रोश्नीले जितिन् सहारा सूर्योदय ‘स्पिच कन्टेस्ट’को उपाधि

१ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

झापा ।

सहारा सूर्योदय ‘स्पिच कन्टेस्ट सिजन २’को उपाधि विर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११मा अध्यनरत् छात्रा रोश्नी कार्कीले जितेकी छिन् ।

सूर्योदय टेलिभिजनले आयोजना गरेको सहारा सूर्योदय ‘स्पिच कन्टेस्ट सिजन २’को उपाधि शुक्रवार भएको ग्रान्ड फिनालेमा अन्तिम ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले हात पारेकी हुन् ।

यस्तै कञ्चनजंघा स्कूल बिर्तामोडमा कक्षा १२मा अध्ययनरत् छात्रा प्रिसा खरेल फस्ट रनर अप र देवी माध्यमिक विद्यालय कक्षा ११मा अध्ययनरत् छात्रा कृति खतिवडा सेकेण्ड रनरअप भएका छन् । सान्त्वना तर्फको उपाधि रेड स्टार वोर्डिङ्ग स्कूल पथरी शनिश्चरे मोरङ्गमा कक्षा १०मा अध्ययनरत् सुप्रिया खड्का र ज्ञान सरोवर शिक्षा निकेतन स्कूल भद्रपुर, झापामा कक्षा ९मा अध्ययनरत् रिना घिमिरेले जितेका छन् ।

बिजेताहरुले क्रमशः ३० हजार, १५ हजार, १० हजार र ५÷५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार प्रदान गरेका थिए । स्पीच कन्टेस्टमा प्रदेश नम्बर १का झापा, मोरङ, सुनसरी र इलामबाट ५० वटा विद्यालयका एक सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्व विद्यालयका एशोशिएट प्रोफेसर शिरोमणि खतिवडा ‘शिरो सान्दाइ’, बीबीसी न्यूज नेपालीका झापा संवाददाता उमाकान्त खनाल र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए । कार्यक्रमको सञ्चालन शुभला तामाङले गरेकी थिइन् । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सहारा नेपाल साकोस तथा सहप्रायोजकको रुपमा डोएन टिभी, मेची स्पेशलिङ्क केवल र इलामको हर्कटेमा रहेको डिभाइन डोअर्स रहेको थियो ।

सिजन २ सकिएसँगै सूर्योदय स्पिच कन्टेस्ट सिजन ३को तयारी थालिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । उनले जेठको पहिलो सातादेखि अर्को सिजन शुरु हुने बताएका छन् ।

यसअघि सूर्योदय स्पिच कन्टेस्ट सिजन १को उपाधि झापा मेरिगोल्ड स्कूल कन्काईका वेदान्त तिम्सिनाले जितेका थिए । सूर्योदय स्पिच कन्टेस्ट विद्यार्थीहरुको लागि महत्वपूर्ण कार्यक्रम बन्दै आएको छ । सूर्योदय टेलिभिजनले अर्को कार्यक्रम सूर्योदय क्वीज सिजन ५ को समेत तयारी गर्दै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here