स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान

२९ पुष २०७७, बुधबार मा प्रकाशित

फुङ्लिङ,

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ । गत हप्ताबाट कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पु¥याउने उद्देश्यले गाउँपालिकाले यहाँका ३६ सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले एक सय ८० दिनका लागि विद्यालयलाई अनुदान दिन्छन् ।

गाउँपालिकाले दिवा खाजा कार्यक्रमका लागि अनुदान उपलब्ध गराउँदा विद्यालयले स्थानीय उत्पादन र शरीरलाई आवश्यक पोषक तत्व पु¥याउने खालका खाजा व्यवस्थापन गर्नुपर्नेछ । जसअनुसार एक हजार ७०० विद्यार्थीलाई कोदोको रोटी, मकै, भटमास, फर्सी, आलुजस्ता स्थानीय उत्पादनका परिकार दिवा खाजाको रुपमा दिन थालेका छन् ।

दिवा खाजामा स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउन गाउँपालिकाले जोड दिएको हो । बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायतका फास्टफुड विद्यालयले दिवा खाजाको रुपमा विद्यार्थीलाई दिएमा विद्यालयलाई दिने आनुदान कटौती गर्ने पाथीभरा याङवारक गाउँपालिका अध्यक्ष केशरबहादुर मेन्याङबोले बताउनुभयो ।

दिवा खाजाको रुपमा विद्यालयले बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायत फास्टफुडले स्थानीय उत्पादनलाई ओझेलमा पर्ने र स्वास्थ्यका लागि पनि शक्तिवद्र्धक नहुने भएकाले स्थानीय उत्पादनलाई दिवा खाजको रुपमा प्रदान गर्ने भएको उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन र स्थानीयवासीको पनि आयआर्जन हुने भएकाले स्थानीय उत्पादनलाई मात्र खाजाको रुपमा प्रयोग गर्न लागेको अध्यक्ष मेन्याङबोको भनाइ छ ।

शक्तिवद्र्धक खाजा वा फास्टफुड के खुवाएको हो भनेर सुपरीवेक्षण तथा अनुगमन पालिकाले गर्ने गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले बताउनुभयो । विद्यालयले प्राप्त रकम विद्यार्थी वा अभिभावकलाई दिन नपाइ एकीकृत रूपमा व्यवस्थापन गरी खाजा खुवाउनुपर्ने उहाँले बताउनुभयो । अनुगमनका क्रममा शर्तविपरीतका कार्य भएको पाइएमा दिवा खाजा कार्यक्रमअन्तर्गत थप रकम निकासा रोक्का गर्ने अधिकृत तामाङले बताउनुभयो ।

विद्यार्थीहरुले विद्यालयमै दिवा खाजा निःशुल्क पाउन थालेपछि पूरा समयसम्म पढाइ हुन थालेको युवा आधारभूत विद्यालयका प्रधानाध्यापक हेमराज खतिवडाले बताउनुभयो । सामुदायिक विद्यालयमा पढ्ने भनेको सामान्य परिवारकै छोराछोरी भएकाले कतिपय विद्यार्थीले बिहानको खाना नखाइ आउने र दिउँसो भोक लाग्यो भन्दै घर जाने क्रम रोकेको उहाँले बताउनुभयो । दिवा खाजाले विद्यार्थीलाई पढाइप्रति थप अभिरुचि प्रदान गरेको उहाँको भनाइ छ ।

यस्तै फक्ताङलुङ गाउँपालिकाले ४० सामुदायिक विद्यालयमा विद्यार्थीलाई गत महिनादेखि दिवा खाजा दिँदै आएको शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालले बताउनुभयो । ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम लागू गर्ने तयारी भइरहेको सम्बन्धित शिक्षा शाखाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here