जनप्रतिनिधि जनताका सेवक हुन्– यो कुरा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुनर्पुष्टि गरेका छन् । झापा जिल्लाको सुगम भूगोलमा रहेको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले आफूले चढ्दै गरेको सवारी इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेर जनसेवाको उदाहरण प्रस्तुत गरे । मुलुक संघीयतामा गइसकेपछि स्थानीय तहका वडाध्यक्षहरुले समेत महंगो मूल्यको सवारी खरिद गर्दै उपयोगभन्दा पनि राज्यकोष र पदको दुरुपयोग गरिरहेका छन् । यस्तो बेला नगर प्रमुख पोखरेलले भने नगरपालिकाको स्वामित्वमा रहेको र आफूले चढ्दै गरेको बोलेरो गाडीको चाबी इप्रका सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक उदय शम्शेर जबरालाई हस्तान्तरण गर्दै प्रहरीले त्यसका माध्यमबाट जनताको जिउधनको सुरक्षा बढी हुने विश्वास रहेको उल्लेख गरे ।

कनकाई नगरपालिकाले जननिर्वाचित प्रतिनिधि आएपछि कुनै गाडी खरिद गरेको छैन । पहिलोपटक गाडी खरिद गर्ने शीर्षकमा छुट्याइएको पचास लाख रुपैयाँ नगर प्रमुख पोखरेलले सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए । उनी सादा जीवनको पर्यायका रुपमा चिनिएका झापाका सुपात्र हुन् । नगर प्रमुखको यस्तो सरल, उदाहरणीय, उदार तथा जनप्रिय व्यवहार र निर्णय अन्य पालिकामा पनि सुन्न र देख्न पाइए झापा अनुकरणीय जिल्ला बन्ने थियो । स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आइसकेपछि फजुल खर्च गर्ने होड नै चलेको छ । त्यसमाथि भौतिक विकासका नाममा अपारदर्शी खर्च गर्ने प्रवृत्ति बढेको भन्दै यसले परिवर्तित पद्धतिमाथि नै प्रश्न उठ्न थालेको छ । पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गर्ने प्रतिष्पर्धाले संघदेखि प्रदेश हुँदै स्थानीय तह आलोचित बन्दै गएका छन् ।
पछिल्लो समय इन्टरनेशनल ट्रान्सपरेन्सी नामक संस्थाले नेपालमा भ्रष्टाचार बढेर गएको प्रक्षेपण गरेको छ । केन्द्रीय सरकारमा रहेका मन्त्रीहरु नै यस्ता अनियमिततामा संलग्न रहेको आरोप लाग्दै आएको छ । आरोपितहरुलाई कारवाहीको दायरामा ल्याइएको छैन भने सेवाग्राहीको बाक्लो उपस्थिति हुने कार्यालयहरुमा पनि गैरकानूनी र अनियमित ढंगका कामहरु हुने गरेको आरोप लाग्दै आएको छ । राज्यको स्वामित्वमा रहेको भूमि गैरकानूनी रुपमा बेचिबिखन गर्नेदेखि राष्ट्रिय महत्वका खरिद प्रक्रिया होस् वा कारोनाविरुद्धको स्वास्थ्य सामग्रीहरु ल्याउने विषयका विवाद सरकारको प्राथमिकतामा परेको छैन । यस्तो प्रवृत्तिले कु–संस्कार हुर्काइरहेका बेला कनकाई नगरपालिकाका प्रमुख पोखरेलबाट सबै जनप्रतिनिधिहरुले सिक्न जरुरी छ । जनताको खुन–पसिनाबाट आर्जित होस् वा अनुदान अथवा ऋण लिएर जम्मा गरिएको राष्ट्रिय कोषको दुरुपयोग रोक्न तालुकवाला वा अख्तियारी प्राप्त नेतृत्वहरुलाई नगर प्रमुख पोखरेलको कार्यले झस्काउनु पर्दछ, सद्विचार, सत्संकल्प, सद्ज्ञान र सत्कर्म गर्ने प्रेरणा दिनु पर्दछ । अनि मात्र जनता र देशको मुहारमा उज्यालो ल्याउन सकिन्छ ।




























