कोरोना कहरमै झापामा विकासको लहर

0
827

सुरेन्द्र भण्डारी / झापा।

कोरोनाको बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाई भने खासै प्रभाव परेको छैन ।

कोरोना कहरकैबीच पनि झापाका १५ वटा पालिकामा सञ्चालित विकास योजनाका काम धमाधम भइरहेको छ । संघ, प्रदेश र स्थानीय तहमार्फत् सञ्चालित विकास योजनाहरु यसअघिको बन्दाबन्दीका समयमा केही समय प्रभावित भए पनि त्यसपछि ती योजनाहरु पुनः सञ्चालनमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा– ५ दमकदेखि नेपालकै होचो भू–भागका रुपमा चिनिएको कचनकवल गाउँपालिकासम्म सञ्चालित विकास निर्माणका आयोजनाले गति लिएका छन् । बाह्रदशी गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको ‘उज्यालो बाह्रदशी’को काम कोरोना कहरकैबीच सम्पन्न भएको छ भने अन्य ठूला विकास आयोजनाका काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । आयोजना अन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै गाउँपालिकाले रु. चार करोडको लागतमा गाउँपालिकाभित्र विद्युत् सेवा विस्तार गरेको हो ।

अभियान सम्पन्न भएसँगै गाउँपालिकाका सबै नागरिक विद्युत् सेवाको पहुँचमा पुगेका छन् । यसअघि गाउँपालिकाको ६० प्रतिशत घरधुरीले मात्रै विद्युत् सेवा उपयोग गर्दै आएका थिए । स्थानीय तह गठनको पहिलो वर्ष नै हरेक नागरिकको घर–घरमा विद्युत् सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान घोषणा गर्दै काम शुरु गरेको थियो । उज्यालो बाह्रदशीसहित बाह्रदशी गाउँपालिकामा अहिले रु. ६ करोडको लागतमा वडा नं.– ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण कार्यसमेत शुरु भएको छ ।

बाह्रदशी–५ पाख्रीबास पूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँमा पक्की पुल निर्माणको काम शुरु भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएसँगै पुल निर्माणको काम अघि बढेको हो । कोरोना कहरकैबीच अहिले बाह्रदशी ५ र ६ जोड्ने सडकको घाग्रा खोलामा पक्की पुल निर्माण भइरहेको छ ।

त्यस्तै गाउँपालिकाले गौरव आयोजनाका रुपमा बाह्रदशी–६ साधुकुटीमा झण्डै रु. १२ करोडको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा रहेको साधुकुटीको विकास गर्ने उद्देश्यले भ्यू टावर निर्माणको काम अघि बढाइएको अध्यक्ष राजवंशीले बताए । यो वर्ष गाउँपालिकाले रु. एक करोड बजेट विनियोजन गर्दै भ्यू टावर निर्माणको काम अघि बढाएको हो ।

त्यस्तै २२ विगाह क्षेत्रफलमा फैलिएको साधुपर्ती झिललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३६ करोड रुपैयाँको लागतमा पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको अध्यक्ष राजवंशीको भनाइ छ । जसका लागि गुरु योजना निर्माण गर्दै काम अघि बढाइएको छ । साधुपर्तीमा दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो पोखरी र नजिकै चारकोसे जङ्गल रहेकाले यस ठाउँको विकास गर्दै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले साधुपर्तीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

त्यस्तै बाह्रदशी गाउँपालिका–६ कुमालगाउँ जोड्ने सडक निर्माण कार्य अघि बढाइएको छ । रु. दुई करोडको लागतमा सडक निर्माण कार्य अघि बढेको हो । यसैगरी मेचेगाउँ, कोनावारी पूर्व अन्धुवा खोलामा पक्की पुल र साधुपर्ती जोड्ने सडकको अन्धुवा खोलामा समेत पक्की पुल निर्माणको काम शुरु गर्न लागिएको अध्यक्ष राजवंशीले बताए । यता बाह्रदशी गाउँपालिका– ३ मा रहेको राजगढ बजारलाई स्मार्ट सिटीका रुपमा विकास गरेर लाने उद्देश्यले गाउँपालिकाले रु. एक करोडको लागतमा बजार व्यवस्थापनको काम शुरु गरेको छ । दक्षिण क्षेत्रकै पुरानो बजारका रुपमा रहेको राजगढको विकाससँगै त्यहाँको मुहार फेरिने अपेक्षासहित बजारको स्तरोन्नति गर्न लागिएको हो ।
कोरोना कहरकैबीच अहिले राजगढ बजारको स्तरोन्नति भइरहेको छ ।

