द्धन्द्धरहीत शिक्षाः समृद्धिको आधार

११ माघ २०७७, आईतवार मा प्रकाशित
  • 613
  •  
  •  
  •  
  •  
  •  
    613
    Shares


समृद्ध समाज वर्तमान समयको आवश्यकता हो र मुलुकको राष्ट्रिय नारा पनि यही छ । यस्तो समाज निर्माणको लागि राजनीतिक आँखाबाट गरिने ब्याख्या र शैक्षिक वृत्तबाट गरिने विश्लेषणमा तात्विक भिन्नता भए पनि मूल आधार शिक्षा नै हो । चाहे त्यो औपचारिक होस् वा अनौपचारिक । शिक्षा पहिलो आधार हो जसले राजनीतिक चरित्रको समेत निर्माण गर्दछ । यो मान्यता हाम्रो सन्दर्भमा नौलो होइन । तर, यसलाई मनन गर्ने सन्दर्भ र परिस्थिति मात्र फरक भएका हुन् । लामो समय मुलुक असल शिक्षा लिने र दिने अवसरबाट वञ्चित नै छ ।

शिक्षाको क्षेत्रमा जेजति लगानी भए, जे–जति काम गरिए ती समयानुकूल र स्वतन्त्र परिवेश बन्न सकेन, फलतः विकृतिजन्य संस्कृतिको विकास भयो । विकृति यतिसम्म बनिबनाऊ भए कि आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक धरातलसम्म अस्तित्वको भुँमरीमा बाँच्न बाध्य छन् । पछिल्लो समयमा शिक्षालाई आधार बनाएर राजनीति गर्ने र यसकै टाउकोमा टेकेर विकृत सामाजिक संस्कृतिको जग बसाल्ने काम समेत जिम्मेवार पक्षबाट हुनुु दुःखदायी क्षण हो । तर, अनिवार्य रुपमा बुझ्नुपर्ने सवाल भनेको चाहिँ मुलुकको शैक्षिक प्रणालीमा कुनै द्वन्द्व, कलह, स्वार्थको खेल लादिनु हुँदैन ।

असल ज्ञान हासिल गर्न पाउनु हामी सबैको मौलिक अधिकार हो । विश्वव्यापी मान्यता पनि हो । शिक्षा कठिन साधनाले मात्रै प्राप्त गर्न सकिन्छ । शिक्षा समाजको विकासमा आधार–स्तम्भ र धरोहरका रुपमा रहेको हुन्छ । त्यसैले शिक्षा मानवीय, व्यवहारमुखी र समयसापेक्ष हुनुपर्छ । शिक्षा समाजको बृहत्तर हित, परिवर्तन, अग्रगमन र समृद्ध समाज विकासका लागि हुनुपर्दछ । शिक्षाले असल र उपयोगी कुराहरुलाई बाहिर निकाल्ने मार्ग प्रशस्त गर्दछ । तिनकै उपलब्धिले मात्र समाजको विकास सम्भव छ, परिवर्तन सम्भव छ । शिक्षाले आदर्श समाज, कर्मशील मानवजीवन र मुलुकको चौतर्फी हित गर्ने राजनीतिक अस्त्र निर्माण गर्दछ । यसले शैक्षिक सांस्कृतिक साधना र समृद्ध समाज निर्माण गर्नसक्ने नागरिक समेत तयार गर्न मद्दत गर्दछ ।

शिक्षा समाजको प्रगति र देशको आर्थिक समृद्धिको माध्यम पनि हो । तर, हाम्रो वर्तमान राजनीतिक चरित्रले हाम्रो शिक्षा समाजको विकास र देशको समृद्धिमा टेवा दिने गतिमा अघि बढिरहेको छैन । असल शिक्षा व्यक्तिलाई आन्तरिक र बाहिरी तागत दिएर मानवहितको पक्षमा अघि बढाउने महत्वपूर्ण यन्त्र हो भन्ने नै बुझ्न र बुझाउन सकिएन । शिक्षाले व्यक्ति र समाजलार्ई बदल्न र उत्थान गर्नसक्छ भन्ने बुझाइ औपचारिक मात्र रह्यो ।

