आत्मविकास र आत्मविश्वासका लागि शिक्षा

0
812

संस्कृतमा भनाइ छ– विद्या नै सबै धनभन्दा प्रधान धन हो । भनिएको पनि छ– शिक्षा न कसैले चोर्न सक्छ, न कसैले हर्न सक्छ, न कसैले अंश लगाए झैं भाागबण्डा नै गर्न सक्छ । चेतनाको द्वार खोल्ने, अज्ञान नाश गर्ने र भविष्यको मार्ग देखाउने शिक्षा नै त्यस्तो जग हो, जसमा टेकेर मुलुक विकसित हुन सक्छ, विगतमा पनि विकसित भएका छ र भविष्यमा पनि शिक्षाको माध्यमबाट नै मुलुकले समुन्नतिको बाटोमा लाग्न सक्छ । दार्शनिक रुपमा भन्ने हो भने पैसा र नैतिकता भनेका विद्यमान राज्यव्यवस्थाका उपरी संरचना मात्र हुन् । देशको राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थाले नै शिक्षाको प्रकृति, पैसाको महत्व र नैतिकताको स्तर निर्धारण गर्दछ ।

राष्ट्रप्रति इमान्दार, नैतिकवान र उच्च चरित्र भएको जनशक्ति उत्पादन गर्ने शिक्षा हुनुपर्नेमा त्यसको विपरित अनुशासनहीन चरित्र सिकाउने प्रवृत्ति झागिँदो छ । शिक्षा प्रदान गर्ने शिक्षकदेखि शिक्षाको नीति–नियम, ऐन कानून समेतको फितलोको कारणले हाम्रो विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षामा अनुशासन र गुणस्तर खस्कदै गएको हो । जबसम्म मोटो बैंक ब्यालेन्स, ठूला भवन र महँगा, चिल्ला गाडीले मानिसको महत्ता निर्माण भइरहन्छ, विद्यार्थीहरूलाई सच्चाइ र इमानदारीले मानिस ठूलो बन्छ भन्ने कुरा सिकाउन अति अप्ठेरो हुन्छ, नैतिकतालाई दैनिक जीवन र व्यवहारमा उतार्न कठिनाई हुन्छ । सफल हुनुको सामाजिक मानक यथावत रहेको अवस्थामा नैतिकताको पाठ बालुवामा पानी हाले सरह हुन्छ । वास्तवमा हाम्रो सोच बदल्न आवश्यक छ । भारतका ११औं राष्ट्रपति एपीजे अब्दुल कलाम भन्छन्– ‘चार चिजमा ध्यानमा राख्न आवश्यक छ– एक महान लक्ष्य लिनुपर्छ, ज्ञान हासिल गर्नुपर्छ, कडा मेहनत गर्नुपर्छ, अनि दृढ रहनुपर्छ, तब कुनै पनि चिज हासिल गर्न सकिन्छ ।’ यी सबैको अन्तर्यमा शिक्षाको महिमा लुकेको छ ।

हाम्रो देश नयाँ युगमा प्रवेश गरेको छ । नयाँ नेपाल राजनीतिक व्यवस्था परिवर्तन भएर मात्र बन्दैन । देशका लागि आवश्यक पर्ने योग्य, इमान्दार र दक्ष जनशक्ति उत्पादन गर्नु र शैक्षिक गुणस्तरसँगै असल समाज र समुन्नत राष्ट्र निर्माणमा योगदान गर्नु शिक्षाको मूल उद्देश्य हो । बालबालिकाले सैद्धान्तिक र व्यावहारिक दुवै शिक्षा सन्तुलित रूपमा प्राप्त गरून्, सामाजिक र सांस्कृतिक विषयसम्बन्धी ज्ञान प्राप्त गरून् साथै विशेषगरी नैतिकवान् र चरित्रवान् बन्न सकून् भन्ने धारणा हिजोआज बिरानो भएको छ ।

