भएको शंका लाग्यो त्यसैले उनले पृथ्वीलाई क्वारेन्टाइनमा राखेर अश्विनीकुमारहरूको सहयोगमा परिक्षण शुरू गरे । निकै लामो परिक्षणपछि निस्केको रिपोर्टका आधारमा उनी पृथ्वीमा “मानव“ नामको डरलाग्दो भाइरस संक्रमण भएको निष्कर्षमा पुगे र रिपोर्ट सहित छलफलका लागि भगवान् विष्णुकहाँ गए। उनले सारा कुरा भगवान्लाई बिन्ती बिसाए र यो “मानव“ भाइरस अति नै विनाशकारी र आतङ्ककारी भएकाले सजगता अपनाई तुरुन्त यसको रोकथाम गर्नुपर्ने कुरामा जोड दिए ।

यो भाइरसबाट पृथ्वीलाई बचाउनका निम्ति निकैवटा बैठक बसे । निकै लामो छलफल चल्यो । अन्त्यमा धनवन्तरीले भर्खरै आफ्नो ल्यावमा “कोरोना“नामको नयाँ भाइरस पत्तालागेको र एन्टिभाइरसका रूपमा यसले “मानव“ भाइरसलाई नियन्त्रण गर्नसक्ने बताएपछि त्यहीँ नयाँ भाइरसको प्रयोगबाट “मानव“ भाइरस रोकथाम गर्ने निष्कर्षमा बैठक टुङ्गियो र कोरोना सम्बन्धि रिपोर्ट तयार गरि भगवान्कहाँ पेश गरियो ।

रिपोर्ट पढेर भगवान् चिन्तित हुनुभयो र धनवन्तरी तिर हेरेर भन्नुभयो ( हैन यो “मानव भाइरस“ त पृथ्वीका लागि अत्यावश्यक भनेर बनाइएको थियो हैन र ? जहाँसम्म मलाई लाग्छ ज्ञान, विवेक जस्ता धेरै राम्रा गुणहरू पनि यसमा सम्प्रेषण गरिएका थिए । के भएर यिनमा नराम्रा गुण आए जसले गर्दा पृथ्वी संकटमा परिन् ?

भगवानको चिन्ता बुझेर धनवन्तरीले भने ( चिन्ता गर्नु पर्दैन प्रभो ! यो “कोरोना“ नारायणास्त्र जस्तै हो । जसरी नारायणास्त्रले अस्त्रधारीको विरूद्धमा हतियार लिएर बसेका सबैमाथि अग्नि वर्षागरि भष्म गर्ने सामर्थ राख्थ्यो तर हतियार नबोकेकालाई केहीँ पनि गर्दैनथ्यो। त्यसैगरि कोरोनाले पनि सम्पूर्ण मानवलाई नै ध्वस्त गर्दैन । यदि मानव यो भाइरस छोडेको बेला सबै कुरा छोडेर एकान्तवासमा रहन्छ र सामाजिक दुरी कायमगरि आत्मानुशासनमा बस्छ, त्यसलाई केही हुने छैन । यो कुरा मानव आफैले पत्ता लगाउनेछ र कयौं देशमा लकडाउन र प्रतिबन्धहरु लाग्नेछन् । प्रतिबन्धका कारण उद्योग कलकारखाना पनि बन्द अवस्थामा रहनेछन् । जसले गर्दा प्रदुुषणको मात्रामा कमी आउने छ । ।

औद्योगिक कलकारखाना, हवाइजहाज , सडकमा गुुड्ने कार र अन्य सवारी साधनमा आउने कमीले वायुु प्रदुुषणको प्रमुुख कारक मानिने नाइट्रोजन डाइअक्साइड र कार्बन मोनोअक्साइडमा पनि भारी गिरावट आउने छ र पर्यावरण स्वच्छ हुनेछ । घरमै बसेर मानवले रचनात्मक कार्य गर्नेछ । विश्वमा मानव जाति नै संकटमा परेपछि उसमा वैराग्य पलाउनेछ र उ पुनस् विवेकी र ज्ञानी हुनेछ । उसमा उर्जा भरिनेछ ,सद्भाव भरिनेछ । एति भएपछि पृथ्वीको समस्या पनि समाधान हुनेछ । उनी पनि उर्वरा ,सुन्दर र प्रदुषणरहित र स्वस्थ हुनेछिन र मानव पनि शुद्ध आचरणले शुरूका दिनको जस्तै पृथ्वीलाई आवश्यक तत्व बन्नेछ ।

यसप्रकार कोरोना र यसबाट पर्ने असरका बारेमा निकै लामो वहस पश्चात मानव भाइरस बिरुद्ध यो कोरोना भन्ने नयाँ भाइरसलाई पृथ्वीका हितका लागि संसारमा पठाइयो ।

गीता निरौला भण्डारी
विर्तामोड झापा ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here