नेपालको संविधानले सङ्घीयतामार्फत् संघ, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै संवैधानिक अधिकार दिएको छ । केही साझा अधिकार छन् भने केही छुट्टाछुट्टै अधिकार हुनेगरीको व्यवस्था गरेको छ । स्थानीय तहको निर्वाचनमार्फत् स्थानीय सरकारको गठन भई गाउँगाउँ एवम् घर–घरमा सरकार पुगेको अवस्था छ । यसरी गठित स्थानीय सरकार अहिले आफ्नो क्षेत्रभित्र विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्न, चाहेजस्तो विकास गर्न तथा स्वतन्त्र एवम् जिम्मेवार ढङ्गले काम गरिरहेका छन् ।
पन्ध्र ओटा स्थानीय तहमध्ये झापाको झापा गाउँपालिकामा पनि अहिले विकासको लहर छाएको छ । यो ठाउँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । कुमरखोद, शरणामती र टाघनडुब्बा गाविस मिलेर बनेको झापा गाउँपालिका मुलुक सङ्घीयतामा जानु अघि विकास निर्माणका दृष्टिकोणले निकै पछि परेको थियो । पञ्चायती व्यवस्थामा झापाको सदरमुकाम चन्द्रगढी सरेपछि यो ठाउँको विकास हुन सकेको थिएन । तर, मुलुक सङ्घीयतामा गएसँगै तीन तहको सरकार गठनपछि झापाको मुहार फेरिएको छ ।

अहिले झापा गाउँपालिकाको सबै वडामा कालोपत्र सडक पुगेको छ भने खोलामा पुल, खाने पानीका लागि ट्याङ्की, कृषकका लागि प्रविधिमैत्री उपकरण, विद्युत् सेवा विस्तार, विद्यालय भवन निर्माणदेखि स्तरोन्नतिसम्मका काम भएका छन् । चालू आर्थिक वर्षमा मात्रै गाउँपालिकाले नौ वटा सडक कालोपत्र गरेको छ । गाउँपालिकामा एक नमूना विद्यालयसहित सात वटा विद्यालयमा भौतिक संरचना निर्माण भइरहेको छ भने विपन्न आवास कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकावासीले स्थानीय सरकारको महसुस गरेका छन् । अहिले गाउँपालिकाले सहारा नेपाल र ह्याविट्याटसँगको सहकार्यमा विपन्न परिवारका लागि घर निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

झापा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा नौ वटा सडक कालोपत्र गर्न रु. ११ करोड ७९ लाख ४६ हजार १८२ बजेटको काम सम्पन्न गरेको छ । सबै वडाका मुख्य सडकमा कालोपत्र पु¥याउने लक्ष्यसहित गाउँपालिकाले वडागत रुपमा सडक छनोट गर्दै कालोपत्र गरेको गाउँपालिका अध्यक्ष साहको भनाइ छ । गाउँका सडक फराकिला र कालोपत्र हुन थालेपछि अहिले स्थानीयवासी हर्षित देखिएका छन् । गाउँपालिकाले हस्पिटल– सितुमारी– सालमारा सडक कालोपत्रका लागि रु. दुई करोड २० लाख ७६ हजार २६९ बजेट विनियोजन गरेको थियो । सोही रकमले यो सडक कालोपत्र भएको हो । यो सडक एसएएस जेभीले कालोपत्र गरेको हो ।