विद्यालयमा बालबालिकालाई व्यावहारिकभन्दा पनि सैद्धान्तिक ज्ञान थोपरिएको हुन्छ । प्रतिस्पर्धा गर्नु र अब्बल हुनु विद्यार्थीको कर्म हो भनी सिकाइएको हुन्छ । उनीहरूलाई सफल मान्छे बन्न प्रेरित गरिन्छ र पैसा कमाउने नै सफलताको द्योतक हो भन्ने मान्यता सिकाइन्छ । सफलतालाई भौतिक पक्ष र आर्थिक सम्पन्नतासँग दाँजेर हेरिन्छ । ठूलो र प्रख्यात व्यक्ति बन्न बढी जोड दिइन्छ भने असल र इमान्दार बन्न कम महत्व दिइन्छ । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ भन्ने कुरामा आजको शिक्षाको जोड कम छ । शिक्षाले बालबालिकालाई मानवीय सहयोग, सदाचार, मित्रता, सौहार्दता सम्बन्धी शिक्षा दिनुपर्छ, साथै बाँच्नका लागि शिक्षाले विज्ञान, प्रविधि र व्यावसायिक जीवनका लागि आवश्यक सैद्धान्तिक ज्ञान पनि दिनुपर्छ । निपुण तर निष्ठावान डाक्टरले मात्र बिरामीको राम्रो सेवा गर्न सक्छ । कुशाग्र तर इमान्दार इञ्जिनियरले मात्र मुलुकको सही सेवा गर्न सक्छ ।

नैतिकवान, इमान्दार र असल राजनीतिज्ञले मात्र मुलुकको भविष्य सोच्दछ । विवेकी र कर्तव्यनिष्ठ कर्मचारीले मात्र जनताको हितमा काम गर्न सक्छ । निष्कपट र निर्लोभी न्यायाधीशले मात्र निर्भिक भएर न्यायिक निर्णय गर्न सक्छ । असल गुण नहुनेले त आफ्नै पद, शक्ति, परिवार र पैसालाई मात्र ध्यान दिन्छ । त्यसैले नै हुनुपर्छ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले भनेका थिए– ‘ठूला मानिस थरी–थरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुन पट्टि नलाग्नु, असल हुन पट्टि लाग्नु नानी ।’ यसमा शिक्षाको सकारात्मक भूमिका र मानव जीवनमा यसको गरिमा उजागर भएको छ ।

जतिसुकै बल प्रयोग गरेर जनतालाई काममा लगाए पनि मुलुकले अग्रगति लिन सक्दैन । मूल कुरा काम गर्नुभन्दा अघि के गर्ने र कसरी गर्ने, कस्तो फाइदाका लागि गर्ने भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ । विज्ञान–प्रविधि सम्बन्धी चेतनाको विकास र नैतिक आचरण, निष्ठा र सहयोगी भावनाले मात्र मानिसको जीवन पूर्ण र सार्थक बन्न सक्छ । चिनियाँ साम्यवादी नेता माओत्सेतुङले भने झैं असल शिक्षाले मानिसलाई लाल अर्थात् क्रान्तिकारी र निपुण हुन सिकाउँछ । मानवीय मूल्य–मान्यता र संस्कारको ज्ञान बिनाको शिक्षा अपुरो र अव्यवहारिक हुन्छ । नैतिक र आचरण सिकाउने शिक्षाको अभावबाट अहिले समाजमा अपराध, हिंसा, भ्रष्टाचार जस्ता कुराहरू दिनानुदिन मौलाउँदै गएका छन् । समाजमा पहिलेभन्दा शिक्षित व्यक्तिहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ, तर नैतिकता, इमान्दारी र अनुशासनको खडेरी पर्दै गएको छ । कानूनले भ्रष्टाचार र अपराधजन्य गतिविधिलाई रोक्न सकेन । पढेलेखेका, शिक्षित अनि जान्ने बुझ्ने मानिस अपराधमा किन संलग्न हुन्छन् ? यसको मुख्य कारण नैतिक मूल्य–मान्यता र चरित्रमुखी शिक्षाको अभाव नै हो । शिक्षाले मानिस कर्तव्यपरायण, नैतिकवान् र इमान्दार बन्नुपर्छ । तर, अहिलेको शिक्षा चेतनाको स्तर वृद्धि गरी सृजनशीलताको विकास गर्नेभन्दा पनि सिद्धान्तमुखी र परीक्षामुखी बढी छ ।

