प्रदेश प्रमुखद्वारा शुभकामना

0
625

विराटनगर,

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज एक सन्देश जारी गर्दै शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होछार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आफन्त भेटघाट, सांस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवद्र्धन र सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने गरिन्छ ।

अझै पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त भइसकेको अवस्था छैन । यस परिप्रेक्ष्यमा भौतिक तथा सामाजिक दूरी कायम गरी यस पर्वलाई मनाउनु सबै शेर्पा समुदायको अनिवार्य कर्तव्य बनेको कुरालाई प्रदेश प्रमुख ‘प्यासी’ले स्मरण गराउनुभएको छ ।

सन्देशमा भनिएको छ, “बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषतायुक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक हुन्, ‘ग्याल्बो ल्होछार’ले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु ।”

‘ग्याल्बो ल्होछार’ पर्व भव्य र सभ्यरूपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त यस पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै प्रदेश प्रमुख ‘प्यासी’ले शुभकामना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here