रु. एक करोड ३६ लाख ६० हजार ४७१ को लागतमा झापा खानेपानी ट्याङ्की– बालुवाटार– सिमलवारी तथा टेकरिया चौक – सानुमाई सडक कालोपत्र भएको छ । यो वडा नं २ मा पर्छ । यो सडक शिद्धकाली इन्टरनेशनल विल्डर्सले कालोपत्र गरेको हो । वडा नं ४ को बगान उत्तर बच्चुटोल हुलाकी सडक कालोपत्र भएको छ । सतासी – जयलक्ष्मी जेभीले रु. एक करोड ५० लाख ५३ हजार ४२१ लागतमा सडक कालोपत्र गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए । शिद्धकाली इन्टरनेशनल विल्डर्सले नै गाउँपालिकाको फुलगाछी –सिमलवाडी सडक कालोपत्र गरेको छ ।
सो सडक निर्माणका लागि गाउँपालिकाले रु. एक करोड ४७ लाख ३९ हजार ७०९ बजेट विनियोजन गरेको थियो । रु. ९६ लाख ८६ हजार ६१७ को लागतमा शान्ति निर्माण सेवाले खर्मेली चौक – तामाङ गाउँ वियर फ्याक्ट्री सडक कालोपत्र गरेको हो ।

यसैगरी मदरगाछ बजार वडा कार्यालयसम्म जोड्ने सडकको निर्माणसहित कालोपत्र सम्पन्न भएको छ । सो सडक निर्माणका लागि रु. एक करोड ३८ लाख ३६ हजार ४१५ गाउँपालिकाले विनियोजन गरेको थियो । वडा नं ६ र ७ मा पर्ने शरणामती चौकदेखि दयालधाम जाने सडक कालोपत्र भएको छ । सो सडक रु. एक करोड ३४ लाख ६८ हजार ३ सयमा कालोपत्र गरिएको हो । सो सडक नेपाल पूर्वाधार कन्स्ट्रक्सन जेभीले कालोपत्रे गरेको हो ।

अमरपथ पूर्व मुखिया गाउँ– गणित गाउँ– ज्यामिरे चौक हुँदै पश्चिम दोसाखी टोल झापा वजार सडक कालोपत्र भएको छ । यो गाउँपालिकाको वडा नं –३ मा पर्छ । यो सडक कालोपत्रका लागि गाउँपालिकाले रु एक करोड ४९ लाख ६० हजार १३२ लगानी गरेको छ । शान्ति खनाल जेभीले सडक कालोपत्र गरेको गाउँपालिकाले बताएको छ ।

रु. ४५ लाख ३८ हजार ४४३ को लागतमा वडा नं. ३ र ४ को शहीद मार्गसमेत कालोपत्र भएको छ । यो सडक नेपाल पूर्वधार कन्स्ट्रक्सनले कालोपत्र गरेको हो । गाउँपालिकाले प्रत्येक वर्ष प्रत्येक वडामा एउटा मात्रै सडक कालोपत्रका लागि छनोट गर्दै कालोपत्र गर्दै आएको छ । गाउँपालिकाभित्रका सबै सडकलाई कालोपत्र गरिसक्ने योजना अनुसार गाउँपालिकाले सडक कालोपत्रको कामलाई अघि बढाएको गाउँपालिका अध्यक्ष साहले बताए ।

पश्चिममा सानो माई र पूर्वमा विरिङ खोलाको कटान र डुवानको चपेटामा पर्दै आएको झापा गाउँपालिकाले यस वर्ष झोलुङ्गे र पक्की पुल निर्माण कार्यलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले खोलामा तटबन्धनसँगै पुल निर्माण गर्दै गाउँपालिकाबासीलाई आवतजावतमा सहजता प्रदान गरेको हो । अहिले वडा नं –२ को झापा – कुवाडी सडक खण्डमा पर्ने सानो माईमा रु. एक करोडभन्दा बढीको लागतमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । सिमलवाडी– फूलगाछी जोड्ने सडक खण्डको सानो माईमा नै ६० लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

त्यस्तै कामाटोली – लालमोहर जाने सडक खण्डमापर्ने पर्ने सानु माई खोलामा पक्की पुल निर्माण भएको छ । ७५ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । वडा नं १ को लसुनगञ्ज सालमारा सडक खण्डको सानु माईमा नै तीन करोड ६० लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भइरहेको छ ।