शिक्षा क्षेत्रमा गैर जिम्मेवारपन, कमिशन, भ्रष्टाचार, ढिलासुस्ती, कामचोर प्रवृत्ति, अराजकता, नातावाद–कृपावाद, दलीयकरण, परिवारवाद, व्यक्तिवाद, जातिवाद र अतिवाद मौलाउँदो छ । मुलुकमा ७० वर्षभन्दा लामो समयदेखिको नेपाली जनताको आफैले चुनेका व्यक्तिहरुबाट संविधान निर्माण गर्ने उत्कृष्ट चाहना नेपालको संविधान २०७२ जारी भएपछि पूरा भएको छ । तर, प्रश्न उक्त संविधानको प्रस्तावनामा उल्लेख भएको लोकतन्त्र, संघीयता र गणतन्त्रात्मकता शिक्षा क्षेत्रमा मुखरित हुन सकेन भन्ने हो । शिक्षा भनेको औपचारिक डिग्री प्राप्त गर्ने मात्र नभई उच्च चेतनाको विकास गरी श्रमको सम्मान गर्ने नागरिक तयार गर्ने आधार हो । उत्पादनका काममा जोडिने र सामुहिक भावनाको विकास गरी समाज र देशका लागि आफ्नो जीवन लगाई आफ्नो भविष्य पनि त्यसैमा देख्ने सक्षम जनशक्ति निर्माण गर्ने शिक्षाको मूल उद्देश्य हो ।

हामी २१औं शताब्दीको अति आधुनिक युगमा बाँचिरहेका छौं । तर, युगको हाँकलाई सामना गर्न सक्ने र विश्वमा भएका परिवर्तनलाई आत्मसात गर्ने गरी हाम्रो शिक्षा नीतिमा परिवर्तन हुन सकेको छैन । नयाँ युगका चुनौतिसँग जुध्न सक्ने र प्राप्त विशाल अवसरलाई उपयोग गरी समाज र राष्ट्रलाई प्रगतिको सुमार्गमा डो¥याउन सक्ने सुयोग्य नागरिक उत्पादन गर्ने शिक्षा नीति आजको खाँचो हो । उच्च चेतनायुक्त प्राविधिक दक्ष नागरिक तयार गर्ने उद्देश्यका साथ शिक्षा नीतिमा आमूल परिवर्तन गर्नु अत्यावश्यक भइसकेको छ । शिक्षा नीतिमा नेपाल सुहाउँदो वैज्ञानिक ढाँचा कस्तो हुनुपर्छ भन्ने कुरा नीति–निर्माता र राजनीतिक तथा शैक्षिक नेतृत्वले सरोकारवाला सबैसँग गरिने घनिभूत छलफल, बहस र अन्तरक्रियाबाट निक्र्यौल गरिने विषय हो ।

आजको शिक्षा आजको युग अनुसारको हुनुपर्छ । आजको शताब्दीका आवश्यकतालाई सामना गर्न सक्ने वैज्ञानिक शिक्षा नीति निर्माण गर्न प्रगतिशील र लोकतान्त्रिक दृष्टिकोणद्वारा निर्देशित हुनुपर्छ र रुढीवाद, अन्धविश्वास र कुरीतिका विरुद्ध उभिएर सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने लक्ष्य बोकेको हुनुपर्छ । आजको शिक्षा प्रणाली अध्ययन र अनुशासनलाई गाँस्ने, शिक्षक र विद्यार्थी दुबै आम जनसमुदायसँग जोडिने र पाठ्यक्रम निर्माणमा समेत शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिपक्षीय संयोजनकारी भूमिका हुनुपर्छ ।

मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने गरी शिक्षा नीतिमा परिवर्तन आवश्यक छ । शिक्षण पेशा मर्यादित हुनुपर्छ । सिक्ने र सिकाउने सबालमा विकसित नवीनतम् विधि, नियम र तकनिकीहरुलाई कुशलतापूर्वक प्रयोग गर्नसक्ने उचित वातावरण सृजना गर्दै अन्य विकसित देशको तुलनामा हाम्रो देशलाई पु¥याउने आत्मविश्वास उमार्न सक्ने शिक्षा नीति अबको हाम्रो आवश्यकता हो । शिक्षाले मानिसमा आत्मप्रेरणा दिन सक्नुपर्छ र जाग्रत मनुष्य निर्माणका लागि भूमिका खेल्न सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here