कोरोना कहर : घर–आगनीमा यस वर्षको चाडपर्व

२९ आश्विन २०७७, बिहीबार ११:४२ मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

Advertisement

कोरोना भाइरसको महामारीले विश्वका धेरै देशहरु आतंकित बनिरहेको अवस्थामा महामारीको चपेटाबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा छ महिना पहिलेदेखि नै उक्त भाइरसको नियन्त्रणका लागि बन्दाबन्दी गरिएको भएता पनि संक्रमण भने दुई महिनायता रफ्तारमा बढिरहेको छ । एकैदिनमा २२ जनासम्मको मृत्यु हुनु नेपालका लागि असामान्य नै हो । २४ घण्टामा लगभग तीन हजार जनासम्म संक्रमित हुनु सामान्य कुरा होइन ।

अब त झन लामो दूरीको सवारीसाधन सञ्चालनमा आइसकेको छ । खचाखच भएर सार्वजनिक यातायात, हवाइजहाजहरुमा मानिसहरु ओहोरदोहोर गरिरहेका छन् । अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन भइरहेको छ । यात्राको क्रममा कोही पनि कसैबाट संक्रमित हुने सम्भावना अधिकतम् छ । त्यसैले अब सयमा एकजना त होला नि भन्ने मानसिकतालाई त्यागेर यसबाट आफू बाँच्न र अरुलाई पनि बचाउन आफैं सचेत हुने की ? सय जनामा एक आफू हुने त ? तपाई एकजना संक्रमित हुँदा कति जनाको ज्यान जान्छ सोच्नुभएको छ ? त्यसैले मास्क अनिवार्य लगाऔं, सेनिटाइजरको अनिवार्य प्रयोग गरौं वा सामाजिक दूरी कायम गर्दै आफू बाँचौं र अरुलाई पनि बचाऔं ।

यस वर्ष नयाँ–नयाँ किसिमका रोगहरु भित्रिरहेका छन् । नेपाल सरकारले पर्यटन वर्ष २०२० मनाउन शुरु गरेको भएता पनि कोरोनाको त्रासले गर्दा नेपालमा लाखौं पर्यटन भित्र्याएर आर्थिक लाभ लिने केबल सपना जस्तै भयो । मानिसलाई कोरोना, पशुपंक्षीलाई लम्पी र धानलाई गबरे किरा । हेर्नुहोस् त यस्तो कहिल्यै भएको थियो ? प्रकृतिले एकपटक मानिसलाई सखाप पार्न खोजिरहेको पो हो कि ? किनकि कोरोना लाग्छ भनेर आन्तरिक शक्तिको लागि दही, दूध खाऊ भने पशुमा आजसम्म देखा नपरेको लम्पी रोग देखा परेको छ । पत्याउन गाह्रो भएको बखत कहाँबाट आउँछ दूध । भोक लाग्यो खाना खाऊभन्दा धान बाली गबरे किराले सखाप बनाएको छ, कसरी खाने भात ? किरा त दुःख–सुख मारियो, पसाउन लागेको धानहरु लगातार आएको पानीले लुलो भएकोले हावाले धानलाई सखाप पारिदिएको छ ।

यसपाली खान नपाएर धेरैको मृत्यु हुन सक्ने सम्भावना देखिन्छ । रोगलेभन्दा पनि भोकले धेरै मानिसको ज्यान जाने खतरा रहेको छ । सरकारले बेलैमा रासायनिक मलहरु उपलब्ध गराउन नसक्नुले उत्पादकत्वमा ह्रास आउने नै छ । खोई त सरकारले घोषणा गरेको कृषिमा क्रान्ति ल्याउँछु भन्ने नारा ? जबकी समयमा मल समेत कृषकहरुले पाउँदैनन् र के कारणले मल पाइएन भनेर कृषकहरुले थाहा समेत पाउँदैनन् । किसानले फलाएको फसलको मूल्य निर्धारण गर्ने, फसल उत्पादन कसरी गर्ने, त्यसका लागि आवश्यक मल, बीऊबीजन समयमा उपलब्ध गराउने समयमा चाहिँ सरकार किन मौन ? हुन पनि नहुने–नहुने घटनाहरु घटिरहेका छन् । सोह्र श्राद्ध सकिए पश्चात नौराथा आउनुपर्ने भए पनि अधिक मासका कारण एक महिनापछि मात्र नौराथा लाग्ने भएको छ । कोरोना, गबरे किरा, लम्पी चाडबाडमा अधिकमास यी अहिलेसम्म महशुस नगरिएका कुराहरु भएका छन् । एउटा गीत एक युगमा एक पटक एकै चोटी आउँछ…भने जस्तै भएको छ ।