राज्यले उपलब्ध गराउने गुणस्तरीय र प्रायोगिक शिक्षाले समाजको स्तरलाई बढाउँछ र समाज समृद्धिको आधार बन्छ भन्ने बुझ्न सकिएन । उच्चतम् गुणस्तरीय शिक्षाले मात्र मुलुकमा राजनीतिक स्थिरता, कुशल प्रशासन, गुणस्तरीय नागरिक जीवनशैली निर्माणमा योगदान दिन्छ । समग्रमा समाजको सम्पन्नताको दरलाई बढाउँछ । समाजलाई परिवर्तनशील, समृद्ध र विकसित बनाउन शिक्षामा दृश्यहरुको औपचारिक मञ्चन भएर र गराएर मात्रै पुग्दैन, समाजले शिक्षाको उद्देश्य, योजना र लगनीबाट विकासका लागि गन्तव्यको परिणाम समेत पर्खिरहेको हुन्छ । व्यक्ति र समाजको परिवर्तन र समृद्धिको लागि शिक्षामा सकारात्मक आशाका किरणहरु झल्किएको हुनुपर्दछ ।

तर, अनौठो र विडम्वना यस्तो भई दियो कि हाम्रो शिक्षा प्रणाली समाजले चाहेको त्यो उन्नतिशील अवसरबाट वञ्चित रहेको छ । शिक्षाबाट प्राप्त गरिएको ज्ञान र उपलब्धि प्रयोगमा आउनुभन्दा पहिले नै कुहिएर झरिसकेको हुन्छ । असल र योग्य नागरिकको अभावमा परिवार, समाज र राष्ट्रको विकास एवम् प्रगति हुन सक्दैन भन्ने कुरा मुलुकमा पलपलमा विकशित घटनाक्रमले पुष्टि गरिरहेका छन् । आधुनिक शिक्षाबाट व्यक्तिको व्यक्तित्व, समाज र राष्ट्रको आवश्यकतालाई पूरा गर्न सकिन्छ भन्ने ज्ञान जबसम्म नीति निर्माताको मष्तिष्कसम्म पुग्दैन तबसम्म हाम्रा कुनै पनि राष्ट्रिय अभिष्ट पूरा हुन सम्भव छैन ।

राम्रो र कुशल जीवनका लागि असल शिक्षा आवश्यक पर्दछ । यसले व्यक्तिको व्यक्तित्व विकास र मानसिक मानक प्रदान गर्दछ । व्यक्तिलाई शारीरिक, मानसिक र सामाजिकरुपमा राम्रो बनाउनुका साथै कुसल जीवन जिउनुपर्छ भन्ने कुरामा पनि बढवा दिन्छ असल शिक्षाले । यसको लागि राज्यको पहिलो दायित्व र प्राथमिकता पनि असल शिक्षा उपलब्ध गराउने वातावरण निर्माणमा हुनुुपर्छ । असल शिक्षा त्यो अविश्वसनीय शक्ति हो, जसले खराब शक्तिबाट टाढा गर्न, आत्मनिर्भर बनाउन र समाजमा कैयन नयाँ अवसरहरु सिर्जना गर्न सम्भावनाका अवसरहरु प्रदान गर्दछ । असल र गुणस्तरीय शिक्षा लिनु र दिनुमा सबैको समान दायित्व छ । पहिलो दायित्व राज्यको हो भने दोस्रो अन्य सरोकारवालाको पनि हो । भविष्यमा समाजको परिवर्तन र विकासमा उल्लेखनीय योगदान पु¥याउनुछ भने असल शिक्षा लिन अभिरूची, लगाव र झुकाव हुनुपर्दछ, साथमा चिन्तन र मनन हुन पनि उत्तिकै आवश्यक छ । असल शिक्षाको लागि राज्यले आफ्नो मनलाई हरदम सकारात्मक बनाइराख्नु पर्दछ ।

