झापा।

दीपक शिवाकोटी पेशाले व्यवसायी हुन् । उनले पहाडमा पाइने अर्गेली (लोक्ता) लाई मधेशमा ल्याएर कागज उत्पादन गर्छन् । झापाको शिवसताक्षी–१० माइधार नजिकै उनले यो व्यवसाय शुरु गरेको झण्डै दशक हुन लागेको छ ।
शुरुमा ललितपुरमा आफ्ना मामाले कागज उत्पादन गरेको देखेपछि उनले यो व्यवसाय रोजेका थिए । शुरुका वर्षमा बेकारमा यो व्यवसाय सञ्चालन गरिएछ भन्ने लागेका उनलाई अहिले भने यही व्यवसायले झापामा मात्रै होइन पूर्वी नेपाल र काठमाडौंमा समेत चिनाएपछि दंग छन्– उनी ।
कनकाई नेपाली कागज उद्योग नै दर्ता गरेर २०६९ सालबाट व्यवसायिक रुपमा कागज उत्पादन गर्न शुरु गरेका उनले अहिले पहाडे कागज र जापानिज कागज उत्पादन गर्दै आएका छन् ।
साउदी अरवमा ल्याण्ड सर्भियरको रुपमा सात वर्ष काम गरेका उनले त्यस यता स्वदेशमा नै केही गर्नु पर्छ भन्दै उद्योग सञ्चालनमा ल्याएका हुन् । नौ लाख रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको फर्मले अहिले दैनिक २ हजार पाँच सयदेखि तीन हजार थानसम्म काँचो कागज उत्पादन गर्ने गरेको छ । प्रति थान आठ रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको पहाडे कागजको मुख्य बजार काठमाडौं नै भएको शिवाकोटी बताउँछन् । काठमाडौं अलावा विराटनगर, धरान, पोखरमा पनि यसको राम्रो बजार रहेको उनको भनाइ छ ।
६ जना महिला र पाँच जना पुरुषलाई प्रत्यक्ष रोजगारी दिएको कनकाई कागज उद्योगले विशेष गरी कागज उत्पादनका लागि चाहिने सबै कच्चा पदार्थ पहाडबाट ल्याउने गरेको छ । अर्गेली अर्थात् लोक्ता इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानबाट ल्याइने गरिएको छ । योसँगै काचो कागज उत्पादनका लागि आवश्यक पर्ने बाबियो पनि पहाडी जिल्लाबाट नै ल्याउने गरिएको छ – शिवाकोटीले भने ।

पहाडी जिल्लामा उत्पादन हुने लोक्ता मधेशमा ल्याएर कागज उत्पादन गर्ने काममा सिपालु शिवाकोटी आफू स्वरोजगार छन् नै उनले अरुलाई पनि रोजगारी दिएपछि उनको चर्चा चुलिएको छ । नेपाली कागज बनाउन कास्टिक सोडा, ब्लिचिङ पाउडर, नूरी लगायतका कच्चा पदार्थ आवश्यक पर्ने उनको भनाइ छ ।
विदेशको कमाइ धेरै हुने भए पनि त्यो स्थायी हुँदैन– उनले भने– विदेशबाट फर्किँदा जे देखँे यहाँ आएर त्यही गरेको छु । अहिले विदेशको भन्दा राम्रो कमाइ हुन्छ । विदेश जाँदा घर परिवार नै छोड्नु पर्ने, देश नै छाड्नुपर्ने र अरुको निगरानीमा काम गर्नु आफैंमा समस्या हुन्थ्यो तर अहिले कागजको यो व्यवसाय शुरु गरेपछि छुट्टै आनन्द छ । अरुलाई पनि रोजगारी दिएर दुई चार रुपैयाँ बचत गर्न पाउँदा खुशी लागेको छ– उनले भने ।
कागज उत्पादन गर्न शुरुमा धेरैले रुची राख्दैन थिए– उनले भने– अहिले यो व्यवसायप्रति धेरैको मोह छ । बिस्तारै प्रतिस्पर्धाको जमाना आयो, अहिले झापामा २५ भन्दा बढी यस्ता उद्योग सञ्चालनमा छन् । बिदेशमा गर्ने दुःख स्वदेशमा गर्न सकेको खण्डमा सबै खर्च कटाएर पनि मासिक ५०÷६० हजार कमाइ हुँदो रहेछ– उनले भने – अहिले मलाई कुनै समस्या छैन । दुई चार रुपैयाँ खेलाउन खाँचो छैन ।
हाते कागजभन्दा पछिल्लो समय जापानिज पेपरको माग बढी हुन थालेको छ– उनले भने जापानिज कागज बनाउनेले मासिक ३०÷३५ हजार रुपैयाँ कमाउँछन् । यहाँ काम गर्ने धेरैले विदेशको कमाइ गरिरहेका छन् ।
बेरोजगार भएर बसेका महिलाहरुका लागि समेत अहिले यो उद्योग गरिखाने थलो भएको छ । धेरै महिलाले अहिले यहाँ आएर आफू अनुकूल काम गर्छन् । बिहान वेलुकाको घर धन्दा सकेका फुर्सदिला महिलाहरु दिनभरि यही काम गर्दै बेलुका घर फर्किने गरेका छन् । रुपा शंकर पनि यही उद्योगमा काम गर्ने एक महिला हुन् । उनले यही उद्योगमा कागजको काम सिकिन् र घर चलाउने खर्च अहिले यहीँबाट निकाल्छिन् ।
एउटा कागज उत्पादन गरेको एक रुपैयाँ पाउने गरेका छन्, त्यहाँ कार्यरत कर्मचारीले । जति धेरै कागज उत्पादन भयो त्यति नै धेरै आम्दानी हुन्छ– शंकरले भनिन्– दिनमा तीन लटसम्म कागज तयार पार्छाैं । घाम नलाग्दा समस्या हुन्छ, कागज बनाउन घाम जरुरी छ– उनले भनिन्– घाम नलागेको दिन एक लट मात्रै कागज बनाउन सकिन्छ । बनाएको कागज सुक्न धेरै समय लाग्ने भएकाले घाम आवश्यक हुन्छ– उनले थपिन् ।
विशेषगरी अदालत, लेखा, मालपोत कार्यालयमा अभिलेखको लागि नेपाली कागजको प्रयोग हुने गर्छ । कागजमा मसी नफुलोस् भनेर यसको पिच भ्यालु ६.५ देखि ८.५ तोकिएको छ । कागजको मोटोपन बाक्लो पातलो दुवै २० माइक्रोनसम्म हुनपर्ने छ ।
नेपाल गुणस्तर चिन्ह लिन वा विदेश निर्यात गर्न प्याकेजिङ गर्दा कागजको साइज, जिएसएम, सिट नम्बर, उत्पादन मिति, तौल, उत्पादन लट उल्लेख गर्नु पर्नेछ । बनाइएको कच्चा पदार्थ (लोक्ता, बाँस, अर्गेलो, बाबियो) पनि स्पष्ट रुपमा उल्लेख गरी लेवल टाँस गर्नुपर्नेछ । कालो मसीले लेख्दा ‘डिस्कलर’ हुन नहुने मापदण्डमा उल्लेख गरिएको छ ।































