कास्की र लमजुङमा पहिरोमा परी आठ जनाको मृत्यु १५ जना घाइते

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

पोखरा।

कास्कीका तीन ठाउँमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु र १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटको गोठादीमा पहिरोले सबैभन्दा बढी क्षति बनाएको छ। बिहीबार राति करिब साढे २ बजे माथिबाट झरेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका चारजनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, ११ वर्षीया ईशीका थापा र मृतक टंकको दाइको नाति ६ वर्षीय सुवान थापा रहेका छन्। यस्तै, टंककी छोरी २२ वर्षीया पिंकी, १८ वर्षीया आशा, पिंकीकी पाँच वर्षीया छोरी पिरिशा, तनहुँको दमौली घर भएकी २८ वर्षीया सरस्वती श्रेष्ठ (मृतक सोममायाकी बहिनी), सरस्वतीका छोरा आठ वर्षीय शीतल, १० वर्षीय सन्देश, छिमेकी १९ वर्षीय अनिश तामाङ, १९ वर्षीया रशी थापा र १९ वर्षीया रश्मि थापा रहेका छन्।

घाइतेमध्ये केही पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा र केहीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएको छ। उनीहरूको टाउको, हातखुट्टा, छातीलगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। घाइते सबैको अवस्था मध्यम रहेको बताइएको छ। टंकबहादुरको घरमा बिहीबार जन्मदिनको उत्सव मनाउने कार्यक्रम रहेका कारण पाहुना र छिमेकीहरू समेत आएका थिए।

पहिरो गएको थाहा पाए लगत्तै प्रहरी चौकी सराङकोटबाट करिब पाँच किलोमिटर टाढा रहेको उक्त स्थानमा प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा पुगेको ११ जनाको प्रहरी टोलीले मृतक र घाइतेहरूको उद्धार गरेको हो।

यसैबीच पोखरा महानगरपालिका–२५ हेम्जामा गएको पहिरोमा परी एक ७० वर्षीया महिलाको मृत्यु भएको छ। स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी हमालले जानकारी दिए।

त्यस्तै पोखरा महानगरपालिका–१८ छोरेपाटनस्थित सिमलटुँडामा आएको पहिरोमा परी तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार स्थानयि चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्। उनीहरूको नमस्ते अस्पतालमा उपचार भइरहेको छ।

उता लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीसहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ।

ुराति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिए। घटनामा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको थापाले जानकारी दिए। उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। देशमा अधिकांश स्थामा वर्षा भइ रहेकाले सर्तक रहन सरकारले आग्रह गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here