गुणस्तरीय शिक्षा हासिल गर्नको लागि सिकारु पनि त्यतिको अभिप्रेरित हुन जरुरी छ जति राज्य लचक छ । असल शिक्षा एउटा प्रतिस्पर्धाको परीक्षा हो । यो जहीँकहीँ नमिल्न सक्छ, त्यसैले आफ्नो क्षमतालाई बुझेर दक्ष ज्ञान हासिल गर्न लागिपर्नु पर्दछ, जुन आफ्नो जीवन र समाजको विकासका लागि प्रयोगमा आउन सकोस् । आज शिक्षा र सिकाइमा मञ्चन भएको अक्षम्य अन्यायले भोलि शिक्षा लिने वर्ग र समाजले गन्तव्यको पर्खाइ कुरिनै मात्रै रहने छन् । समाजको विकासमा प्रत्यक्ष असर परिरहने छ । अनि, त्यो बेला यो घटनाको जिम्मा कसले लिने ? राम्रो शिक्षाको प्रकृति सधैँ रचनात्मक हुन्छ । यसले भविष्य निर्माणमा अग्रसर गराउँछ ।

यस्तो शिक्षाको फल समाजले पनि प्राप्त गर्न सक्छ । सामाजिक मुद्दाका बारेमा राम्रो आदत राख्न जागरूक र बढवा दिन्छ । उचित शिक्षा बिना एक व्यक्ति आफ्नो जीवनका सबै शैक्षिक लाभबाट वञ्चित रहनु समाज विकासका लागि घाटा नै हुन्छ । शिक्षाले समाजमा शान्ति बढाउन, गरिबीलाई हटाउन, जातीय विभेदलाई कम गर्न, सुशासन ल्याउन, विकृति र विसंगतिलाई हटाउन र आफ्ना अधिकारका बारेमा जागरूक गराउन मद्दत गर्दछ । शिक्षा परिणाम प्राप्त गर्नुलाई मात्रै नभई सबै मानव जातिलाई सक्षम बनाउन, कुनै चीजमा सक्षमता हासिल गर्न र मानवको कल्याणका लागि हो । शिक्षा व्यक्ति र समाजको बृहत्तर हित, सुख र खुशी जीवनका लागि अनिवार्यजस्तै छ ।

शिक्षा एउटा त्यस्तो चाबी हो, जसले कठिन ताला पनि छोटो समयमै सहजै खोल्न सक्छ । तर, शिक्षा बिना त्यो ताला खोल्न कठोर परिश्रममा नै समय धेरै खर्च लाग्दछ । यसकारण पनि असल शिक्षा वा ज्ञान व्यक्ति र समाजको विकासका लागि आवश्यक छ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभूमि तयार गर्नु हो ।

समग्रमा भन्नुपर्दा हाम्रो शिक्षा व्यक्तिको व्यक्तित्व विकासका साथै समाजको उन्नति, प्रगति, परिवर्तन र विकाससँग जोडिएको हुनुपर्दछ । शिक्षामा यस्तो परिवर्तन हुन नसक्नु व्यक्ति र समाजलाई अभिशाप हुन पुग्दछ । शिक्षाको सुधारले मुलुक समृद्ध वनाउन सहयोग गर्छ । यसको पहिलो भूमिका राज्यको हो भने यससँग आवद्ध नजिकको सरोकारवालको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी छ । राज्यको वर्तमान राजनीतिक परिवेश हेर्दा कुनै पनि समयमा पुनः शैक्षिक स्थलहरु राजनीतिक क्रिडास्थल बन्न सक्छन्, शिक्षक विद्यार्थी, र शिक्षण क्रियाकलाप पुनः अवरुद्ध हुन सक्छन् । यसको लागि राज्यका जिम्मेवार पक्ष समयमै सचेत हुन आवश्यक छ । विकसित राष्ट्रको प्रगतिको आधारमा घोकिएको २१औं शताब्दीको उपलब्धिबाट फेरि पनि दशकौं पछि पर्ने अवस्थाको सिर्जना नहोस् । द्वन्द्वरहित शिक्षा नै विकास र समृद्धिको आधार हो भन्ने मनन् गर्नुको विकल्प छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here