शिक्षाको विकासका लागि गाउँपालिकाले रु. एक करोड भन्दा बढी बजेट विनियोजन गरेको थियो । जसमा गाउँपालिकामा सात वटा विद्यालयमा दुई कोठे पक्की भवन निर्माण भइरहेका छन् भने शौचालय र खानेपानीको व्यवस्था, प्रविधिमैत्री सिकाइमा जोड जस्ता कार्यक्रमलाई अघि बढाइएको थियो ।

प्रत्येक विद्यालयलाई रु. १६ लाख का दरले भवन निर्माणमा सहयोग गरेको शिक्षा शाखाका कर्मचारी खड्गप्रसाद खरेलले बताए । सङ्घीय सरकारको सशर्त अनुदानमार्फत् डिल्लीराज माध्यमिक विद्यालयलाई नमूना विद्यालय निर्माण गरिँदैछ । रु. एक करोड ५० लाखको लागतमा डिल्लीराज माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि लाने उद्देश्यसहित पूर्वाधार निर्माणको काम अघि बढाइएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले जानकारी दिए ।

साविकको कुमरखोद, टाघनडुब्बा र शरणामती गाविसलाई समेटेर बनेको झापा गाउँपालिका ९४.१२ वर्ग किलोमिटरमा फैलिएको छ । समुद्री सतहबाट ७० देखि १०० मिटरसम्मको उचारइमा रहेको यो गाउँपालिकामा मिश्रित बसोबास पाइन्छ । यहाँका नागरिकको मुख्य पेशा कृषि तथा पशुपालन भएको हुँदा विपन्न तथा मध्यम वर्गीय परिवारको संख्या यो गाउँपालिकामा धेरै छ । विसं २०६८ को जनगणनाअनुसार ८ हजार २२ घरधुरी रहेको यहाँको कूल जनसङ्ख्या ४१ हजार १३६ जना रहेको छ ।
गाउँपालिकाले सर्वेक्षण गरेर तयार गरेको पाश्र्व चित्रलाई आधार मान्दा वर्षभरि खान पुग्ने परिवार सङ्ख्या दुई हजार १७८ छ । एक हजार ५३० परिवारले मात्रै वर्षभरि खान पुग्ने गरी अन्न उत्पादन गर्दै बचेको अन्न बिक्री गर्छन् । यो गाउँपालिकामा विपन्नको सङ्ख्या धेरै छ । फलस्वरुप गाउँपालिकाले विपन्न परिवारको पहिचान गर्दै घर निर्माण गर्दै आएको छ । यो वर्ष १६४ परिवारलाई गाउँपालिकाले घर निर्माण गरेको छ । गाउँपालिकाले सहारा नेपाल र ह्याविट्याटको सहकार्यमा १६४ ओटा घर निर्माण गरेको हो । प्रति घर निर्माणमा रु. एक लाख ५० हजार खर्च हुने गरेको बताइन्छ । गत वर्ष गाउँपालिकाले ७६ ओटा घर निर्माण गरेको थियो ।

धान, मकै, गहुँ आदि मुख्य बाली रहेको झापा गाउँपालिकाका नागरिकको मुख्य पेशा पनि कृषि नै हो । करिब ७८.२४ प्रतिशत साक्षर रहेको झापा गाउँपालिकाले १५ शय्याको अस्पताल सहित स्वास्थ्य संस्थाको समेत स्तरोन्नति गर्दै लगेको छ । सबै वडामा विद्युत् सेवा विस्तार, कृषकका लागि गोठ सुधार कार्यक्रम, गोबरग्यास प्लान्ट निर्माणमा अनुदान, कृषकलाई पानी तान्ने मोटर, निःशुल्क बीऊविजन, मल खरिदमा छुटजस्ता कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको छ ।
कोरोना कहरकैबीच झापाका हरेक पालिकाले विकास निर्माणका कामलाई अघि बढाएसँगै झापावासी उत्साहित पनि देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here