मिडिया एक्सन नेपालद्धारा मिथ्या समाचार रोकथामबारे दोस्रो चरणको तालिम शुरु,भ्रामक सूचना चुनौति बन्दै

0
1309

झापा ।

भ्रामक सूचना विश्वकै लागि चुनौति बन्दै गएको सञ्चार क्षेत्रका विज्ञहरुले बताएका छन् । गलत सूचना प्रवाह हुदाँ समाजमा नकारात्मक असर पर्ने र त्यसले समग्र प्रेस जगतलाई मात्र नभई विश्वलाई नै भ्रमित बनाएर अनेक समस्या निम्त्याउने विज्ञहरुको भनाई छ ।

भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम, उत्तरदायी र विश्वसनीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सोमबारबाट शुरु भएको छ । नेपालस्थित अमेरिकी दुतावाससंगको सहकार्यमा मिडिया एक्सन नेपालद्वारा आयोजित तालिम भर्चुअल प्रविधिमार्फत संचालान गरिएको छ l

मिडियामा भ्रामक तथा गलत सूचनाका कारण समाजमा हिंसा भड्कन सक्ने तथा नकारात्मक धारणा बन्ने भएकाले समाचार प्रकाशन तथा प्रशारणपूर्व आधिकारीकता बुझेर मात्रै प्रकाशन गर्नुपर्ने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए । फेक न्यूजलाई नियन्त्रण गर्दै मिडिया हाउसलाई आफ्नो समाचारप्रति जिम्मेवार बनाउने उद्धेश्यका साथ मिडिया एक्सन नेपालले विभिन्न समयमा अनुसन्धान तथा खोजमूलक तालिमहरु सञ्चालन गर्दै आएको छ । मिडिया एक्सन नेपालले झापा, इलाम र पाँचथरका पत्रकारहरुलाई यससम्बन्धि पहिलो तालिम १५ र १६ फागुन २०७६ मा इलाममा दिएको थियो ।

सोमबारबाट शुरु भएको दोस्रो चरणको तालिमको पहिलो सत्रमा बोल्दै नेपालस्थित अमेरिकी राजदुतावासका एक्टिङ पब्लिक अफेयर्स अफिसर काल रोजर्सले पछिल्लो समय सोसल मिडियाका कारण धेरै भ्रम सिर्जना भइरहेको भन्दै नेपालमा पत्रकारिताको विकास र खोजमूलक समाचार प्रकाशन तथा प्रशारण गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

उनले मिडिया एक्सन नेपालले फेक न्यूज रोक्न आयोजना गरेको तालिमको प्रशंसा गरे । त्यस्तै नेपालस्थित अमेरिकी राजदुतावाससकी सूचना विज्ञ प्रेरणा मारासिनीले समाजलाई जिम्मेवार बनाउँदै देशको विकास तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो देशको पहिचान बनाउन पत्रकारको पनि महत्वपूर्ण भूमिका हुने बताइन् । उनले मिडिया एक्सन नेपालले इलाममा पहिलो चरणको कार्यक्रम गरेर त्यसको सुधार तथा अवस्थामा के कति परिर्वतन आयो भनेर फलोअफ तालिम आयोजना गरेर तालिममा सहभागि पत्रकारलाई जिम्मेवार बन्न प्रेरित गरेको बताइन् ।

दैनिक दुईवटा सत्रको तालिम तीन दिनसम्म सञ्चालन हुने भएको छ । तालिममा लैंगिक संवेदनशील पत्रकारिता, मिडियाको सामाजिक उत्तरदायित्व, मिडिया, भ्रामक सूचाना र विदेशी नीति, विदेश नीति निर्माण र संरचनामा मिडियाको भूमिका, गलत सूचनाको सामना र रोकथाम, सूचनाको महामारी, भ्रामक सूचना रोकथामको तरिका र पत्रकारको भूमिकालगायतका विषयमा छलफल हुने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।

तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष पन्त, महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रीको सल्लाहकार लैंगिक र मिडिया विज्ञ डाक्टर समिक्षा कोइराला, दि अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराई र घानाका मिडिया शोधकर्ता डाक्टर गिफ्टी आपिया अद्जेइले सहजीकरण गर्ने छन् ।

भर्चुअल प्रविधिमार्फत संचालित तालिमको पहिलो दिन भ्रामक सूचना र परराष्ट्र नीतिका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका दि अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले गलत र भ्रामक सूचनालाई पत्रकारले नियन्त्रण गर्न सक्नुपर्ने बताए । अन्तराष्ट्रिय समाचार प्रकाशन तथा प्रशारण गरिरहदाँ आधिकारीक स्रोत र सम्बन्धित निकायसंग बुझेर मात्रै प्रकाशन तथा प्रशारण गर्नु सुझाव दिए ।

हरेक राष्ट्रको आफ्नै परराष्ट्र नीति हुने भएकाले आफ्नो नीतिलाई बुझेर र शान्तिलाई प्राथमिकतामा राखेर मात्रै समाचार प्रकाशन गर्नुपर्ने बताए । त्यसअघि सहभागी पत्रकारहरुले आफु कार्यरत सँचारमाध्यम र आफ्ना समाचार कक्षमा पहिलो चरणको तालिमबाट भएको सिकाइ र त्यसका आधारमा भ्रामक समाचार न्यूनीकरणका लागि गरिएको पहलबारे प्रस्तुति गरेका थिए l

दुई समूहमा विभाजन गरेर सञ्चालित तालिम अन्तरगत समूह ‘ख’ को तालिम शुरु भएको हो । तालिममा झापा, इलाम र पाँचथरका १५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिम आगामि भदौ ३१ गते सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here