अर्कोतिर सरकार सत्ता र कुर्सीको खेलमा रातारात लागीरहेको छ । निर्वाचनमा हारेका नेता र परीक्षामा फेल भएका विद्यार्थीलाई काखी च्यापेर कहिलेसम्म यो खेल खेलिरहन्छ सरकार ? यो बेला त कुर्सी बचाउन खेल खेल्ने समय होइन । स्थानीय स्तर, प्रदेश र केन्द्रसम्म एउटै पार्टीको दुई तिहाई मत छ त किन यो सरकार आत्तिरहेको छ । किन हारेका नेतालाई अगाडि बढाएर सारा नेपालीहरुबाट कलंकित बनिरहेको छ । एउटा कोरोनाको किट र सिटामोलसम्ममा किन्न भ्रष्टाचार भइरहेको छ । एक हजार घुस खानेलाई आत्महत्यासम्म गर्न बाध्य गराउने, तर अर्बाैं खानेलाई खोई त कारवाही ? भ्रष्टाचार गर्नेलाई कालो सूचीमा राखेर हुन्छ ? कालो सूची भनेको त नानी तँ कालो सूचीमा परेको छस्, अर्को कम्पनी खोल, तँलाई हामी फेरि अवसर दिन्छौं भने भइहाल्यो नि ।

भ्रष्टाचारीलाई त सर्वोच्चसहित जेल हाल्नुहोस् न तपाईलाई सारा नेपाली जनताले सम्मान गर्नेछन् । को होला त देशभक्त नेता ? हुँदै नभएका त होइनन् । छन् यस्ता पनि उदाहरण जसमा कुलमान घिसिङ जहाँ अर्बौं घाटामा भएको सार्वजनिक संस्थानलाई छोटो समयमा अर्बौं नाफामा ल्याएका छन् । यस्तो व्यक्तिहरु धेरै ठाउँमा नियुक्ति गरी सोही बमोजिम काम गरे हाम्रो देश कस्तो हुने थियो ? आज वैदेशिक रोजगारीबाट लाखौं नेपालीहरु घर फर्किएका छन् । उनीहरुको बारेमा के सोच्दैछ सरकार ? विदेशबाट छुट्टीमा कति आएका छन् ? कोरिया, जापान आदि देशबाट काममा आउन आदेश दिए पनि सरकारले पठाएको छैन । जसरी भए पनि मिलाएर पठाए ती नेपालीहरु जाने थिए । त्यो पनि भएन । कसरी थेग्छ त सरकारले सम्पूर्ण नेपालीहरुलाई । न त रोजगार दिन्छ, न त व्यावसायिक वातावरण नै निर्माण गर्न सकेको छ, यस्तो छ विडम्बना !

नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ नजिकिएका छन् । खाद्यान्न, तरकारीदेखि लिएर लत्ताकपडाहरुको मूल्य अचाक्ली बढेको छ । यही मौकामा कालाबजारी गर्नेहरुको कमी छैन । कसरी थेग्ने एउटा साधारण परिवारले यो चाडपर्वमा ? सिमानाका बन्द रहेको अवस्था छ । सिमानाका खुल्ला हुँदाताका जस्तो अवस्था अहिले छैन । कोरोनाले तहसनहस बनाएको अवस्थामा आफन्तहरु पनि भेटघाट गर्न आउन पनि असम्भव जस्तै छ । किनभने एक जिल्लाको मानिस अर्को जिल्ला गए १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र स्वास्थ्य मन्त्रालयबाट आह्वान गरिरहेको छ । पाँच दिन दशैंमा घर आउँदा वा आफन्तकोमा जाँदा १४ दिन बस्ने क्वारेन्टिनमा बस्दा दशैं र तिहार दुबै चाडको सकिइसकेको हुन्छ । त्यसैले यहाँ अरुले सकेसम्म कोरोना कोसेली बोकेर आफन्तको घरमा जानुभन्दा बरु अनलाइनबाट टिका लगाएर बुबा–आमा तथा मान्यजनहरुसँग घरमा बसीबसी आशीर्वाद मागौं । त्यसो गर्दा अन्यत्र जानु परेन अनि कोरोना पनि सरेन । यसपालीको दशैं घरैमा बसेर मनाऔं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here